काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम र व्यवहारप्रति चित्त दुखाएका छन्। बुधबार बिहानको बाढीबाट प्रभावित नुवाकोट र रसुवा गएर अनावश्यक भिडियो खिचेको, स्टन्ट र प्रचारबाजी गरेको भन्दै रविले सांसदहरूलाई थर्काएका हुन्।
उनले अनावश्यक रुपमा बाढी प्रभावित क्षेत्रमा गएर चटक नदेखाउन पनि आग्रह गरेका हुन् । केही सांसदहरूले बाढी प्रभावित क्षेत्रमा गएर मर्यादाविपरीतका काम गरेको, स्थानीय सरकारलाई थर्काएको र काम गरिरहेका प्रतिनिधिलाई समेत गालीगलौज गरेको रिपोर्टिङ भएको थियो ।
त्यसपछि रविले सांसदहरूलाई अनावश्यक रुपमा बाढी प्रभावित क्षेत्रमा गएर दुःख नदिनसमेत आग्रह गरे ।
बैठकमा उपस्थित एक नेताले खबरहबलाई बताएअनुसार रविले भनेका थिए, ‘हामीले धेरै नै संयमता अपनाएर काम गर्नुपर्नेछ । अनावश्यक रुपमा बाढी प्रभावित क्षेत्रमा गएर स्टन्टबाजी नगरौँ। धेरैजना माननीयहरूको फोटो देखेर मलाई लाज लागेर आयो । कृपया यस्तो काम नगरिदिनुस् । हामी काम गर्न आएका हौं, सके काम गरौं, नसके चुप बसौं, आफ्नो ठाउँबाट सहयोग गरौं तर बाढी प्रभावित क्षेत्रमा समन्वयको साटो खटिरहेकाहरूलाई अनावश्यक गाली गर्ने गतिविधिले मलाई नरमाइलो भयो ।’
बैठकमा उपस्थित अर्का सांसदका अनुसार सामाजिक सञ्जालमा पुष्टि नभएका सामग्री समेत सेयर नगर्न रविले निर्देशन दिएका छन्।
‘हाम्रै कतिपय सांसदले पुष्टि नभएका सामग्री सेयर गर्ने, एकदमै ठूलो विभत्स सामग्री सेयर गर्दा मानिसमा त्रास बढेको देखिन्छ । त्यसकारण एउटा सानो कुरा सेयर गर्दा पनि अध्ययन गर्नुपर्छ’, बैठकमा रविले भने, ‘तपाईंले चलाउने सामाजिक सञ्जाल तपाईंहरूका लागि केही नहोला । आमजनसमुदायका लागि सूचनाको स्रोत हो। त्यसकारण संयमता अपनाऊँ, समाजलाई भाड्ने काम नगरौँ।’
जान्दा जान्दै अटेरी
रविले कतिपय सांसदलाई एक दुईपटक निर्देशन दिँदा पनि पटक-पटक उही गल्ती दोहोर्याएकाले आफूलाई नरमाइलो लागेको बताएका थिए। पार्टी सांसद ज्वाला संग्रौला आशिका तामाङ लगायत नेतृहरूलाई सङ्केत गर्दै धेरैपटक सम्झाउने प्रयास गरे पनि उही गल्ती गरेकाले केही भन्न सक्ने अवस्था नरहेको दुखेसो गरे।
‘हामी सबैको मन दुखेको छ, कसैले काम नगरेकोप्रति हामीलाई एकदमै ठूलो असन्तुष्ट होला तर असन्तुष्टि पोख्ने पनि ठाउँ हुन्छ । साथीहरू जहाँ दुःख परेको छ ,जहाँ समस्या परेको छ, त्यहाँ गएर रमिता नदेखाऊँ । मैले शीर्ष नेतासहित सांसदहरूलाई यहाँ देखिरहेको छु। कृपया यो सन्देश सबै कहाँ पुगोस्’, रविले भने, ‘देश शोकमा डुबेको छ, चाडपर्व नजिकिएको छ। हामीले रमाइलो गर्नुभन्दा यो समस्याबाट मुक्ति पाउने, कसरी सुरक्षा निकायको मनोबल बढाउने, कसरी उहाँहरूलाई साथ दिने हिसाबले सोच्नुपर्छ ।’
बैठकमा पार्टी नेता मनिष झा, गणेश पराजुली समीक्षा बास्कोटा लगायतका नेताहरूले पनि जनस्तरबाट सांसदहरूप्रति गुनासो आएकाले त्यतातिर ध्यान दिनुपर्ने बताए। आफूले गरेका गल्ती आफैँले रियलाइज गर्दै काम गर्नुपर्ने सांसदहरुले जोड दिए ।
प्रगतिको जानकारी
बैठकमा पार्टीका तर्फबाट प्रवक्ता जगदीश खरेल लगायतका नेताहरूले बाढी प्रभावित क्षेत्रमा भइरहेको कामबारे जानकारी गराए। बाढी प्रभावित क्षेत्रमा भएको पार्टीको काम र समग्र अवस्थाबारे नेताहरूले ब्रिफिङ गरे । नेताहरूसँगै सभापति लामिछानेले पनि अन्तर्राष्ट्रिय सहयोग र दुई छिमेकीबीचको सम्बन्धको र सम्पबारे सोधीखोजी गरे।
बैठकमा विदेशी सहयोग लिँदा २०७२ सालको भूकम्पमा जस्तो अनावश्यक समस्या आउनु नहुने नेताहरूले बताए । पार्टीको तर्फबाट र प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि समन्वयमै काम भएको बताउँदै उचित निर्णय लिने विषयमा सबैसँग सम्पर्कमा रहेको रविले ब्रिफिङ गरे ।
बैठकमा प्रधानमन्त्री शाह र सरकारको कामप्रति सन्तुष्ट रहने बाटो भए पनि स्थानीय तहसँग समन्वय हुनुपर्ने नेताहरूले कुरा राखे। स्थानीय तहका पनि कतिपय भौतिक संरचना ध्वस्त भएकाले समन्वयमा काम गर्न कठिन भएको ब्रिफिङ नेताहरूले गरे।
रविको निर्देशन अनुसार रास्वपा सचेतक क्रान्तिशिखा धितालले सांसदहरूलाई अनावश्यक प्रचारबाजी नगर्न र आवश्यकताबिना बाढी प्रभावित क्षेत्रमा नजान आग्रह गरेकी छन्।
रविले आइतबार नै बाढी प्रभावित क्षेत्रस्थित स्थानीय सरकारका प्रमुखहरूसँग टेलिफोन संवाद गरे। पालिका अध्यक्षहरूले संघीय सरकारसँग समन्वयमा काम गर्न कठिन भएको बताए।
कतिपय अवस्थामा प्रदेश र केन्द्र सरकारले पालिका अध्यक्षलाई जानकारी नदिई गतिविधि गरेको गुनासो उनीहरूको थियो । आइतबार नै उनले बागमती प्रदेशका मुख्यमन्त्री किरणकुमार थापासँग पनि बनस्थलीमै संवाद गरे।












प्रतिक्रिया