काठमाडौं- जेन-जी आन्दोलनअघि नेपाली कांग्रेस, नेकपा एमाले माओवादी जस्ता पुराना दलले सरकार चलाइरहेका बेला राज्यले नागरिकमाथि क्रुरता देखाउँदा दुई युवा नेताहरु रवि लामिछाने र बालेन्द्र शाहको फेसबुकमा स्टाटस आउँथ्यो । उनीहरू लेख्थे, बोल्थे- समय बलवान छ, नागरिकलाई दुःख नदेउ, ती नागरिकका आँशुले तिमीलाई भोलि पोल्छ ।
सरकार र सत्ता स्थिर हुँदैन । जेन-जी आन्दोलनपछि गत फागुन २१ मा भएको निर्वाचनसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्यो । पुराना दलको कार्यशैलीमाथि पटक-पटक प्रश्न उठाउँदै आएका युवा नेता बालेन्द्र शाह प्रधानमन्त्री भए । टेलिभिजन कार्यक्रममार्फत् बेथितिमाथि निरन्तर प्रहार गरिरहेका रवि लामिछानेको पार्टी सत्तारुढ दल बन्यो ।
आज यिनै नयाँ अनुहारहरु पुराना नेताहरुको झल्को दिनेगरी निम्नवर्गमाथि पूर्वाग्रही र निरंकुश बन्दै गएको देखिन्छ । राज्यबाट प्रताडि भएर नेपाली जनताले ज्यान गुमाउँदा उनै रवि र बालेन सरकारमा छन् । तर, उनीहरुले जनताको पक्ष लिएर मुख खोल्न सकेका छैनन् । सरकार गठन भएको एक सय दिन नबित्दै काठमाडौंका सुकुम्बासीको उठिबास लगाएर अमानवीय व्यवहार प्रस्तुत गरेका राज्यका निकायले बिहीबार पनि एक नेपाली नागरिकले आत्मदाह गर्दा छानिबन समिति गठन गर्ने र संसदलाई जानकारी गराउने औपचारिकता पूरा गर्नेबाहेक अरु केही गरेको देखिन्न ।
एक सुकुम्बासीले अब मर्न मात्रै बाँकी छ भनेर रोइरहँदा पनि आँसु पुछ्न पुग्दैनन् । उल्टै पुरानालाई त्यत्रो ३५-३० वर्ष हेर्यौ अब हामीलाई अझै केही समय हेर भन्दै झुटो आश्वासन दिन्छन् । काठमाडौँका सुकुम्बासीका आँसुले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेलाई पोल्नुपर्ने आवाज तिखो रुपमा उठिरहेको थियो । दुई जना सुकुम्वासीले आत्महत्या गरिरहँदा अरु हजारौँ सुकुम्वासी खान नपाएर भोकभोकै बाँचिरहेका थिए । तर राज्यलाई त्यो घटनाले पोलेन । उनीहरु आँसुमै डुबिरहेका बेला अर्को घटना घट्यो ।
काठमाडौं महानगरपालिकाले आफ्नो सवारी साधनमाथि ‘ह्विल लक’ लगाइदिएपछि मुगुका गणेश नेपालीले जरिवाना तिर्न सकेनन् । राहदानी विभागअघि मोटरसाइकल पार्किङ गरेका गणेशले जरिवाना तिर्न नसक्ने भन्दाभन्दै पनि प्रहरीले आनाकानी गरेपछि उनले आफ्नै बाइकमा रहेको पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । स्थानीयले भने अनुसार गणेश र प्रहरीबीच केही समय नोकझोक समेत भएको थियो । तर, घटनाको सत्य तथ्य विवरण अहिलेसम्म सार्वजनिक भएको छैन । गणेशले प्रहरीसँग विकल्प माग्दा प्रहरीले ह्वीललक बाहेक अरु विकल्प नदिएका कारण उनले आत्मदाहको प्रयास गरेको प्रत्यक्षदर्शीको भनाइ छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
अहिले गणेश नेपालीले आत्मदाह गरेको घटनाले सदन र सडक तातिरहँदा सरकार भने चुपचाप देखिन्छ । गृहमन्त्रीले सरकारको तर्फबाट सदनमा जवाफ दिए पनि त्यो जवाफमा राज्य अभिभावक भएको जस्तो महसुस नभएको विपक्षीहरु बताउँछन् । गृहमन्त्रीले संसदलाई सम्बोधन गर्दै गणेशलाई बचाउन अथक प्रयास गरेपनि नसकेको बताए । ढाँट्न नआउने भन्दै उनले आफूलाई हिजो रातभरि खटेको बताए । भावुक हुँदै उनले भने, ‘आफूले अथक प्रयास गर्दा पनि नहुँदा चित्तै नबुझ्ने रहेछ । नेपाल प्रहरी ट्राफिक प्रहरी हिजो रातभरि नागरिकको रक्षाका लागि सडकमा उभिएर बसेको थियो ।’
गृहमन्त्रको जवाफबाट राज्यले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको जस्तो महसुस नभएको विपक्षी दलका नेता भिष्मराज आङ्देम्बे टिप्पणी गर्छन् । आङ्देम्बे मात्रै होइन श्रम संस्कृति पार्टीका महासचिव तथा सांसद आरेन राई पनि गरीखाने वर्गका लागि प्रधानमन्त्री बालेन्द्र र पार्टी सभापति रवि लामिछाने अत्यन्तै निर्मम भएको बताउँछन् । यही विश्लेषण पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि गरेका छन् ।
आत्मदाहपछि गणेशलाई तत्काल उद्धार गरेर अस्पतालसम्म लाने कोही भएन । उनी सडकमै छटपटिरहेको भिडियो सार्वजनिक भइरहेको छ । दाइ मदनका अनुसार आत्मदाह गरेको करिब तीन चार मिनेटसम्म पनि गणेश सडकमै छटपटाइरहेका थिए । उनलाई उद्धार गर्ने कोही नभएपछि एक दुई जनाले उसलाई लगेका थिए । शरीरका अधिकांश भाग जलिसकेपछि उनको उपचार नेपालमा सम्भव नहुने देखेर विदेश लैजाने तयारी गरिएको थियो । तर स्वास्थ्य अवस्था नाजुक भइसकेकाले तत्कालै विदेश लैजान सम्भव नभएपछि उनले शुक्रबार वीर अस्पतालमै आफ्नो ज्यान गुमाए ।
परिस्थिति फेरिएर नयाँहरू सरकारमा आएपनि पुरानाको भन्दा नयाँको चाल अझ भयानक भएकाले डराउनुपर्ने अवस्था आएको मुमाराम खनालको विश्लेषण छ । गरिबमाथि राज्यले जहिले पनि तल्लो स्तरको व्यवहार गर्ने र ज्यानको पनि कुनै मतलब नगर्ने परिपाटी आजको मात्रै नभएको र विगतमा पनि गरिब र निमुखा वर्गमाथि सरकारले ज्यादती गर्दै आएको उनले बताए । गणेशका दाजु मदनका अनुसार उनी वैदेशिक रोजगारका लागि दुबई जाने तयारीमा थिए । भिसा प्रोसेसङ लगायतका कठिनाइका कारण उनी श्रीमती र छोरीसँगै राजधानीमा डेरा बस्दै आएका उनी सामान्य कमाइ गर्थे। मदनका अनुसार निधन हुनुअघि भाइले भनेका थिए, ‘दाजु आमा बाबालाई राम्रो गर्नू । यो सब कारण महानगरले गर्दा हो । ट्राफिकले गर्दा हो ।’ यति भनेपछि दाजु मदनसँग गणेश बोल्न सकेनन् ।
बालेन रवि कहाँ छन् ?
महानगर प्रहरीका कारण आत्मदाहसम्मको अवस्था खेप्नु परेको भनेका गणेशलाई न्याय दिनका लागि सुनिता डंगोलको पनि जिम्मेवारी रहने विश्लेषण गरिन्छ । सुनिताले पनि अहिलेसम्म यसबारे मुख खोलेकी छैनन् । गणेशको उपचार गरिरहेका बेला गृहमन्त्री सुधन गुरुङ वीर अस्पताल पुगेर घटनाको जानकारी लिएका थिए । प्रधानमन्त्रीको सचिवालयका केही व्यक्तिहरू पनि वीर अस्पताल पुगेको स्रोत बताउँछ । उनीहरूले वीरमा उपचार हुन सम्भव नहुने सूचना पाएपछि भारत लैजानका लागि थप तयारी गरिएको तर अवस्था गम्भीर रहेका कारण नलगिएको दाबी गरिएको छ ।
तर, यसअगाडि सरकारका गतिविधिबारे तीखो आलोचना गर्ने प्रधानमन्त्री बालेन्द्र शाह अहिलेसम्म चुप छन् । विभिन्न समयमा उनले लेखेका स्टाटस अहिले सामाजिक सञ्जालमा भाइरल छन् । उनीहरुले घटनाबारे आवश्यक छानबिन गर्ने र सत्य तथ्य सार्वजनिक हुने भन्दै जनतालाई थामथुम समेत पारेका छैनन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टी लगायतका सबै सांसदहरुले गणेश नेपालीको निधन सरकारको गैर जिम्मेवारीपूर्ण कदमका कारण भएको भन्दै प्रश्न उठाएका थिए ।
शुक्रबारको सदनमा जगदीश खरेलले सरकारले घटनालाई गम्भीर रूपमा लिन्छ भन्ने विश्वास व्यक्त गरे । तर, उनले आत्मदाहको विषयमा भने, ‘वर्षमा ७ हजार मान्छेले आत्महत्या गरिरहेकाे तथ्यांक हामीसँग छ । हाम्रो जीवनकालमा झन्डै ७० लाख नेपालीले कुनै न कुनै किसिमको मानसिक समस्या बेहाेरिरहेकाे अवस्था छ ।’ खरेलको भनाइ हेर्दा गणेशमाथि मानसिक समस्या भएको भन्ने शङ्का देखिन्थ्यो । सरकार पक्षका सांसदहरूले राज्यको एउटा नागरिक मर्दा मानसिक समस्याको कारण देखेको भन्दै उनीमाथि पनि प्रश्न उठिरहेको छ । सांसद गणेश कार्कीले पनि आत्महत्याको विषयमा अनुसन्धान हुनुपर्ने माग राखे । उनले आफ्नो भागमा पर्ने गल्ती आफूले लिने बताउँदै अर्को गणेश नेपाली मर्न नदिन राज्यले उचित निकासा खोज्नुपर्ने उल्लेख गरे ।
गणेशको निधनमा राज्य सोझै जिम्मेवार छ, तल्लो तहका वर्गमाथि अमानविय व्यवहार भयो : विश्लेषक इन्द्र अधिकारी
गणेशको निधन र सरकारको प्रतिक्रियाबारे विश्लेषक इन्द्र अधिकारीको प्रतिक्रिया हामीले समेटेका छौँ । उनको भनाइ जस्ताको त्यस्तै-
गणेश नेपालीको घटनामा राज्य सोझै जिम्मेवार छ । बालेन्द्रजी महानगरमै हुँदा तीन वटा सुरक्षा अङ्ग महानगर प्रहरी अरु सुरक्षा बलहरूको नियम बाझेकोजस्तो देखिन्थ्यो । ट्राफिक प्रहरीको काम र महानगर प्रहरीको काम कानुनबमोजिम भएको छ छैन भन्ने कुरा नै मुख्य रह्यो । जरिवाना तिराउने हो कि, डकुमेन्ट राख्ने हो कि वा अरु केही प्रक्रियाहरु होलान् । अहिले सोझै ह्विल लक गर्ने जुन खालको परिपाटी छ, ठिक छैन । यो आफैँमा अतिवादको चरम नमूना हो । मान्छेको पकेटमा पैसा नहुन पनि सक्छ, मोबाइल बैंकिङ सबैसँग नहुन पनि सक्छ । ठाउँका ठाउँ जरिवाना तिर्ने अवस्था कतिपयलाई नहुन सक्छ । यो एकदमै अतिवादी कुरा भयो । अहिले जरिवानाका नाउँमा दशौँ हजार उठाउने कुरा छ, असाध्यै अमानवीय छ। सामान्य जनमानसलाई चिन्दै नचिन्नेगरी जुन कानुन बनाइयो । त्यसका कारण पनि यो घटना घट्यो।
अघिल्लो कानुनअनुसार जरिवाना गरेबापत सम्बन्धित प्रहरीले पनि सर्टेन पर्सेन्टेज प्राप्त गर्थ्यो । उनीहरूले त्यो प्राप्त गर्नकै लागि धेरै मान्छेहरुलाई भिक्टिम बनाएको मलाई पनि थाहा छ । सिकारी बिरालोले मुसो पर्खिएको जसरी लुकेर बस्ने, त्यसपछि जरिवाना काट्ने । अहिले सरकारले तल्लो तहका वर्गलाई यति धेरै दमन र अत्याचार गर्यो कि त्यो भनिसक्ने अवस्था छैन । हिजो ओलीजीले त्यही गरेका कारण देशमा यत्रो उथलपुथल भयो भन्ने कुरा उहाँहरुले बिर्सिनुभयो । सरकारी अधिकारी भनेको पब्लिकको सेवाका लागि हो । तिनीहरुले जागिर खाने पब्लिकको करबाट हो र पब्लिककै लागि काम गर्ने हो । उनीहरूले आफूलाई मालिक र पब्लिकलाई दासभन्दा पनि तल्लो स्तरको व्यवहार गरेको देखिएको छ । त्यसले नै उनीहरूलाई रिस जगाइदिएको छ। सामाजिक आर्थिक राजनीतिक र दायित्वको हिसाबले यो सबैमा राज्य जिम्मेवार हो। यो त झन् प्रत्यक्ष जिम्मेवार देखिन्छ।
जे भइसक्यो, त्यो फर्केर आउँदैन । क्षतिको परिपूरण पनि वास्तवमा छैन । यसबारे अनुसन्धान नै प्रोपर हुनुपर्छ । जोगाउन र उन्मुक्ति दिन होइन न्याय दिने बाटोबाट अनुसन्धान गर्ने समूह बन्नुपर्यो । भिक्टिम कै सल्लाहमा रोजे खोजेका व्यक्तिहरूबाट अनुसन्धान समिति बन्नुपर्यो । त्यसमा सरकारका मान्छे पनि हुनुपर्यो । अनुसन्धान गरेर जो दोषी हो त्यसको आइडेन्टिफाई गरेर कानुनी दायरामा ल्याउनुपर्यो । राज्यमा भन्नाले अहिले सुनिता र बालेन्द्र देखिन्छन् । जवाफदेहिता लिनुपर्ने उनीहरुले हो । उनीहरूले आम माफी माग्नुपर्यो । हामीले हाम्रो संयन्त्रलाई संवेदनशील बनाउन सक्या पनि छैन । हामीले बनाएको कानुन सायद व्यवहारिक पनि रहेनछ कि ? भिक्टिमका आश्रितहरूलाई रोजगारी दिनुपर्यो र राज्य अभिभावक बन्नुपर्यो ।
बालेन्द्रजी त वर्गीय हिसाबले तल्लो वर्गप्रति असाध्यै पूर्वाग्रही छन् जस्तो लाग्छ । उनले तल्लो वर्गको कुनै समस्या आवश्यकता केही पनि बुझ्दैनन् । उनी के बुझ्छन् भने उनीहरूलाई मैले शासन गर्नुपर्छ भन्ने मात्रै चेत छ । अहिले महानगरले जे गर्यो, त्यो बालेनको पृष्ठभूमिबाट प्रहरीले पाएको ट्रेनिङ हो । त्यसमा राजुनाथ पाण्डे लगायतको भूमिका देखिन्थ्यो । रवि लामिछाने अहिले पोलिटिकको फाइदा लिने मुड देखिएका छन् । राजनीति माइलेज के गर्दा लिन सकिन्छ, के गर्दा पपुलिस्ट भइन्छ, हाइ हाई पाइन्छ भन्नेतर्फ मात्रै उनको चासो देखिन्छ । उनी पनि तल्लो वर्गप्रति असाध्यै पूर्वागरी भए । हिजो पनि उनी हिरोइजममा थिए आज पनि हिरोइज्मको अवसर खोजिरहेका छन् ।












प्रतिक्रिया