इलाम– इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक करिब १५ रोपनी क्षेत्रफल बारीमा अलैँचीखेती लगाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका ३६ वर्षीय लिम्बूले जिल्लाकै सन्दकपुर गाउँपालिकाबाट प्रतिबोट १४ रुपैयाँका दरले भार्लाङ जातको तीन हजार बिरुवा खरिद गरेर रोपेका हुन् ।
अलैँचीले राम्रो मूल्य पाउन थालेपछि उनले अन्नबाली फल्ने बारी मासेर अलैँचीखेती सुरु गरेका हुन् । राजनीति र उत्पादनलाई सँगसँगै जोडेर लैजानका लागि व्यावसायिक अलैँचीखेती सुरु गरेको उनले बताए । ‘हामी राजनीति गर्ने मान्छेको निश्चित आम्दानीको स्रोत त चाहिन्छ, तब मात्रै राजनीतिमा टिक्न सकिन्छ’, लिम्बूले भने, ‘उत्पादनलाई पनि सँगसँगै जोडेर अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साग पुख्र्योली थलोमा अलैँचीखेती लगाएको हुँ ।’
माइजोगमाई गाउँपालिका–५ का किसान दिनेश नेम्बाङले पनि यस पटक धानखेती मासेर अलैँचीखेती विस्तार गरेका छन् । यस पटक तीन हजार बढी नयाँ अलैँचीको बिरुवा रोपेका छन् । तीन वर्ष पहिले धान फल्ने खेत मासेर अलैँचीखेती सुरु गरेका उनले गत वर्ष १३ मन सुक्खा अलैँची उत्पादन गरे ।
‘आम्दानी र उत्पादनको तुलना गर्दा धानले भन्दा अलैँचीले धेरै राम्रो आम्दानी दिने भएकाले अलैँचीखेती विस्तारमा लागेको हुँ’, उनले भने, ‘गत वर्षदेखि मूल्यसमेत राम्रो पाउन थालेको छ, नयाँ बिरुवाबाट उत्पादन हुन थालेपछि आम्दानी बढ्ने अपेक्षा छ ।’ धान खाद्यान्नका लागि महत्वपूर्ण भए पनि अलैँची एक पटक लगाएपछि वर्षौंसम्म उत्पादन दिने भएकाले धान रोप्ने खेतमा अलैँची लगाएको उनको भनाइ छ ।
लिम्बू र नेम्बाङ मात्र होइनन्, देशकै अलैँचीको हव मानिने इलामका अधिकांश किसानलाई यतिबेला अलैँची रोप्न भ्याइनभ्याइ छ । यतिबेला अलैँची रोप्ने मुख्य सिजन हो । त्यसैले किसानहरु यति बेला अलैँची रोप्नमा व्यस्त देखिन्छन् । खाली रहेको पाखाबारी एवं अन्नबाली हुने खेतबारीमा समेत अलैँची रोप्नमा किसानको दिनचर्या बित्ने गरेको छ ।
जिल्लाका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत अलैँची बनेको छ । पछिल्लो समय अलैँचीको मूल्य बढेसँगै यहाँका किसानहरु व्यावसायिक अलैँचीखेतीमा लागेका हुन् । पहिलेदेखि व्यावसायिक अलैँचीखेती गर्दै आएका किसानले खेती विस्तार गरेका छन् भने कसैले नयाँ खेती सुरु गरेका छन् ।
पहिलेदेखि अलैँचीको खेती गर्दै आएका माइजोगमाई गाउँपालिका–५ का किसान अर्जुन भण्डारीले यसवर्ष पनि अलैँचीखेती विस्तार गरेका छन् । खाली रहेको पाखाबारीमा अलैँची खेती गर्दै आएका भण्डारीले यस वर्ष धान फल्ने खेतमा अलैँचीखेती विस्तार गरेका हुन्।
गत वर्ष मुख्य सिजनमा प्रतिमन (४० केजी) को एक लाख १५ हजार रुपैयाँसम्म किनबेच भएको अलैँची यस वर्ष प्रतिमन एक लाखमा किनबेच भइरहेकाले किसानहरु अलैँचीखेतीप्रति आकर्षित भएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनाथ पौड्यालको बुझाइ छ ।
इलामका गाउँमा अलैँचीखेती किसानहरु बढ्दै गएका छन् । खेर गइरहेको, अन्नबाली राम्ररी नफस्टाउने, पानी बगिरहने, बढी चिस्यान, सेपिलो, ओसिलो, छाँया पर्ने, भिरालो, कम गहिरो माटो भएको, कमसल जग्गाहरुमा समेत अलैँचीखेती गर्न सकिने भएकाले किसानहरु अलैँची खेतीतर्फ आकर्षित भएका हुन् ।
उनीहरुले खेतबारीमा अन्नबाली लगाउन छाडेर अलैँची रोपेका छन् । सामान्य अलैँचीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक रुपमा अलैँचीखेती सुरु गर्न थालेका छन् । उत्पादन र मूल्यसमेत राम्रो हुँदै गएकाले किसानहरु अलैँचीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका हुन् ।
कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि त्यस किसानहरु व्यावसायिक अलैँचीखेतीमा आकर्षित भएका हुन् । खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकाशं किसानले व्यावसायिक अलैँची खेती सुरु गरेका छन् ।
बाँझो रहेका पाखा पखेरामा समेत हुने भएपछि किसानहरुले व्यावसायिक रुपमा अलैँची खेती सुरु गरेका हुन् । उनीहरुले व्यावसायिक रुपमा अलैँची खेती गरी लाखौं आम्दानी लिइरहेका छन् । उनीहरुले खेतीयोग्य जमिन मासेर समेत व्यवसायिक अलैँची खेती गर्दै आएका हुन् । यहाँका किसानले सामशाही, गोलशाही, जिर्तले, भर्लाङ्गेलगायत जातका अलैँचीखेती गर्दै आएका छन् ।
अलैँची किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन । घरैबाट सहजै रुपमा बिक्री गर्न पाउँछन् । घरघरमा गएर व्यापारीले अलैँची किन्ने गरेका छन् । घरैबाट व्यापारीले किन्ने गरेकाले किसानलाई बजारसम्म पु¥याउने झन्झट छैन । यातायातको सुविधा विस्तार भएसँगै किसानले अलैँचीको मूल्य राम्रै पाउने गरेको माङसेबुङ गाउँपालिका–२ किसान कैलाशकुमार राईले बताए ।
अलैँची एक सदावहार बाली हो । यसले एकपटक रोपेपछि २० देखि २५ वर्षसम्म उत्पादन दिइरहन्छ । यसको बोट एकदेखि दुई दशमलव पाँच मिटरसम्म अग्लो हुन्छ । यसको मध्यम खालको झाङ हुन्छ । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँचीखेती समुद्र सतहदेखि ६०० मिटरदेखि २१०० मिटर उचाइसम्मा गन सकिन्छ । यसका लागि उपयुक्त तापक्रम १० देखि ३० डिग्री सेल्सियस हुने पहाडी क्षेत्र मानिन्छ ।
अलैँचीले बढी आद्रता भएमा राम्रो मानिन्छ । वर्षा जति भयो त्यति राम्रो मानिन्छ । सिँचाइभन्दा वर्षाको पानी राम्रो मानिन्छ । तर फेदमा पानी जम्न दिनु हुँदैन । वार्षिक सरदर वर्षा २००० देखि २५०० मिलिमिटर हुने स्थानमा यसको व्यावसायिक खेती गरिन्छ ।












प्रतिक्रिया