कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने « Khabarhub

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र कार्यकर्तामा असर पारिरहेको भन्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा नागरिक अगुवा तथा बुद्धिजीवीहरूले जोड दिएका छन्।

कांग्रेसलाई गुट, समूह र व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर एकताबद्ध बनाउने उद्देश्यले ‘देश र कांग्रेस जोड्ने अभियान’ले काठमाडौंमा नागरिक अगुवा तथा बुद्धिजीवीसँग अन्तरक्रिया गरेको हो।

कार्यक्रममा सहभागीहरूले कांग्रेसभित्र विचार र नेतृत्वका विषयमा बहस तथा प्रतिस्पर्धा स्वाभाविक भए पनि पार्टी विभाजन हुने अवस्था आउन नहुने धारणा राखेका थिए। उनीहरूले व्यक्ति भन्दा पार्टी, गुटभन्दा संगठन र पदभन्दा देशलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले देश राजनीतिक, सामाजिक र आर्थिक चुनौतीबाट गुज्रिरहेको अवस्थामा कांग्रेसभित्रको एकता झनै आवश्यक भएको बताए।

‘गाउँका जनता र भुइँ तहका कांग्रेस कार्यकर्ताको एउटै अपेक्षा छ, कांग्रेस बलियो र एकताबद्ध होस्। कार्यकर्ता विभाजन चाहँदैनन्, उनीहरू नेतृत्व मिलेको हेर्न चाहन्छन्,’ महरले भने।

कांग्रेसभित्रको विवाद अब नेताहरूबीचको मात्र विषय नरहेको भन्दै उनले यसको प्रत्यक्ष प्रभाव संगठन, कार्यकर्ता र आम नागरिकको मनोविज्ञानमा परेको बताए। पार्टीलाई पुनः जनतासँग जोड्न पनि आन्तरिक एकता पहिलो सर्त भएको उनको भनाइ थियो।

‘कांग्रेसभित्र मतभिन्नता हुन सक्छ, विचारमा बहस हुन सक्छ, नेतृत्वका लागि प्रतिस्पर्धा पनि हुन सक्छ। तर पार्टी नै कमजोर हुने गरी विभाजन स्वीकार्य हुँदैन,’ महरले भने।

हालै सम्पन्न राष्ट्रिय भेलाले कांग्रेस एकताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिँदै उनले एकताका लागि सबै तहका नेताहरू व्यक्तिगत स्वार्थ, पद र प्रतिष्ठाभन्दा माथि उठ्नुपर्ने बताए।

‘कांग्रेस एकताको कुरा गर्ने हो भने सबैभन्दा पहिले नेताहरू त्यागका लागि तयार हुनुपर्छ। कसैले एक कदम पछाडि हट्नुपर्छ, कसैले आफ्नो अडानमा पुनर्विचार गर्नुपर्छ। तर कांग्रेसलाई फुटबाट जोगाउनैपर्छ,’ उनले भने।

महरले कांग्रेसको एकता पार्टीभित्रको व्यवस्थापनको विषय मात्र नभई लोकतन्त्र र देशको भविष्यसँग जोडिएको राष्ट्रिय आवश्यकता भएको बताए।

‘आज देशलाई बलियो लोकतान्त्रिक शक्ति चाहिएको छ। त्यो भूमिका निर्वाह गर्ने जिम्मेवारी कांग्रेसको हो। त्यसैले कांग्रेस कमजोर हुने, फुट्ने वा विभाजित हुने अवस्था देशका लागि पनि सुखद होइन,’ उनले भने।

कार्यक्रममा वरिष्ठ पत्रकार किशोर नेपाल, नेपाल इन्जिनियरिङ एसोसिएसनका पूर्वअध्यक्ष ध्रुव थापा, पूर्वउपकुलपति प्रेमनारायण अर्याल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वराष्ट्रिय अध्यक्ष योगेन्द्र अधिकारी, प्राध्यापक मनोज कर्ण, पूर्वसांसद रामजीवन सिंह, अभियन्ता गोपाल झा, तेजप्रसाद पण्डित, ज्ञानेन्द्र देवकोटालगायत विभिन्न क्षेत्रका करिब एक सयभन्दा बढी बुद्धिजीवी तथा नागरिक अगुवा सहभागी थिए ।

कार्यक्रममा सहभागीहरूले कांग्रेसभित्रको वर्तमान परिस्थितिको गम्भीर समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले त्याग र लचकता देखाउनुपर्ने धारणा राखेका थिए।

उनीहरूको साझा निष्कर्ष थियो, ‘कांग्रेसमा विचारको बहस होस्, नेतृत्वका लागि प्रतिस्पर्धा होस्, तर विभाजन नहोस्।’

देशव्यापी हस्ताक्षर अभियान

‘देश र कांग्रेस जोड्ने अभियान’ले कांग्रेसभित्र एकताको पक्षमा जनमत निर्माण गर्न देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने जनाएको छ।

अभियानका अनुसार हस्ताक्षर संकलनलाई कांग्रेस एकताबद्ध हुनुपर्छ भन्ने कार्यकर्ता, शुभेच्छुक र आम नागरिकको सामूहिक आवाजका रूपमा अघि बढाइनेछ।

अभियानले आगामी दिनमा देशका विभिन्न ठाउँमा पुगेर कांग्रेसका नेता, कार्यकर्ता, बुद्धिजीवी, नागरिक समाज तथा शुभेच्छुकसँग संवादलाई थप व्यापक बनाउने जनाएको छ।

अभियानका अगुवाहरूले कांग्रेसलाई पुनः गाउँ, कार्यकर्ता र आम नागरिकको भावनासँग जोड्ने उद्देश्यले अभियान अघि बढाइएको बताएका छन्।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ५ : १६ बजे

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग

भारतको ८० करोड अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना बन्ने

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि

पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड

एजेन्सी– सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ

सुगौली सन्धिको सक्कल प्रतिबारे भारतको जवाफ, ‘द्विपक्षीय संयन्त्रमार्फत कुरा गर्न सकिन्छ’

नयाँदिल्ली- सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति नभेटिएको चर्चा

निशान छापको दुरुपयोग गर्ने एक जना पक्राउ

काठमाडौं– प्रहरीले अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरुपयोग गर्ने