आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता « Khabarhub

आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व अर्थतन्त्र र भूराजनीतिको केन्द्रविन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय मञ्च ब्रिक्सको १८ औँ शिखर सम्मेलन भोलि सेप्टेम्बर १२ शनिबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ । सन् २०२६ को जनवरी १ देखि ब्रिक्सको अध्यक्षता सम्हालेको भारतले यसअघि सन् २०१२, २०१६ र २०२१ मा पनि यस सम्मेलनको आयोजना गरिसकेको छ । सेप्टेम्बर १२ र १३ गते चल्ने यो बहुप्रतिक्षित वार्तामा सहभागी हुन विश्वका प्रभावशाली नेताहरू नयाँदिल्ली आइपुग्ने क्रम जारी छ ।

यस पटकको सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तो र चिनियाँ राष्ट्रपति सी जिनपिङलगायतका शीर्ष नेताहरूको उपस्थिति रहनेछ । विशेष गरी सात वर्षको लामो अन्तरालपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमणलाई दुई देशबीचको सीमा तनावपछिको सम्बन्ध सुधार र संवादका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

सम्मेलनमा ब्राजिलका विदेशमन्त्री माउरो भिएरा, युएईका युवराज प्रिन्स शेख खालेद बिन मोहम्मद, इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सिसी, इथियोपियाका प्रधानमन्त्री अबिए अहमद अलीका साथै मलेसिया, भियतनाम, फिलिपिन्स, कजाकिस्तान, बहराइन, साउदी अरेबिया, बेलारुस, क्युबा, युगान्डा, बुरुन्डी र उरुग्वेका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी हुँदैछन्। त्यसैगरी विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस, विश्व व्यापार सङ्गठनकी महानिर्देशक डा. न्गोजी ओकोन्जो-इवेला र न्यु डेभलपमेन्ट बैंककी अध्यक्ष डिल्मा रुसेफको पनि उपस्थिति रहनेछ ।

सन् २०२४ मा इरान, युएई, साउदी अरेबिया, इजिप्ट र इथियोपिया तथा सन् २०२५ मा इन्डोनेसिया थपिएसँगै ११ सदस्य राष्ट्र पुगेको ब्रिक्सले विश्वको करिब ४९.५ प्रतिशत जनसङ्ख्या, ४० प्रतिशत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र २६ प्रतिशत विश्व व्यापारको प्रतिनिधित्व गर्दछ। सन् २०२५ देखि विभिन्न १० साझेदार राष्ट्रहरूलाई समेत जोडेको यस समूहले विश्व व्यवस्थामा विकासोन्मुख देशहरूको पहुँच बढाउने उद्देश्य राखेको छ।

दुई दिनसम्म चल्ने यस शिखर सम्मेलनको पहिलो दिन अर्थात् सेप्टेम्बर १२ शनिबारको सुरुआत ब्रिक्स सदस्य राष्ट्रका नेताहरूको बन्दसत्रबाट हुनेछ । दिउँसो २:३५ बजे ‘समावेशी विश्वव्यापी शासन र बहुपक्षीयताको सुदृढीकरण’ शीर्षकमा बन्दसत्र आयोजना गरिनेछ ।

त्यसपछि अपराह्न ४:२५ बजे नेताहरूले नवप्रवर्तन र विकाससम्बन्धी ‘भारत इनोभेट्स’ प्रदर्शनीको अवलोकन गर्नेछन् । अपराह्न ५:०५ बजे भारत मण्डपममा आधिकारिक सामूहिक तस्बिर खिचाउने र संयुक्त रूपमा वृक्षरोपण गर्ने कार्यक्रम तय गरिएको छ। पहिलो दिनको समापन बेलुकी ७:३० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजकका नाताले पाहुना नेताहरूका लागि आयोजना गर्ने भव्य रात्रिभोजबाट हुनेछ ।

सम्मेलनको दोस्रो तथा अन्तिम दिन सेप्टेम्बर १३ आइतबार थप विस्तृत कार्यक्रम रहनेछ । बिहान ९:५५ बजेदेखि ब्रिक्सका सदस्य, साझेदार राष्ट्र र निमन्त्रित मुलुकका नेताहरूको आगमन सुरु हुनेछ। त्यसपछि बिहान १०:३५ बजे सामूहिक तस्बिर खिचाएपछि १०:५० बजेदेखि मुख्य खुला सत्र प्रारम्भ हुनेछ ।

‘उत्थानशीलता, नवप्रवर्तन, सहकार्य र दिगोपना : समावेशी विश्वव्यापी वृद्धिका लागि भविष्यको रूपरेखा’ विषयक उक्त सत्रमा छलफल हुनेछ । छलफल पश्चात् दुई दिने सम्मेलनको निष्कर्ष र प्रतिबद्धता समेटिएको ऐतिहासिक ‘नयाँदिल्ली घोषणापत्र’ जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ ।

आयोजक भारतले प्रस्तुत गरेको अवधारणा अनुसार सम्मेलन समावेशी विकास, साझा जिम्मेवारी, व्यावहारिक सहकार्य र जनताकेन्द्रित दृष्टिकोणमा आधारित छ । यस पटक आपूर्ति शृङ्खलाको सुदृढीकरण, खाद्य तथा ऊर्जा सुरक्षा, स्वास्थ्य, विपद् पूर्वतयारी, प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई), विकास वित्त र विश्वव्यापी शासन प्रणालीमा सुधारजस्ता विषयहरू प्राथमिकतामा राखिएका छन् ।

भारतले विशेष गरी सीमापार भुक्तानीमा स्थानीय मुद्राको प्रयोग बढाउन र व्यापार सहजीकरणमा जोड दिएको छ । अमेरिकी डलरमाथिको निर्भरता घटाउने र आफ्नै वित्तीय प्रणाली सुदृढ गर्ने विषय ब्रिक्सको मुख्य एजेन्डा रहे पनि अन्तर्राष्ट्रिय प्रणालीमा डलरको वर्चस्व र सदस्य राष्ट्रहरूबीचको फरक वित्तीय नीतिका कारण यसलाई तत्काल विस्थापित गर्नुभन्दा जोखिम घटाउने रणनीति अपनाइएको देखिन्छ ।

यो सम्मेलन विश्वव्यापी राजनीतिक अनिश्चितता, युक्रेन युद्ध, मध्यपूर्वको द्वन्द्व र अमेरिका-इरान तनावका बीच आयोजना भइरहेको छ । अमेरिकी र इजरायली आक्रमणको सामना गरिरहेको ब्रिक्स सदस्य इरान र अर्को सदस्य युएईबीचको फरक दृष्टिकोणका कारण ब्रिक्सभित्र साझा कूटनीतिक धारणा बनाउन चुनौतीपूर्ण छ ।

आयोजक भारतका लागि पनि यो सम्मेलन एक पेचिलो कूटनीतिक परीक्षा हो । एकातिर रुस र चीनसँगको सम्बन्ध सुदृढ गर्दै ‘ग्लोबल साउथ’ को आवाज उठाउने र अर्कातिर अमेरिका तथा पश्चिमी राष्ट्रहरूसँगको ‘क्वाड’ र ‘जी२०’ जस्ता मञ्चमार्फत बनेको साझेदारीलाई सन्तुलनमा राख्नुपर्ने दबाब भारतमाथि छ ।

सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। हजारौँ सुरक्षाकर्मी परिचालन गरिनुका साथै मुख्य सडकहरूमा ब्यारिकेड र जाँचस्थलहरू स्थापना गरिएका छन् । सरकारले आवागमन सहज बनाउन सार्वजनिक बिदा दिए पनि सडक प्रतिबन्ध र मार्ग परिवर्तनका कारण सर्वसाधारण, डेलिभरी चालक तथा दैनिक ज्यालादारी मजदुरहरूको जनजीवन प्रभावित भएको छ । छोटो दूरीको यात्रा पनि लामो चक्करमा परिणत हुँदा तथा ट्याक्सी र अटो भाडा बढ्दा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।

सबै चुनौती, आन्तरिक मतभिन्नता र भूराजनीतिक जटिलताका बाबजुद नयाँदिल्ली ब्रिक्स शिखर सम्मेलनले बहुध्रुवीय विश्व व्यवस्थाको निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। पश्चिमी प्रभुत्व रहेका अन्तर्राष्ट्रिय निकायहरूको विकल्प खडा गर्नेभन्दा पनि विकासोन्मुख राष्ट्रहरूलाई स्वायत्तता, व्यापारिक अवसर र अन्तर्राष्ट्रिय मञ्चमा बलियो आवाज प्रदान गर्न यो सम्मेलन निर्णायक बन्ने देखिन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ५ : २९ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठनले खाली सिलिन्डर र थाल–कचौरा बोकेर नेपाल आयग

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष