काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि त्यसबारे चर्को बहस भइरहेको छ । अस्पतालले उपचारका लागि भर्ना नलिएपछि पैसा अभावमा ती महिला अस्पतालबाहिरै सुत्केरी हुन बाध्य भएको परिवारजन तथा सांसदहरूले आरोप लगाएका छन् ।
राजविराज नगरपालिका–१४ की ३० वर्षीया बविता कुमारी पासवान प्रसव व्यथा लागेपछि बुधबार राति गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन् । तर, उपचार तथा स्वास्थ्य परीक्षणका लागि आवश्यक रकम तिर्न नसकेपछि अस्पतालले भर्ना नलिएको र उनलाई बाहिर निकालिएको परिवारजनको दाबी छ ।
अस्पताल प्रशासनले भर्ना नलिएपछि उनले अस्पतालको मूल गेटबाहिरै बच्चा जन्माउन बाध्य भएको आरोप लगाइएको छ। घटनाको समयबारे भने फरक–फरक विवरण सार्वजनिक भएका छन् । कतिपय विवरणमा राति करिब २ बजे र कतिपयमा बिहान ४ बजेतिर घटना भएको उल्लेख छ।
घटनासँग सम्बन्धित सीसीटीभी भिडियो बिहीबार बिहान सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिर आएको हो। भिडियो भाइरल भएपछि अस्पतालको सेवा, स्वास्थ्यकर्मीको व्यवहार र सरकारको स्वास्थ्य नीतिमाथि समेत प्रश्न उठेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद खगेन्द्र कर्णले समेत घटनाको विषय उठाउँदै छानबिनको माग गरेका छन्।
उनले पैसा तिर्न नसकेकै कारण महिलालाई अस्पतालबाहिर सुत्केरी हुन बाध्य पारिएको भए त्यसको सत्यतथ्य तत्काल बाहिर ल्याउनुपर्ने बताएका थिए । त्यस्तै अर्की सांसद अंकिता ठाकुरले पनि घटनाप्रति आक्रोश व्यक्त गरेकी छन्। उनले पैसाले श्वास र आशाको समेत निर्धारण गर्ने अवस्था आएपछि यस्ता घटना हुने बताउँदै गजेन्द्रनारायण सिंह अस्पताललाई मन्दिर र चिकित्सकलाई भगवान् ठान्ने स्थानीयले उपचार पाउनुको साटो अस्पतालबाट निकालिनुपरेको बताएकी थिइन्।
‘सरकारलाई असफल बनाउन प्रयोग गरिएको हुन सक्छ’
तर यसै घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले विचित्रको कुरा गरेका छन् । शुक्रबार नुवाकोट–२ बाट निर्वाचित लामिछानेले ती महिलालाई सरकारको बदनाम गर्न प्रयोग गरेको हुन सक्ने आशंका गरेका छन्।
पत्रकारले ‘तपाईंहरू समाजवाद ल्याउने भन्नुहुन्छ, तर एक महिलाले पैसा अभावमा सडकमै बच्चा जन्माउनुपर्ने अवस्था आएको छ, यस्तो अवस्था कसरी आयो ?’ भनेर उनलाई संसद् भवन परिसरमा सोधेका थिए। जवाफमा लामिछानेले यस्तो घटना हुनु नै नहुने तर्क गरे। ‘त्यो घटना हुनु हुँदैनथ्यो । मैले स्वास्थ्य समितिमा पनि बोलेको छु । यो घटना हुनु एकदमै गलत हो,’ उनले अगाडि भने।
उनले उक्त घटनालाई अर्को कोणबाट पनि हेर्नुपर्ने जिकिर गरे। कहिलेकाहीँ सरकारलाई असफल बनाउन विभिन्न व्यक्तिलाई प्रयोग गरिएको हुन सक्ने अचम्मको तर्क उनले गरे। ‘कहिलेकाहीँ सरकारलाई नै असफल बनाउन विभिन्न व्यक्तिहरू प्रयोग पनि हुनुहुँदैन । यो हामीले पनि बुझ्नुपर्छ,’ उनले भने। उनले आफूले सम्बन्धित महिलालाई प्रयोग गरिएको भन्न नखोजेको स्पष्ट गर्दै घटनाको वास्तविकता बाहिर आउनुपर्ने दाबी गरे।
‘उहाँलाई प्रयोग गरिएको भनेको होइन । उहाँले सडकमा बच्चा जन्माउने अवस्था आउनु हुँदैनथ्यो । उहाँलाई सरकारी या प्राइभेटमा भए पनि त्यो अवस्था आए उपचार गर्नुपर्छ । चाहे त्यो पैसा भएको होस्, चाहे नहोस् । यहाँ धनी र गरिबको कुरा छैन, प्रसव पीडा हामीलाई थाहा हुन्छ,’ लामिछानेले भने । उनले घटनाबारे आफूले सबै प्रमाण प्राप्त नगरेको भन्दै सत्य सूचना सार्वजनिक गर्नुपर्नेमा जोड दिए।
‘ढिला भयो कि के भयो । मैले सबै प्रमाण लिन पाएको छैन । तपाईं-हामी सबै मिलेर सही सूचना आउनुपर्यो,’ उनले भने। लामिछानेले सञ्चारमाध्यमलाई सरकार असफल बनाउने कुनै रणनीति भए त्यसबारे समेत सचेत हुन आग्रह गरे। उनले सरकार असफल भए देश लामो समयसम्म बन्न नसक्ने दाबी गर्दै पत्रकारलाई समेत जिम्मेवार भएर सूचना सम्प्रेषण गर्न आग्रह गरे।
‘यो सरकार पनि असफल भयो भने, तपाईंहरू सुन्नुहोला, सबैभन्दा निकम्मा देशको पत्रकार तपाईंहरू हुनुहुन्छ । लेखेर राख्नुस्, सयौं वर्ष देश बन्दैन । तपाईंहरूले पनि सहयोग गर्नुको विकल्प छैन । कहीँ रणनीति हुँदैछ कि भनेर तपाईंहरूले पनि बुझिदिनुहोला,’ उनले भने ।
स्वास्थ्यमन्त्रीले छानबिन टोली पठाइन्
घटनालाई लिएर स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री मेहताले मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएको र सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइसकिएको जानकारी दिएकी छन्। स्वास्थ्य संस्थामा पुग्ने हरेक नागरिकले समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउने अधिकार रहेको उल्लेख गर्दै उनले घटनाबारे अस्पतालसँग स्पष्टीकरणसमेत माग गरिएको बताएकी छन्।
मन्त्री मेहताले निष्पक्ष छानबिन गरी घटनाको वास्तविकता बाहिर ल्याउने प्रतिबद्धता जनाएकी छन्। अनुसन्धानका क्रममा कसैको गल्ती वा लापरबाही देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने उनको भनाइ छ।
नागरिकको स्वास्थ्य सेवाप्रतिको विश्वास र अधिकार जोगाउन मन्त्रालय सदैव संवेदनशील र प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारेकी छन्। यस घटनाले अस्पतालमा उपचार पाउने नागरिकको अधिकार, आर्थिक अवस्थाका आधारमा स्वास्थ्य सेवामा हुने विभेद तथा सार्वजनिक स्वास्थ्य संस्थाको जवाफदेहितामाथि समेत प्रश्न उठाएको छ।
मन्त्रालयले छानबिन टोली राजविराज पठाइसकेको अवस्थामा अब घटनाको वास्तविकता छानबिनबाट स्पष्ट हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया