भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा « Khabarhub

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि बर्दियाको बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारु र कइरी थारु उनीहरू फर्किने आशामा दिनरात बाटो हेरिरहेका छन् ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उनीहरूका छोरा दीपेन्द्र थारु र बुहारी फूलमाया तामाङ सम्पर्कविहीन छन् । छोराबुहारीको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी नआएपछि परिवारमा चिन्ता बढेको छ ।

बुवाआमासँग सम्पर्क टुटेपछि दीपेन्द्रका आठ वर्षीय छोरा दीप थारु र छ वर्षीया छोरी दीक्षा थारु अहिले मामाको सहारामा काठमाडौंमा छन् । दुवै जना रसुवाको स्थानीय विद्यालयमा अध्ययनरत थिए । बाढी आएको दिन विद्यालय गएकाले उनीहरू सुरक्षित भएका थिए । विद्यालयबाट फर्किएपछि अभिभावक नभेटिएपछि उनीहरूलाई उद्धार गरी काठमाडौं ल्याइएको परिवारले जनाएको छ ।

छोरा फर्किने आशमा आँशुराम मोबाइलको घण्टी बज्नासाथ फोन उठाउँछन् । घरको बाटोतिर पनि उनको नजर पुगिरहन्छ ।

“छोराबुहारी भेटिएको फोन कतैबाट आयो कि भनेर तुरुन्तै उठाउने गर्छु । घर आउँदैछन् कि भनेर बाटो हेर्छु । तर अहिलेसम्म कतैबाट कुनै खबर आएको छैन,” आँशुरामले भने ।

छोराबुहारी बेपत्ता भएपछि नातिनातिनाको शिक्षादीक्षाको विषयमा समेत चिन्ता थपिएको उनले बताए ।

“छोराबुहारीको अवस्थाबारे कुनै जानकारी नहुँदा परिवारका सदस्य विक्षिप्त बनेका छन् । हामीलाई छोराबुहारी भेटाइदेऊ भनेर रातदिन भगवानसँग प्रार्थना गरिरहेका छौँ,” उनले भने, “सरकार तथा सम्बन्धित निकायले छिटो बेपत्ताको खोजी गरेर वास्तविक अवस्था पत्ता लगाई जानकारी दिनुपर्छ । यदि नभेटिए शव भए पनि परिवारलाई बुझाउनुपर्छ । नातिनातिनाको पढाइका लागि आवश्यक व्यवस्था गरिनुपर्छ ।”

दीपेन्द्र रसुवाको सल्लेटारमा होटल सञ्चालन गरेर परिवारसहित बस्दै आएका थिए । बाढी आएको समयमा उनका छोरा र छोरी विद्यालय गएका थिए । विद्यालय गएका कारण दुवै बालबालिका सुरक्षित भए पनि होटलमा रहेका दीपेन्द्र र फूलमाया भने बाढीपछि सम्पर्कविहीन भएका हुन् ।

दीपेन्द्र विगत ११ वर्षदेखि रसुवामा बस्दै आएका थिए । सुरुमा उनले रसुवास्थित चिनियाँ कम्पनीमा कामदारका रूपमा काम गरेका थिए । त्यहाँ काम गरेको दुई वर्षपछि उनले रसुवाकी फूलमायासँग विवाह गरेका थिए । पछि परिवारसहित रसुवा बस्दै आएका दीपेन्द्रले करिब सात वर्षअघि स्थायी रूपमा त्यहीँ बस्ने गरी बसाइँसराइ गरेका थिए ।

बसाइँसराइ गरेको करिब एक वर्षपछि उनले रसुवामा होटल सञ्चालन गर्न थालेका थिए । होटल सञ्चालन गरेर परिवारसँगै बसिरहेका दीपेन्द्र र फूलमाया बाढीपछि सम्पर्कविहीन भएका हुन् ।

आँशुरामका छ जना छोरा छन् । दीपेन्द्र उनका राइला छोरा हुन् । उनका अन्य छोराहरू काठमाडौं, पोखरा, नुवाकोटलगायत विभिन्न ठाउँमा काम गर्दै आएका छन् ।

दीपेन्द्र र फूलमाया सम्पर्कविहीन भएपछि परिवारका सदस्यले चितवन, धादिङ, नुवाकोट र काठमाडौंका विभिन्न अस्पताल तथा होल्डिङ सेन्टरसम्म पुगेर खोजी गरेका छन् । तर अहिलेसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन ।

“कतै भाइबुहारीको अवस्था पत्ता लाग्छ कि भनेर चितवन, धादिङ, नुवाकोट र काठमाडौंसम्म सबै ठाउँमा छोराहरूले खोजी गरे,” आँशुरामले भने, “तर भेटिएनन् । अहिले अरू छोराहरू पनि आ–आफ्नो काममा फर्किएका छन् ।”

कामको सिलसिलामा रसुवा र नुवाकोट पुगेका दीपेन्द्रजस्तै बर्दियाका ७६ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले बताए ।

“बारबर्दियाका मात्रै २५ जना सम्पर्कविहीन छन् । हालसम्म ५३ जना घर फर्किसकेका छन्,” ढकालले भने ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ९ : ५० बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६