भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा « Khabarhub

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि बर्दियाको बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारु र कइरी थारु उनीहरू फर्किने आशामा दिनरात बाटो हेरिरहेका छन् ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उनीहरूका छोरा दीपेन्द्र थारु र बुहारी फूलमाया तामाङ सम्पर्कविहीन छन् । छोराबुहारीको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी नआएपछि परिवारमा चिन्ता बढेको छ ।

बुवाआमासँग सम्पर्क टुटेपछि दीपेन्द्रका आठ वर्षीय छोरा दीप थारु र छ वर्षीया छोरी दीक्षा थारु अहिले मामाको सहारामा काठमाडौंमा छन् । दुवै जना रसुवाको स्थानीय विद्यालयमा अध्ययनरत थिए । बाढी आएको दिन विद्यालय गएकाले उनीहरू सुरक्षित भएका थिए । विद्यालयबाट फर्किएपछि अभिभावक नभेटिएपछि उनीहरूलाई उद्धार गरी काठमाडौं ल्याइएको परिवारले जनाएको छ ।

छोरा फर्किने आशमा आँशुराम मोबाइलको घण्टी बज्नासाथ फोन उठाउँछन् । घरको बाटोतिर पनि उनको नजर पुगिरहन्छ ।

“छोराबुहारी भेटिएको फोन कतैबाट आयो कि भनेर तुरुन्तै उठाउने गर्छु । घर आउँदैछन् कि भनेर बाटो हेर्छु । तर अहिलेसम्म कतैबाट कुनै खबर आएको छैन,” आँशुरामले भने ।

छोराबुहारी बेपत्ता भएपछि नातिनातिनाको शिक्षादीक्षाको विषयमा समेत चिन्ता थपिएको उनले बताए ।

“छोराबुहारीको अवस्थाबारे कुनै जानकारी नहुँदा परिवारका सदस्य विक्षिप्त बनेका छन् । हामीलाई छोराबुहारी भेटाइदेऊ भनेर रातदिन भगवानसँग प्रार्थना गरिरहेका छौँ,” उनले भने, “सरकार तथा सम्बन्धित निकायले छिटो बेपत्ताको खोजी गरेर वास्तविक अवस्था पत्ता लगाई जानकारी दिनुपर्छ । यदि नभेटिए शव भए पनि परिवारलाई बुझाउनुपर्छ । नातिनातिनाको पढाइका लागि आवश्यक व्यवस्था गरिनुपर्छ ।”

दीपेन्द्र रसुवाको सल्लेटारमा होटल सञ्चालन गरेर परिवारसहित बस्दै आएका थिए । बाढी आएको समयमा उनका छोरा र छोरी विद्यालय गएका थिए । विद्यालय गएका कारण दुवै बालबालिका सुरक्षित भए पनि होटलमा रहेका दीपेन्द्र र फूलमाया भने बाढीपछि सम्पर्कविहीन भएका हुन् ।

दीपेन्द्र विगत ११ वर्षदेखि रसुवामा बस्दै आएका थिए । सुरुमा उनले रसुवास्थित चिनियाँ कम्पनीमा कामदारका रूपमा काम गरेका थिए । त्यहाँ काम गरेको दुई वर्षपछि उनले रसुवाकी फूलमायासँग विवाह गरेका थिए । पछि परिवारसहित रसुवा बस्दै आएका दीपेन्द्रले करिब सात वर्षअघि स्थायी रूपमा त्यहीँ बस्ने गरी बसाइँसराइ गरेका थिए ।

बसाइँसराइ गरेको करिब एक वर्षपछि उनले रसुवामा होटल सञ्चालन गर्न थालेका थिए । होटल सञ्चालन गरेर परिवारसँगै बसिरहेका दीपेन्द्र र फूलमाया बाढीपछि सम्पर्कविहीन भएका हुन् ।

आँशुरामका छ जना छोरा छन् । दीपेन्द्र उनका राइला छोरा हुन् । उनका अन्य छोराहरू काठमाडौं, पोखरा, नुवाकोटलगायत विभिन्न ठाउँमा काम गर्दै आएका छन् ।

दीपेन्द्र र फूलमाया सम्पर्कविहीन भएपछि परिवारका सदस्यले चितवन, धादिङ, नुवाकोट र काठमाडौंका विभिन्न अस्पताल तथा होल्डिङ सेन्टरसम्म पुगेर खोजी गरेका छन् । तर अहिलेसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन ।

“कतै भाइबुहारीको अवस्था पत्ता लाग्छ कि भनेर चितवन, धादिङ, नुवाकोट र काठमाडौंसम्म सबै ठाउँमा छोराहरूले खोजी गरे,” आँशुरामले भने, “तर भेटिएनन् । अहिले अरू छोराहरू पनि आ–आफ्नो काममा फर्किएका छन् ।”

कामको सिलसिलामा रसुवा र नुवाकोट पुगेका दीपेन्द्रजस्तै बर्दियाका ७६ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले बताए ।

“बारबर्दियाका मात्रै २५ जना सम्पर्कविहीन छन् । हालसम्म ५३ जना घर फर्किसकेका छन्,” ढकालले भने ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ९ : ५० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह