कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे  « Khabarhub

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे गरेको ६ महिना नबित्दै उक्किन थालेको छ । 

निर्माण कम्पनीले गत असारमा गरेको कालोपत्रे असोज नबित्दै ठाउँठाउँमा भत्किएपछि सडकको गुणस्तरमाथि प्रश्न उठेको छ ।

महालक्ष्मी–कञ्चनजङ्घा–शुभकामना जेभीले कालोपत्रे गरेको बागखोर–कालापानी खण्डका दर्जनभन्दा बढी स्थानमा सडक भत्किएको छ ।

कतिपय ठाउँमा कालोपत्रे उक्किएर सडक हिलाम्मे बनेको छ। निर्माण कम्पनीले करिब १३ किलोमिटर सडक कालोपत्रे गरे पनि बाँकी काम अधुरै छाडेको छ।

२०७५ सालमा सिन्धुपाल्चोकस्थित पूर्वाधार विकास कार्यालयअन्तर्गत मुडेबाट बागखोर हुँदै कालापानीसम्मको करिब १६ किलोमिटर सडक कालोपत्रे गर्न ३१ करोड ७५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । 

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सडकको काम निर्धारित समयमा पूरा हुन नसक्दा वर्षौंदेखि स्थानीयवासी र यात्रुले सास्ती खेप्दै आएका छन् ।

२०७६ सालबाट सुरु भएको सडक निर्माणको काम लामो समय अलपत्र परेपछि २०८१ असोज १८ गते पूर्वाधार विकास कार्यालय दोलखाअन्तर्गत कालोपत्रे गर्ने जिम्मेवारी महालक्ष्मी–कञ्चनजङ्घा निर्माण सेवासहित तीन निर्माण कम्पनीको संयुक्त उपक्रम (जेभी) ले पाएको थियो। २०८१ सालसम्म करिब १० किलोमिटर सडक कालोपत्रे भएको थियो। 

त्यसपछि बाँकी खण्डको काम अघि बढाइए पनि अझै पूर्णता पाउन सकेको छैन।

निर्माणको मुख्य जिम्मेवारी लिएको शुभकामना निर्माण सेवाका प्रमुख ईश्वर बाँस्कोटासँग बाँकी काम र भत्किएको सडकबारे प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् ।

यता पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले कालोपत्रे गरिएको सडकमा समस्या देखिएको स्वीकार गर्दै उक्किएको ठाउँमा तत्काल मर्मत तथा सुधार गर्न लगाइने बताए । 

उनका अनुसार करिब तीन किलोमिटर सडकको काम अझै बाँकी छ। दशैँ–तिहारपछि पनि काम सम्पन्न नगरे आगामी कात्तिक मसान्तसम्म ठेक्का तोड्ने तयारी गरिएको छ । 

समयमै काम नसकेका कारण निर्माण कम्पनीलाई १० प्रतिशतका दरले हर्जाना तिराइरहेको उनले जानकारी दिए ।

सडकको दुरवस्थाले शैलुङ आउने पर्यटक, स्थानीयवासी र किसान प्रभावित भएका छन्। 

रातको समयमा शैलुङ पुग्ने पर्यटकलाई हिलाम्मे सडकका कारण थप समस्या हुने गरेको पर्यटन व्यवसायी दिनेश श्रेष्ठले बताए। किसानले पनि सडककै कारण कृषि उपज ढुवानीमा कठिनाइ भएको गुनासो गरेका छन्।

शैलुङ क्षेत्रमा वार्षिक ५० देखि ६० करोड रुपैयाँ बराबरको आलु, काउली, बन्दा, मुला र गाजरलगायत तरकारी राजधानीसहित विभिन्न बजारमा निर्यात हुने गरेको छ। 

सडकको अवस्था सुधार नहुँदा कृषि उपज ढुवानी प्रभावित हुनुका साथै पर्यटन व्यवसायमा समेत असर परेको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ३ : ५३ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको