भाइटीका : सनातन संस्कार, विज्ञान र सम्बन्धको जीवनदर्शन « Khabarhub

भाइटीका : सनातन संस्कार, विज्ञान र सम्बन्धको जीवनदर्शन



निधारमा सप्तरङ्गी टीका, गलामा दोहोरो छड्के सयपत्रीको माला र शिरमा सयपत्रीकै पगरी लगाएर गाउँटोल घुम्दै देउसी–भैलो खेल्ने चाड भाइटीका (तिहार) लाई केवल एउटा धार्मिक कर्मकाण्ड वा पौराणिक कथाका रूपमा मात्र हेर्नु यसको सम्पूर्ण महत्वलाई सीमित गर्नु हो ।

वैदिक साहित्यमा यम–यमीको संवादले नातासम्बन्ध र मर्यादाको प्राचीन विमर्श प्रस्तुत गर्छ भने पौराणिक परम्परामा यम–यमुनाको आख्यानले दाजुभाइ–दिदीबहिनीको आत्मीयतालाई धार्मिक मान्यता प्रदान गर्छ । नेपाली समाजले यसलाई सप्तरङ्गी टीका, मखमली माला, दुबो, ओखर, दियो र विशेष पूजाविधिमार्फत आफ्नै मौलिक सांस्कृतिक पहिचान दिएको छ ।

आधुनिक विज्ञानले पनि यस पर्वमा निहीत केही सामाजिक पक्षको महत्त्व पुष्टि गर्ने आधार प्रदान गरेको पाइन्छ । पारिवारिक सम्बन्ध, भावनात्मक सहयोग, सामाजिक एकता र आत्मीयताले मानिसको मनोसामाजिक स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छन् । तर, यसको अर्थ परम्पराका सबै धार्मिक दाबी वैज्ञानिक रूपमा प्रमाणित छन् भन्न चाहिँ खोजिएको होइन ।

भाइटीकाको वास्तविक वैज्ञानिक तथा मानवीय महत्व दाजुभाइको निधारमा टीका लगाउँदा आयु बढ्नुमा मात्र होइन, एकअर्काको जीवनप्रति चासो राख्ने, दुःखमा साथ दिने, सम्मान गर्ने र जीवनभर सम्बन्ध कायम राख्ने सामाजिक संस्कार निर्माण गर्नुमा छ । जहाँ सम्बन्ध राम्रो हुन्छ, त्यहाँ स्वस्थता रहन्छ भन्ने विश्वास राख्न सकिन्छ ।

भाइटीका : निधारको टीकाभन्दा गहिरो सम्बन्धको संस्कार
मानिस सामाजिक प्राणी हो । उसको जीवन केवल व्यक्तिगत अस्तित्वमा सीमित हुँदैन, परिवार, नाता, सम्बन्ध, सामाजिक उत्तरदायित्व र सामूहिक अनुभूतिले उसको जीवनलाई अर्थपूर्ण बनाउँछन् । यही मानवीय सम्बन्धलाई पुस्तौँसम्म जीवित राख्ने माध्यमहरूमध्ये संस्कार र संस्कृति पनि हुन् । नेपाली समाजमा मनाइने भाइटीका यस्तै एउटा विशिष्ट सांस्कृतिक पर्व हो, जसले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, दीर्घायुको कामना, पारस्परिक सम्मान र जीवनभरको सम्बन्धलाई धार्मिक तथा सामाजिक मान्यता प्रदान गरेको छ ।

भाइटीकालाई सामान्यतया दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाइदिने, माला पहिरÞ्याउने, मिठाइ तथा परिकार खुवाउने र दाजुभाइले उपहार दिने पर्वका रूपमा बुझिन्छ । तर, यसको वास्तविक अर्थ यति मात्र होइन । यसको धार्मिक पृष्ठभूमि, पौराणिक आख्यान, प्रकृतिसँगको सम्बन्ध, मनोवैज्ञानिक प्रभाव र सामाजिक मूल्यलाई केलाउने हो भने यो पर्व मानवीय सम्बन्धको संरक्षण र निरन्तरतासँग जोडिएको गहिरो जीवनदर्शनका रूपमा देखिन्छ ।

वैदिक परम्परामा यम र यमीको सम्बन्ध
भाइटीकाको प्राचीन धार्मिक पृष्ठभूमि खोज्दा ऋग्वेदको दशम मण्डल, दशौँ सूक्तमा वर्णित यम र यमीको संवाद उल्लेखनीय छ । ऋग्वेद (१०.१०) मा विवस्वान्का सन्तान यम र यमीबीच संवाद प्रस्तुत गरिएको छ । यस संवादमा यमीले यमसँग दाम्पत्य सम्बन्धको प्रस्ताव राख्छिन्, तर यमले त्यसलाई अस्वीकार गर्छन् । यसलाई नातासम्बन्ध, मर्यादा र आचरणको प्राचीन वैदिक विमर्शका रूपमा अध्ययन गरिन्छ ।

ऋग्वेदको दशौँ मण्डलको दशौँ सूक्तमा रहेको यम–यमी संवादलाई आधुनिक वैदिक अध्येताहरूले पनि विशेष महत्त्वका साथ अध्ययन गरेका छन् । जर्मन वैदिकविद् माइकल विट्जेलले वैदिक साहित्यको ऐतिहासिक तह र त्यसको अध्ययनमा भाषा, पाठ तथा ऐतिहासिक सन्दर्भको महत्त्व औँल्याएका छन् । यसैगरी, एच. डब्ल्यु. बोडेविट्जले सन् २००९ मा प्रकाशित आफ्नो अनुसन्धानमा यम–यमी संवादको विस्तृत व्याख्या गरेका छन् ।

उक्त संवादमा यमीले वंश निरन्तरताका लागि आफ्ना जुम्ल्याहा दाजु यमसँग सम्बन्धको प्रस्ताव राखे पनि यमले त्यसलाई अस्वीकार गरेका छन् । यसले प्राचीन वैदिक आख्यानमा नातासम्बन्ध, नैतिक मर्यादा र सामाजिक निषेधबारे गहिरो विमर्श रहेको देखाउँछ । तर, यस संवादलाई आज प्रचलित भाइटीका पर्वको प्रत्यक्ष उत्पत्ति वा प्रमाण मान्न सकिँदैन । यसलाई दाजुभाइ–दिदीबहिनीको सम्बन्धसम्बन्धी वैदिक सांस्कृतिक पृष्ठभूमिका रूपमा बुझ्नु बढी तथ्यसम्मत हुन्छ ।

यहाँ एउटा तथ्यगत भिन्नता बुझ्नु आवश्यक छ । ऋग्वेदमा आजको स्वरूपको भाइटीका, सप्तरङ्गी टीका वा दिदीबहिनीको घरमा गएर भोजन गर्ने विधिको प्रत्यक्ष वर्णन छैन । त्यसैले भाइटीका ऋग्वेदकालदेखि अहिलेको यही स्वरूपमा मनाइँदै आएको थियो भन्न मिल्दैन । तथापि यम–यमीको संवादले भाइटीकासँग जोडिएको पौराणिक परम्पराको प्राचीन सांस्कृतिक पृष्ठभूमि बुझ्न सहयोग गर्छ ।

यमद्वितीयाको पौराणिक आख्यान
भाइटीकाको उत्पत्तिसँग जोडिएको प्रचलित पौराणिक कथा यमराज र यमुनाको हो । स्कन्द पुराणको वैष्णव खण्डअन्तर्गत कार्तिकमास माहात्म्यमा वर्णित आख्यानअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई पटकपटक घरमा आउन निमन्त्रणा गरेकी थिइन् । तर, मृत्युका देवता यमराज आफ्नो जिम्मेवारीका कारण बहिनीको निमन्त्रणा स्वीकार गर्न सकेका थिएनन् ।

अन्ततः कार्तिक शुक्ल द्वितीयाका दिन यमराज बहिनी यमुनाको घर पुगे । यमुनाले दाजुको स्वागत, सत्कार र भोजन गराइन् । बहिनीको आतिथ्यबाट प्रसन्न यमराजले वरदान माग्न आग्रह गरे । यमुनाले हरेक वर्ष यही दिन दाजु आफ्नो घरमा आउनुपर्ने र यस दिन बहिनीको हातबाट भोजन गर्ने दाजुभाइको कल्याण हुनुपर्ने वरदान मागिन् । यमराजले पनि त्यसलाई स्वीकार गरे ।

यसरी कार्तिक शुक्ल द्वितीयालाई यमद्वितीया भनिएको धार्मिक मान्यता छ । यही आख्यानसँग दाजुभाइको दीर्घायु, सुरक्षा र दिदीबहिनीको सम्मान गर्ने परम्परा जोडिएको छ । यस कथाको मूल सन्देश मृत्युको भयबाट मुक्ति पाउनु मात्र होइन । जीवनका अनेक जिम्मेवारीबीच पनि पारिवारिक सम्बन्धलाई समय दिनुपर्छ, दिदीबहिनीको आत्मीयता स्वीकार गर्नुपर्छ र सम्बन्धलाई व्यवहारबाट जीवन्त राख्नुपर्छ भन्ने हो ।

सप्तरङ्गी टीका : प्रकृतिको विविधता र सांस्कृतिक प्रतीक
भाइटीकाको सबैभन्दा आकर्षक पक्ष सप्तरङ्गी टीका हो । रातो, पहेँलो, सेतो, हरियो, नीलो, सुन्तला र बैजनी रङले सजिएको टीकालाई शुभता, समृद्धि, शान्ति, शक्ति र दीर्घायुको प्रतीक मानिन्छ । केही धर्मशास्त्रीय व्याख्यामा पाँच रङको टीकाको परम्परा पनि पाइन्छ । त्यसैले सात रङ नै प्राचीन शास्त्रले अनिवार्य गरेको थियो भन्ने निष्कर्ष निकाल्नु उचित हुँदैन ।

विज्ञानको दृष्टिले सेतो प्रकाशमा विभिन्न तरङ्गदैधर््यका प्रकाश समावेश हुन्छन् । प्रिज्मबाट प्रकाश पार गर्दा विभिन्न रङमा विभाजन भएको देख्न सकिन्छ । इन्द्रेणीमा देखिने रङलाई सात समूहमा वर्गीकरण गर्ने प्रचलन पनि यही प्रकाश विज्ञानसँग सम्बन्धित छ ।

तर, निधारमा सात रङको टीका लगाउँदा विशेष जैविक शक्ति उत्पन्न हुन्छ, शरीरका चक्र सक्रिय हुन्छन् वा आयु बढ्छ भन्ने स्थापित वैज्ञानिक प्रमाण नभए पनि स्थापित मान्यता चाहिँ अवश्य हो । टीकाको वास्तविक सांस्कृतिक महत्त्व यसले व्यक्त गर्ने शुभकामना, आत्मीयता र सम्मानमा निहित छ । रङले मानिसको भावनामा प्रभाव पार्न सक्ने भए पनि त्यो प्रभाव व्यक्तिअनुसार फरक हुन सक्छ ।

फूल, दुबो र ओखर : प्रकृतिसँग जोडिएको संस्कार
भाइटीकामा प्रयोग हुने मखमली फूल, दुबो, ओखर र अन्य प्राकृतिक सामग्रीले प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई पनि अभिव्यक्त गर्छन् ।

मखमली फूलः मखमली फूल लामो समयसम्म आफ्नो स्वरूप र रङ कायम राख्न सक्ने भएकाले सम्बन्धको स्थायित्व र दीर्घायुको प्रतीक मानिन्छ। नेपाली परम्परामा मखमली भनिने फूल प्रायः Gomphrena globosa प्रजातिको हुन्छ । यसलाई अङ्ग्रेजीमा ‘ग्लोब एमरान्थ’ (Globe Amaranth) भनिन्छ । यसको फूलका रङ्गिन भागहरू टिकाउ हुने भएकाले सुक्खा फूलको सजावटमा समेत प्रयोग गरिन्छ । यसको वनस्पतिशास्त्रीय विवरण फ्लोरिडा विश्वविद्यालयको कृषि तथा वातावरण विज्ञान विभाग र केउको वनस्पति अभिलेखमा पाइन्छ ।

दुबोः त्यस्तै दुबोको वैज्ञानिक नाम Cynodon dactylon हो । यो फैलने र प्रतिकूल अवस्थामा पनि पुनः वृद्धि गर्न सक्ने बहुवर्षीय घाँस हो । यसको जराको फैलावटले माटो समात्न र भूक्षय कम गर्न सहयोग पुर्याउँछ । प्रकृतिमा यसको पुनः वृद्धि गर्ने क्षमतालाई धार्मिक परम्परामा दीर्घायु र निरन्तरताको प्रतीक मानिएको छ । यसमा सांस्कृतिक प्रतीक र वनस्पतिको वास्तविक गुणबीच सुन्दर समानता देखिन्छ ।

ओखरः ओखर (Juglans regia) पोषण विज्ञानका दृष्टिले पनि महत्वपूर्ण खाद्य पदार्थ हो । यसमा वनस्पतिजन्य ओमेगा–३ फ्याटी एसिड, प्रोटिन, रेसा तथा विभिन्न खनिज पाइन्छन् । सन्तुलित आहारको हिस्सा हुँदा यसले मुटुको स्वास्थ्यमा सहयोग पुर्याउन सक्छ । तर, भाइटीकामा ओखर फुटाउने धार्मिक विधिले कुनै विशेष रोग निको पार्छ वा नकारात्मक शक्ति नष्ट गर्छ भन्ने वैज्ञानिक प्रमाण छैन । यसको अर्थ सांस्कृतिक रूपमा बाधा निवारण र सुरक्षाको प्रतीकका रूपमा यसलाई ग्रहण गरिएको छ ।

दियो र तेलको घेराः दियो प्रकाश र चेतनाको प्रतीक हो । तेलको घेरा धार्मिक विश्वासमा सुरक्षा र अमङ्गलबाट बचाउने विधि हो । यी सामग्रीलाई विज्ञानले जस्ताको तस्तै धार्मिक दाबीका रूपमा पुष्टि नगरे पनि तिनले अभिव्यक्त गर्ने सुरक्षा, उज्यालो, जीवन र संरक्षणका मानवीय आकांक्षा बुझ्न सकिन्छ ।

भाइटीका र मनोविज्ञान : सम्बन्धले स्वास्थ्यमा पार्ने प्रभाव
भाइटीकाको सबैभन्दा महत्त्वपूर्ण वैज्ञानिक आधार यसको सामाजिक र मनोवैज्ञानिक पक्ष हो । मानिसलाई शारीरिक स्वास्थ्यसँगै भावनात्मक सुरक्षा, सामाजिक अपनत्व र आत्मीय सम्बन्ध पनि आवश्यक हुन्छन् । परिवारसँगको सम्पर्क, सुखदुःख साटासाट, सम्मान र सहयोगले मानिसको मानसिक सुस्वास्थ्यमा भूमिका खेल्छन् ।

सन् २०१० मा ‘प्लोस मेडिसिन’ (PLOS MedicinePLOS Medicine) मा प्रकाशित जुलियन होल्ट–लुनस्टाड, टिमोथी बी. स्मिथ र जे. ब्राडली लेटनको अनुसन्धान यस सन्दर्भमा उल्लेखनीय छ । १४८ वटा अध्ययन र ३ लाख ८ हजार ८४९ सहभागीलाई समेटिएको उक्त मेटा–विश्लेषणले बलियो सामाजिक सम्बन्ध भएका व्यक्तिमा कमजोर सामाजिक सम्बन्ध भएका व्यक्तिको तुलनामा बाँच्ने सम्भावनाको अनुपात ५० प्रतिशत बढी देखाएको थियो । यसको अर्थ भाइटीकाको टीकाले आयु बढाउँछ भन्ने होइन । बरु मानिसको जीवनमा सामाजिक सम्बन्ध र स्वास्थ्यबीच महत्वपूर्ण सम्बन्ध रहेको देखाउने वैज्ञानिक आधार हो ।

त्यस्तै सन् २०२३ मा ‘नेचर ह्युमन बिहेभियर’ (Nature Human Behaviour) मा प्रकाशित ९० वटा दीर्घकालीन अध्ययन र २२ लाखभन्दा बढी व्यक्तिलाई समेटेको मेटा–विश्लेषणले सामाजिक एक्लोपन र एकाकीपनको मृत्यु जोखिमसँग सम्बन्ध रहेको देखाएको छ । यसले पारिवारिक तथा सामाजिक सम्बन्धलाई जीवनको गुणस्तरसँग जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याउँछ ।

भाइटीकाको दिन वर्षौँपछि दाजुभाइ–दिदीबहिनी भेटिनु, एकअर्काको अवस्था बुझ्नु, पुराना सम्झना साट्नु र भविष्यका लागि शुभकामना दिनु मनोवैज्ञानिक रूपमा अर्थपूर्ण हुन्छ । यसले अपनत्व, भावनात्मक सुरक्षा र सामाजिक एकताको अनुभूति गराउन सक्छ ।

सन् २०११ मा ‘जर्नल अफ फेमिली साइकोलोजी’ (Journal of Family Psychology) मा प्रकाशित कार्ला क्रेस्पो लगायतका अनुसन्धानकर्ताको न्युजिल्यान्डका ७१३ अभिभावक–किशोर जोडीमा आधारित अध्ययनले पारिवारिक संस्कार, पारिवारिक एकता र किशोरकिशोरीको मनोसामाजिक कल्याणबीच सम्बन्ध रहेको देखाएको थियो । यसले नियमित पारिवारिक संस्कारले परिवारको पहिचान र सम्बन्ध कायम राख्न सहयोग पुर्याउन सक्ने आधार प्रस्तुत गर्छ ।

नेपाली मौलिकता : किजापूजा र रानीपोखरीको सन्देश
भाइटीकाको नेपाली सांस्कृतिक विशेषता नेवार समुदायको ‘किजापूजा’ मा पनि देखिन्छ । कार्तिक शुक्ल द्वितीयाका दिन गरिने किजापूजामा मण्डल बनाएर दाजुभाइलाई विशेष विधिपूर्वक पूजा गरिन्छ । यसले नेपाली समाजको धार्मिक विविधता र सांस्कृतिक मौलिकता अभिव्यक्त गर्छ ।

काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर भाइटीकासँग जोडिएको विशिष्ट धार्मिक तथा सांस्कृतिक स्थल हो । वर्षभरि बन्द रहने यो मन्दिर भाइटीकाका दिन सर्वसाधारणका लागि खोल्ने चलन छ । विशेषगरी दाजुभाइ वा दिदीबहिनी नहुने व्यक्तिहरू त्यहाँ पुगेर पूजा, दर्शन र टीका ग्रहण गर्छन् ।

रानीपोखरीको निर्माण प्रताप मल्लको शासनकालमा भएको ऐतिहासिक आधार भए पनि भाइटीकाका दिन मन्दिर खोलेर टीका लगाउने परम्परा कहिलेदेखि सुरु भयो भन्ने स्पष्ट अभिलेखीय प्रमाण भेटिएको छैन । संस्कृतिविद्हरूले पनि यसको सुरुवाती समय निश्चित गर्न सकेका छैनन् । वि.सं. २०३५ पछि भने मन्दिर भाइटीकाका दिन नियमित रूपमा खोल्न थालिएको विवरण पाइन्छ । यस परम्पराले दाजुभाइ वा दिदीबहिनी नभएका व्यक्तिहरूलाई पनि पारिवारिक आत्मीयता र सामाजिक अपनत्वको अनुभूति गराउने सांस्कृतिक अर्थ बोकेको छ । किजापूजा र बालगोपालेश्वरको परम्पराले भाइटीकालाई पारिवारिक घेराभन्दा बाहिर सामाजिक अपनत्व र समावेशितासँग जोड्ने अवसर प्रदान गर्छन् ।

परम्पराको मर्म र आधुनिक समाजको दायित्व
कुनै समय नेपाली गाउँघरका आँगनमा भाइटीका केवल एउटा धार्मिक विधि थिएन, त्यो परिवार र समाजको सामूहिक उत्सव हुन्थ्यो । दिदीबहिनीहरू भाइटीकाको तयारीमा जुट्थे । घरआँगन लिपपोत हुन्थ्यो, मखमली र सयपत्रीका माला गाँसिन्थे, सेलरोटी र विभिन्न परिकारको सुगन्ध फैलिन्थ्यो । दाजुभाइ आउने बाटो हेर्दै दिदीबहिनीको मनमा उत्साह र प्रतीक्षा हुन्थ्यो । तिहारमा गाउँका घरघरमा देउसी–भैलोको आवाज गुञ्जिन्थ्यो । आँगनमा भेला भएर गीत गाउने, रमाउने र एकअर्काको घरमा पुग्ने परम्पराले गाउँलाई एउटा ठूलो परिवार बनाएको हुन्थ्यो ।

समय परिवर्तनसँगै नेपाली समाजको पारिवारिक संरचना पनि बदलिएको छ । गाउँका कतिपय घरका आँगन सुनसान छन् । पहिले देउसी–भैलो गराउने घरमा अहिले सुनिने आवाज कम हुँदै गएको छ । दाजुभाइ रोजगारीका लागि विदेशमा छन्, दिदीबहिनी पनि अध्ययन, पेसा र परिवारका कारण फरकफरक ठाउँमा पुगेका छन् । कतिपय घरमा बुढा आमाबुबा मात्र छन् । कुनै घरमा दिदीबहिनीले भाइ आउने बाटो हेर्दाहेर्दै भाइको विदेश बसाइ लम्बिएको छ । कतै दाजुभाइले दिदीबहिनीलाई भेट्न चाहेर पनि समय, दूरी र आर्थिक अवस्थाका कारण पुग्न सकेका छैनन् ।

यसरी वैदेशिक रोजगारी, अध्ययन, बसाइँसराइ र सहरीकरणका कारण दाजुभाइ–दिदीबहिनी एउटै घरमा बस्ने अवस्था कम हुँदै गएको छ । कतिपय परिवारमा दुवै पक्ष संसारका फरकफरक भूगोलमा छन् । यसले पर्व मनाउने तरिका परिवर्तन गरे पनि सम्बन्धको महत्व घटाएको छैन । प्रविधिले भिडियो कलमार्फत निधारको टीका देखाउन सम्भव बनाएको छ, तर आमनेसामने बसेर टीका लगाउँदाको स्पर्श, दिदीबहिनीको हातको स्नेह र सँगै बसेर भोजन गर्दाको आत्मीयता प्रविधिले पूर्ण रूपमा प्रतिस्थापन गर्न सकेको छैन ।

यो परिवर्तनलाई केवल विदेसिने युवाको सङ्ख्या बढेको तथ्याङ्कका रूपमा मात्र बुझ्नु हुँदैन । यसले नेपाली परिवारको संरचना, गाउँको सामाजिक जीवन र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कारमा परेको प्रभावलाई पनि देखाउँछ ।

अझ संवेदनशील पक्ष त के छ भने विदेशमा रहेका दाजुभाइका लागि गाउँमा रहेका दिदीबहिनीको प्रतीक्षा र नेपालमा रहेका दाजुभाइका लागि विदेशमा रहेका दिदीबहिनीको सम्झना दुवै उत्तिकै पीडादायी हुन सक्छन् । कतिपय दाजुभाइ–दिदीबहिनीका सम्बन्ध भौगोलिक दूरीले मात्र होइन, पारिवारिक विवाद, सम्पत्तिको असमानता, मनमुटाव र संवादहीनताले पनि टाढिएका छन् । एउटै गाउँमा घर भएर पनि वर्षौँसम्म भेटघाट नगर्ने अवस्था पनि छ ।

तर, आधुनिक समाजमा भाइटीकाको मूल मर्मलाई अझ गहिरो रूपमा बुझ्न आवश्यक छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्नु र दाजुभाइले दिदीबहिनीको सम्मान गर्नु मात्र पर्याप्त हुँदैन । उनीहरूको समान अधिकार, सम्पत्तिमा न्यायोचित हिस्सा, शिक्षा, स्वतन्त्रता, आत्मनिर्भरता र पारिवारिक निर्णयमा सहभागितालाई व्यवहारमै सम्मान गर्नुपर्छ ।

दाजुभाइले दिदीबहिनीमाथि संरक्षणको अधिकार मात्र होइन, उनीहरूको स्वतन्त्रता र सम्मानको रक्षा गर्ने दायित्व पनि बुझ्नुपर्छ । त्यसैगरी दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धलाई आर्थिक उपहार वा सामाजिक प्रतिस्पर्धाको विषय बनाउनु हुँदैन । उपहारको मूल्यभन्दा सम्बन्धको मूल्य ठूलो हुन्छ ।

भाइटीकालाई महँगा उपहार, प्रदर्शन र खर्चको प्रतिस्पर्धामा सीमित गरियो भने यसको वास्तविक सांस्कृतिक महत्त्व ओझेलमा पर्न सक्छ । परिवारका ज्येष्ठ नागरिकको हेरचाह, एक्लिएका सदस्यको साथ, वैदेशिक रोजगारीले टाढिएका परिवारको सम्पर्क र अप्ठ्यारोमा परेका दाजुभाइ–दिदीबहिनीलाई सहयोग गर्नु नै यस संस्कारको व्यावहारिक विस्तार हो । यसरी हेर्दा भाइटीका एउटा धार्मिक विधि मात्र नभई परिवारका सदस्यलाई भावनात्मक रूपमा जोड्ने सामाजिक अभ्यास पनि हो ।

निष्कर्ष : निधारको टीका एक दिनको, सम्बन्ध जीवनभरको
भाइटीकाको अध्ययन गर्दा यसका तीनवटा तह स्पष्ट देखिन्छन् । पहिलो, वैदिक साहित्यमा पाइने प्राचीन नातासम्बन्ध र मर्यादाको विमर्श; दोस्रो, यम–यमुनाको पौराणिक आख्यान र यमद्वितीयाको धार्मिक परम्परा; र तेस्रो, नेपाली समाजले विकास गरेको सांस्कृतिक अभ्यास तथा त्यसमा निहित सामाजिक र मानवीय मूल्य ।

विज्ञानले भाइटीकाका सबै धार्मिक विश्वासलाई प्रमाणित गर्दैन । तर, यस पर्वले प्रोत्साहित गर्ने सामाजिक सम्बन्ध, भावनात्मक सहयोग, पारिवारिक एकता र अपनत्वको महत्त्वलाई आधुनिक मनोविज्ञान र जनस्वास्थ्य अनुसन्धानले समर्थन गर्ने आधार प्रस्तुत गर्छ । त्यसैले परम्परालाई अन्धविश्वासको दृष्टिले खारेज गर्नु वा प्रत्येक धार्मिक विधिलाई वैज्ञानिक प्रमाणित भएको दाबी गर्नु दुवै उचित हुँदैन । संस्कृतिको सम्मान गर्दै तथ्यको परीक्षण गर्नु नै विवेकपूर्ण दृष्टिकोण हो ।

वास्तवमा भाइटीकाको सबैभन्दा सुन्दर पक्ष दाजुभाइको निधारमा लगाइने सात रङको टीका होइन, त्यसले अभिव्यक्त गर्ने जीवनभरको आत्मीयता हो । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दा दाजुभाइले पनि दिदीबहिनीको सम्मान, समानता, स्वतन्त्रता र सुरक्षाको दायित्व आत्मसात् गर्न सक्नुपर्छ । धार्मिक विधि एक दिनको हुन सक्छ, फूल र टीका केही दिनमै ओइलाउन सक्छन्, तर त्यसले जगाउने सम्बन्ध र जिम्मेवारी जीवनभर कायम रहनुपर्छ ।

गाउँका आँगनमा फेरि देउसी–भैलोको आवाज गुञ्जियोस्, दिदीबहिनीले भाइ आउने बाटो हेर्दा निराश हुन नपरोस् र दाजुभाइले पनि दिदीबहिनीको घरलाई आफ्नो आत्मीयताको घर सम्झिरहून् । भाइटीकाको वास्तविक सफलता यही सम्बन्धलाई जीवन्त राख्न सक्नुमा छ । किनकि भाइटीकाको वास्तविक मर्म निधारमा रङ लगाउनु मात्र होइन, सम्बन्धमा सम्मान, व्यवहारमा सहयोग र जीवनमा आत्मीयता कायम राख्नु हो । चाड उही रहोस्, परम्परा पनि जीवित रहोस्, तर गाउँका आँगन रित्तिन नदिऊँ । निधारको टीका एक दिनको हो, सम्बन्ध जीवनभरको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  १० : ३९ बजे

ट्रम्पको बीबीसीविरुद्धको पाँच अर्ब डलरको मानहानि मुद्दा अघि बढ्ने

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध दायर गरेको

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

बाँके– कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती

भाइटीका : सनातन संस्कार, विज्ञान र सम्बन्धको जीवनदर्शन

निधारमा सप्तरङ्गी टीका, गलामा दोहोरो छड्के सयपत्रीको माला र शिरमा

तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत

प्रधानमन्त्रीबाट भाइटीकाको शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास,