तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत « Khabarhub

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा अचानक एउटा खबरले सन्नाटा चिर्दै इलाका प्रहरी कार्यालय बेलचौतारालाई हल्लाइदियो दुई जना पुरुष मृत अवस्थामा भेटिए ।

खबर दिने व्यक्ति थिए, निर्माणाधीन फोहरमैला प्रशोधन केन्द्रका एक कर्मचारी । दैनिक काममा लागेका ती कर्मचारीले कम्पाउण्ड बाहिर दुई पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जब प्रहरी घटनास्थल पुग्यो, दृश्य सामान्य थिएन । दुवै पुरुष धारिलो हतियारबाट निर्ममतापूर्वक प्रहार गरिएको अवस्थामा मृत भेटिएका थिए ।

प्रहरीले प्रारम्भिक सोधखोज गर्दा एउटा पीडादायी सत्य बाहिर आयो । मृतकमध्ये एक जना शुक्लागण्डकी नगरपालिकासँग सम्झौता गरेर फोहरमैला प्रशोधन केन्द्र सञ्चालन गरिरहेको ग्रिन रोड प्रालिका कर्मचारी शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय नारायण विक थिए । 

तीन महिनाअघि काम सुरु गरेका नारायण यो महिनादेखि प्रशोधन केन्द्रमै बसेर काम गर्दै आएका थिए । अर्का मृतक पुरुष भने पहिचानविहीन थिए । उनी प्रशोधन केन्द्र बाहिर टहरा बनाएर बस्दै आएका थिए । उनको नाम, ठेगाना कसैले भन्न सकेन । तर एउटा कुरा सबैलाई थाहा थियो । उनी एक जना महिला सँगसँगै बस्दै आएका थिए ।

जब दुई जनाको शव फेला पर्‍र्यो र टहरामा बस्ने महिला एकाएक गायब भइन्, शङ्का गहिरिँदै गयो । प्रहरी र स्थानीयले आसपास खोजी थाले । खोजी जारी नै थियो, करिब दिउँसो १२ बजेको आसपास अर्को हृदयविदारक खबर आयो । ती महिला पनि मृत अवस्थामा भेटिइन् ।

दुई पुरुषको शव भेटिएको स्थानबाट झण्डै ७०० मिटर पर, जनकल्याण माध्यमिक विद्यालय पछाडि कसेरीघाटको जङ्गलभित्र महिलाको शव भेटियो । उनको पनि पहिचान खुल्न सकेको छैन । पहिचान नखुलेका ती महिला र पुरुष दुवै टहरामै बस्दै आएका थिए । बजार क्षेत्रबाट सङ्कलन गरिएको फोहरमैलाबाट कबाडी छान्ने काम गरेर जीवन गुजारा गर्दै आएका उनीहरू झण्डै एक वर्षदेखि त्यहीँ बस्दै आएको स्थानीयहरू बताउँछन् ।

शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले तीन जनाको शव बीभत्स अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार नारायण विकको पेट र टाउकामा गम्भीर चोट छ । पहिचान नखुलेका अर्का पुरुषको पेटमा यति गहिरो प्रहार गरिएको थियो कि आन्द्रा नै बाहिर निस्किएको अवस्था थियो । महिलाको शव भने घाँटी रेटिएको अवस्थामा फेला परेको थापाले बताए । 

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार हालसम्म दुई जनाको पहिचान खुल्न सकेको छैन । घटनाको प्रकृति अत्यन्तै शङ्कास्पद भएकाले जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्की स्वयं घटनास्थलमा खटिएका छन् । 

गण्डकी प्रदेशको प्राविधिक टोली, तालिम प्राप्त कुकुरसहित अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । रासस

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ३ : ४६ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र