काठमाडौं- राजधानीको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा स्थापना गरिएको हेल्थ डेस्कमा १२ सयभन्दा बढी नेता तथा कार्यकर्ताले स्वास्थ्य परीक्षण गराएका छन् ।
विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आएका नेता तथा कार्यकर्तामा उच्च रक्तचाप (प्रेसर), मधुमेह (सुगर), चिसो तथा छालाको एलर्जी, घाँटी, हाडजोर्नी, घुँडाको दुखाइ, ग्याष्ट्रिकलगायतका समस्या देखिएको स्वास्थ्य शिविर उपसमिति संयोजक एवं उपचारमा संलग्न चिकित्सक डा. अनिता प्रधानले जानकारी दिइन् ।
उनका अनुसार प्रेसर र सुगरसँगै घुँडा दुख्ने समस्या लिएर आउने बिरामीको सङ्ख्या उल्लेख्य छ । यस्तो समस्या ३०–३५ वर्षदेखि ६०–७० वर्ष उमेर समूहका व्यक्तिमा बढी देखिएको उनले बताइन् । डा. प्रधानका अनुसार अन्दाजी ३०–३५ वर्षका एक युवक अचानक बेहोस भएर ढलेपछि सामान्य उपचार पश्चात अस्पताल रेफर गरिएको छ ।
ती युवकको रक्तचाप अत्यन्तै कम रहेको र अन्य समस्या के रहेको भन्ने विषयमा विस्तृत परीक्षणपछि मात्रै थाहा हुने उनले बताइन् । स्वास्थ्य शिविरमा डा. रामजी घिमिरेको संयोजकत्वमा चिकित्सक, नर्स र पारामेडिक्ससहित ५० जनाभन्दा बढीको टोली खटिएको छ, जसमा २६ जना चिकित्सक रहेका छन् ।
शिविरमा जीवनजल, सिटामोल, सञ्चो जस्ता सामान्य औषधिदेखि प्रेसर, सुगर, थाइराइड, दमलगायत दीर्घरोगीहरूले प्रयोग गर्ने अत्यावश्यक औषधिहरूको व्यवस्था गरिएको छ । अल्का अस्पताल र दि स्किन अस्पतालको संयुक्त आयोजनामा सञ्चालन भइरहेको यस स्वास्थ्य शिविरमा नेपाल स्वास्थ्यकर्मी संघ, प्रजातान्त्रिक चिकित्सक संघ, लोकतान्त्रिक फार्मेसी संघलगायत विभिन्न संघसंस्थाले औषधि तथा स्वास्थ्य उपकरण सहयोग गरेका छन् ।
जथाभावी औषधि वितरण
महाधिवेशनमा सहभागी एक वयस्कले ‘मलाई माथिल्लो पेट दुख्ने, ढ्याउ आउने समस्या भइरहेको छ औषधी दिनुस् न’ भन्दा चिकित्सकको प्रेस्किप्सन बिनै फर्मासिस्टले २ वटा औषधी निकालेर दिए । त्यस्तै, अर्का एक जनाले खोकी लाग्ने घाँटी खसखस हुने समस्या भइरहेको सुनाए, उनलाई पनि त्यसैगरी खोकीको औषधि दिइयो ।
एलर्जी, रुघाखोकी, पेट दुख्ने लगायतका समस्या लिएर हेल्थडेस्कमा आएका धेरै बिरामीहरुलाई बिना चेकजाँच औषधी वितरण गरिएको पाइएको छ । तर स्वास्थ्य समन्वय समितिले भने सहभागीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर औषधी उपलब्ध गराएको दाबी गरेको छ । उपसमितिकी उपसंयोजक डा. प्रधानले चिकित्ससकको परामर्शबिना औषधी वितरण नभएको बताएकी छन् ।













प्रतिक्रिया