काठमाडौं- महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको नभइ जिउँदाहरुको पार्टी रहेको बताएका छन् । राजधानीको भृकुटीमण्डमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफ्नो पार्टीमा प्रश्न गर्न पाइने जिकिर गरेका छन् । प्रश्न गर्नेले नै उत्तर दिनसक्ने उनको भनाइ छ ।
उनले भनेका छन्, ‘यो कुनै बाको संगठन होइन यहाँ प्रश्नहरु छन्, त्यो गर्न पाइन्छ । जसले प्रश्न गर्न खोज्दैन त्यसले उत्तर पनि गर्न सक्दैन ।’
प्रश्नहरूले नै कांग्रेसलाई जिउँदो राखेको उनको तर्क छ । जिउँदो कांग्रेसले बल्ल प्रश्नहरूको समाधान गर्न सक्ने उनले उल्लेख गरेका छन् ।
उनले सभापति शेरबहादुर देउवाले गरेको संघर्षलाई पार्टीले सधैँ सम्झिरहने पनि बताए । यद्यपि सभापति देउवाले आफ्नो वाचा पूरा नगरेको उनको तर्क छ । ‘मङ्सिरभित्र महाधिवेशन गर्नुस् भन्दा कार्यवाहक दिएर सबै कुरा छाडेर गएँ भन्नुभएको होइन खै त ?’ उनले प्रश्न गरे ।
उनले सभापति र प्रधानमन्त्री बन्ने विषयले आफूलाई नलोभ्याएको पनि उल्लेख गरेका छन् । ‘म पार्टी एकीकरण गर्नुपर्छ भन्ने अभियानको सिपाही हो । आज नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई सम्झनुपर्छ । नेपाली कांग्रेस स्थापना भएको बेलामा कसैले चुनाव लडौँला मन्त्री बनौँला, प्रधानमन्त्री बनौँला, सभापति हुँला भनेको थिएन ।’ उनले भने, ‘त्यस्तै, मैले पनि आज एक ढिक्क हुनुपर्छ र जनताको जनभावना बुझ्नुपर्छ भनिरहेको छु ।’
उनले नेपाली कांग्रेस राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै समाजमा जे समस्या हुन्छ, त्यो समस्यालाई छाम्ने र चिन्ने पार्टी नै कांग्रेस भएको बताए ।













प्रतिक्रिया