ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्… « Khabarhub

बलात्कारपछि हत्या प्रकरण

ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्…



काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन् भने के हुन्छ ? यो सोच्दा मात्रै पनि मानिसको शरीरमा काँडा उम्रिन्छ ।

तर तिला विकर इन्द्रबहादुर विककी छोरी इनिसा फर्केर आइनन् । फागुन २३ गते शनिबार अर्थात् छुट्टीको दिन पनि इनिसा ट्यूसन पढ्न भनेर घरबाट निस्किएकी थिइन् ।

गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भएका तिला र इन्द्रबहादुर छोराछोरी पढाउनको लागि वीरेन्द्रनगर–१ मा बस्दै आएका थिए । इन्द्रबहादुर हाल दुबई सेनामा कार्यरत छन् ।

इनिसा वीरेन्द्रनगर–६ मा रहेको उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढ्थिन् । बिहान ८ बजे घर फर्किसक्ने भनेर निस्किएकी उनी सदाका लागि अस्ताइन् । इनिसा विज्ञान विषय लिएर पढिरहेकी थिइन् । उनी डाक्टर बन्न चाहन्थिन् ।

आमा तिलाले शनिबार गुर्भाकोट घर जाने हो भनेपनि उनी दुई घण्टामा पढेर फर्किने भन्दै बिहान ६ बजे घरबाट निस्किइन् । छोरी ९ बजेसम्म नआएपछि आमाले फोन गरिन् ।

तर छोरीको फोन ‘स्वीच अफ’ थियो । त्यसपछि उनले स्कुलमा फोन गरिन् , त्यहाँ पनि उठेन । छोरीलाई कम्प्युटर पढाउने सरलाई फोन गरिन् । तर माधव सरको फोन पनि अफ थियो ।

छोरी आएपछि गुर्भाकोट जान तयार भएर बसेकी आमाको मन अत्तालिन थाल्यो । घरिघरि उनलाई छोरीमाथि झनक्क रिस उठ्न थाल्यो । ‘फोन चार्ज गरेर हिँड्नुपर्छ । बीच बाटोमै अफ हुने गरी हिँड्नु हुँदैनथ्यो’ भन्ने पनि लाग्यो ।

तर, केही समयपछि उनलाई नयाँ नम्बरबाट फोन आयो । फोनमा इनिसा शहीद पार्कको जंगलमा बेहोस अवस्थामा भएको खबर आयो । उनी सानो छोरा च्यापेर हतारिँदै पार्क पुगिन् ।

पार्कमा छोरीको अवस्था उनले सोच्नै नसक्ने थियो । कमजोर भएर बेहोस् भइ होली भनेकी छोरीको अवस्थाले ठूलो घटनाको संकेत गरेको थियो ।

पार्कको खोल्सातिर पल्टेकी अवस्थामा भेटिएकी छोरीको शरीरमा कपडा थिएन । एउटा ज्याकेटले छोपिएको थियो । जब प्रहरीले ज्याकेट हटाउँदै छोरीको अनुहार देखायो । उक्त दृश्य एक आमाको लागि सह्य थिएन । आमा थर्रर काँप्न थालिन् ।

शरीर रक्ताम्मे र कपाल लुछिएको थियो । उनको वरपरका पुरै घाँस मडारिएको थियो । खुट्टामा एउटामा जुत्ता र अर्कोमा मोजा मात्रै थियो ।आमा त्यहीँ बेहोस भइन् ।

इनिसा वीरेन्द्रनगर–४ शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पुर्‍याएको थियो । तर डाक्टरले मृत घोषणा गरे ।

छोरीको मृत्युको खबरले विक्षिप्त बुवा इन्द्रबहादुर घर फर्किने अवस्थामा छैनन् । मध्यपूर्व क्षेत्रमा भएको लडाइँले दुबईको एयरपोर्ट बन्द छ । उडान अनिश्चित भएको छ । उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् ।

इनिसाको बलात्कारपछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस घटनामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

अनुसन्धान के भइरहेको छ ?

प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता मोहनजंग बुढथापाले अभियुक्तहरु मृतकको क्लासमेट भएको बताएका छन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘एक जनाबाहेक अरु तीनै जना एक कक्षाका साथी हुन् । उक्त दिन ट्यूसन नभएको तर घरमा बहाना बनाएर निस्किएको देखिन्छ । चार जना व्यक्ति नियन्त्रणमा लिएर कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दामा अनुसन्धान अगाडी बढिरहेको छ ।’

‘पोस्टमार्टमको रिपोर्ट नआइसकेको कारणले घटनाको बारेमा यकिन बोल्न मिल्दैन । घटनास्थलमा शारीरिक सम्बन्ध भएको देखिन्छ । बालिकाको अत्यधिक रक्तश्राव भएको छ ।

जबर्जस्ती भएको देखिन्छ’ बुढथापा थप्छन्, ‘तर रिपोर्ट आइसकेको छैन अभियुक्तहरु बालक नै देखिन्छन् । अहिले उनीहरु हिरासतमा छन् ।’ अन्य परीक्षण जस्तै सबुत संकलन, प्राविधिक विश्लेषण गर्ने काममा प्रहरी खटिएको उनले बताए ।

‘प्रहरी नियन्त्रणमा रहेका चार जनामध्ये एक जनाले आफूलाई इनिसाको प्रेमी भएको बयान दिएको बताएका छन् । इनिसा बेहोस् भएपनि अस्पताल लैजान साथीहरुको सहयोग मागेको बयानमा भनेका छन्’ प्रवक्ता भन्छन्, ‘सामूहित बलात्कारको हकमा प्रहरीले भेरी अस्पतालबाटसमेत चिकित्सक बोलाएको छ । पोस्टमार्टम र बाँकी बलात्कार भएको हो वा होइन । प्रारम्भिक रिपोर्टमा अत्यधिक रक्तश्राव देखिएको छ । जात नमिलेको विषय पनि निस्किएको छ ।’

त्यस्तै, महिला पुनर्स्थापना केन्द्र (ओरेक) का कार्यकारी निर्देशक सुनिता मैनालीले इनिसा प्रकरण केवल एक व्यक्ति माथिको अपराध मात्रै नभएर दलित महिलाप्रति संरचनागत जातीय विभेद, ब्राम्हणवादी, पितृसत्तात्मक हिंसा र राज्यको कमजोर जवाफदेहिताको ज्वलन्त उदाहरण भएको बताएकी छिन् ।

न्यायको पहुँचप्रति राज्य अझै पनि संवेदनशील र उत्तरदायी बन्न नसक्दा दलित महिला तथा बालिकाहरू यस्ता क्रूर अपराधका सिकार बन्न बाध्य पारेको उनको भनाइ छ । नेपाल प्रहरीको तथ्यांकअनुसार २०८०/८१ आर्थिक वर्षमा देशभर २,५०७ यौन हिंसा सम्बन्धी घटना दर्ता भएका छन् । त्यस्तै ५ वटा बलात्कारपछि हत्या भएका घटनाहरु दर्ता भएका छन् ।

दलित महिला संघ (फेडो नेपाल) को अध्ययन अनुसार कुल लैङ्गिक हिंसा प्रभावित मध्ये ११.५४ प्रतिशत दलित महिला र १९.४४ प्रतिशत दलित बालिकाहरू छन् । उक्त तथ्यांकअनुसार बलात्कारमा परेका दलित बालिका मध्ये लगभग ८० प्रतिशत घटनामा हत्या समेत भएको छ । यसर्थ जातीय विभेद र महिला हिंसा एकापसमा सम्बन्धित देखिन्छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ५ : ५१ बजे

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ– चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख भेटी

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर– उदयपुरका विभिन्न भागका एक हजार एकसय हेक्टर क्षेत्रफलमा चैतेधान

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको