विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द « Khabarhub

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको महासंग्राम विश्वकप बिहीबारदेखि सुरु हुँदैछ । यो प्रतियोगिताको आयोजकमध्येको एक अमेरिका र विश्वकपमा स्थान सुरक्षित गरेको इरान एक अर्काविरुद्ध युद्ध लडिरहेका छन् ।

संयोगवस इरानका समूह चरणका सबै खेल अमेरिकामा नै परेका छन् । युद्धमा होमिएको शत्रु देशका खेलाडीलाई अमेरिकाले कस्तो आतिथ्य देला भन्ने सर्वत्र चासो छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्चमा नै ‘इरान विश्वकपमा सहभागी हुन उपयुक्त नहुने’ टिप्पणी गरेका थिए । उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘इरान राष्ट्रिय फुटबल टोलीलाई विश्वकपमा स्वागत छ । तर, मलाई लाग्छ– उनीहरू आफ्नै जीवन र सुरक्षाका लागि त्यहाँ (विश्वकप) हुनु उचित छैन ।’

राज्य प्रमुख ट्रम्पकै यो अभिव्यक्तिले इरानी खेलाडीहरूमाथिको सुरक्षा चुनौती देखाउँछ । इरानी राष्ट्रिय टोलीले पनि यही बुझेको छ । यस टिमको आधिकारिक समाजिक सञ्जाल खाताबाट तत्काल ट्रम्पलाई जवाफ दिँदै लेखिएको थियो, ‘यसबाट बहिष्कृत हुन सक्ने एक मात्र देशले केवल आयोजकको उपाधि बोकेको छ तर यसमा भाग लिने टोलीहरूलाई सुरक्षा प्रदान गर्ने क्षमताको अभाव छ ।’

पहिला इरानाले अमेरिकामा नै खेलाडीहरूको ‘बेस क्याम्प’ बनाउने सोच बनाएको थियो । तर अमेरिकासँगको युद्ध चर्किएसँगै विश्वकपमा सहभागी हुने इरानी टोली अर्को आयोजक राष्ट्र मेक्सिको पुगेको छ ।

यो टोली खेल भएको दिन आफ्नै देशको विमान चढेर अमेरिका पुग्ने र सोही दिन मेक्सिको फर्किने तय भएको छ । अमेरिकाले प्रवेश गरेको दिन देश छाड्ने कडा सर्त लागू गरेर मात्रै खेलाडीलाई भिसा दिएको हो ।

सुरुवाती चरणमै विश्वकपमा छनोट भए पनि इरानका खेलाडीले गत शुक्रबार मात्रै भिसा पाएका हुन् । अर्थात्, केही दिन अघिसम्म पनि इरान विश्वकपमा सहभागी हुनेबारे ढुक्क थिएन । अन्यौलमै थियो । यद्यपि अमेरिकाले इरानको फुटबल महासंघ र आधिकारिक व्यक्तिहरूको समूहलाई नै भिसा दिन अस्वीकार गरेको छ । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार इरानका १४ जनालाई अमेरिकाले भिसा दिएको छैन, खेलाडीहरूलाई भने दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले पदाधिकारीको भिसा अस्वीकारबारे अन्तर्राष्ट्रिय मिडियालाई प्रतिक्रिया दिँदै, ‘झुटो बहानामा आतंकारीहरूलाई संयुक्त राज्य अमेरिकाभित्र छिराउन इरानी टोलीलाई यो प्रणालीको दुरुपयोग गर्न नदिने’ जनाएको छ ।

इरानी टोलीका सदस्यलाई भिसा दिन अमेरिका यतिसम्म निर्मम बनेको छ । पदाधिकारीको भिसा अस्वीकार हुँदा खेलाडीको अभ्यास र आवास लगायतका विषयमा पनि अन्यौलता पैदा भएको थियो ।

त्यसमाथि आफ्ना समर्थकहरूलाई छुट्याइएको टिकट कोटा अमेरिकाले रद्द गरको इरानले आरोप लगाएको छ । कूटनीतिक विवादलाई अमेरिकाले रंगशालामा प्रवेश गराएको इरानको दाबी छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै इरानी फुटबल महासंघले भनेको छ, ‘सन् २०२६ को विश्वकप सुरु हुन तीन दिनभन्दा कम समय बाँकी छँदा अमेरिकाले राष्ट्रिय टोलीको समूह चरणका तीनवटै खेल हुने रंगशालामा इरानी समर्थकहरूको उपस्थिति रोक्न पुनः अवरोध खडा गरेको छ ।’

कोटा पाएर टिकट वितरण भइसकेर केही समर्थकले खेल हेर्ने आवश्यक प्रक्रिया पूरा गरेको उसको दाबी छ । इरानी फुटबल महासंघका अनुसार फिफाको नियमबमोजिम प्रत्येक खेलका कुल टिकटमध्ये ८ प्रतिशत कोटा सहभागी टोलीका महासंघलाई उपलब्ध गराउनुपर्छ, जसलाई आधिकारिक च्यानलमार्फत समर्थकहरूलाई वितरण गरिन्छ ।

अहिले इरानलाई सुरक्षाबाहेक अर्को चुनौती पनि छ । अमेरिकामा रहेका इरानी प्रवासीहरू इरानको इस्लामिक सरकारविरुद्ध आक्रामक देखिएका छन् । खेलका दौरान वा खेलाडीको प्रवेश भएका बेला उनीहरूले तनाव सिर्जना गर्न इरानविरोधि प्रदर्शन गर्नेसक्ने अनुमान छ ।

युद्धका कारण ज्यानको जोखिम भएकाले इरानी खेलाडीले शान्त वातावरणमा अभ्यास गर्न पाएनन् । अमेरिकासँगको युद्धका कारण इरानले व्यापक भौतिक क्षति व्यहोरेको छ । आफ्नै देशमा नियमित अभ्यास गर्ने वातावरणसमेत नभएकाले इरानी टोलीले छिमेकी टर्कीमा अभ्यास गरेको थियो । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार इरानी टोलीले अभ्यास गर्ने मुख्य रंगशालामा पनि अमेरिकाले बम खसालेको छ ।

युद्धका कारण इरानले नियमित लिगहरू आयोजन गर्न पनि असमर्थ रह्यो । विश्वकप संघारमा भिसाको लफडा भयो । विश्वकपमा तत्कालीन राजनीतिक घटनाक्रम प्रतिबिम्ब हुँदै आएको छ । तर, इरान जसरी कूटनीतिक, सैन्य र भिसाको अन्योल जस्ता विषय एकै पटक सहेर विश्वकप खेल्ने सम्भवतः पहिलो टोली हो ।

कुरान छुएर मेक्सिको

इरानी खेलाडीहरूले विश्वकप यात्रामा मेक्सिको निस्कनुअघि ‘कुरान परम्परा’ लाई निरन्तरता दिएको विषय पनि चर्चामा छ ।

ट्रेनिङ क्याम्प छोडेर र बेस क्याम्पका लागि मेक्सिको उड्नुअघि विमानस्थलमा उनीहरू इस्लामिक संस्कारमा जोडिएको भिडियो भाइरल छ ।

विमान प्रवेश गर्नुअघि खेलाडीहरूको शीरमा ‘कुरान’ राखिएको भिडियोमा देख्न सकिन्छ ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ७ : ०९ बजे

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक

बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध थप सैन्य कारबाहीको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत – पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

फिफा विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने, ‘हेड टु हेड’मा को बलियो ?

काठमाडौं – फिफा विश्वकप फुटबल–२०२६ आज रातिबाट औपचारिक रूपमा सुरु