ट्रम्पले स्वीकारे : इरानको डरले खाना ओसार्ने क्याटरिङ ट्रक चढेर अर्को विमानमा सरेँ « Khabarhub

ट्रम्पले स्वीकारे : इरानको डरले खाना ओसार्ने क्याटरिङ ट्रक चढेर अर्को विमानमा सरेँ


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्किएमा इरानबाट सुरक्षा खतरा रहेकाले आफ्नो विमान परिवर्तन गर्नुपरेको स्वीकार गरेका छन्।

पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले आफू टर्कीमा आयोजित नेटो सम्मेलनमा सहभागी हुन गएको विमानमा आक्रमणको जोखिम सबैभन्दा बढी रहेको बताएका हुन्।

सुरक्षा निकायको सुझावअनुसार आफूलाई विमानस्थलमा सामान तथा खाना ओसार्ने क्याटरिङ ट्रकमा राखेर अर्को विमानसम्म लगिएको पनि उनले स्वीकारेका छन् ।

‘यदि कुनै आक्रमण भएको भए त्यही विमानलाई निशाना बनाइन्थ्यो। म सुरक्षा निकायले भनेअनुसार गर्छु। मलाई निरन्तर धम्की आइरहन्छ,’ ट्रम्पले भने।

कतारले दिएको विमानमा गए, सैन्य विमानबाट फर्किए

यसअघि ‘द वाशिङ्टन पोस्ट’ले ८ जुलाईमा अंकाराबाट प्रस्थान गर्दा ट्रम्प क्यामेराको अगाडि बोइङ ७४७ -८ ‘एयर फोर्स वन’ मा चढेको दाबी गरेको थियो। उक्त विमान कतारले अमेरिकालाई उपहार दिएको थियो।

तर विमानस्थलबाट ट्रम्पलाई सामान र खाना ओसार्ने क्याटरिङ ट्रकको माध्यमबाट गोप्य रूपमा अमेरिकी वायुसेनाको भीआईपी सैन्य विमान सी-३२ए मा लगिएको थियो।

यसक्रममा ट्रम्पसँगै यात्रा गर्ने पत्रकारहरूलाई समेत उनी कुन विमानमा छन् भन्ने जानकारी थिएन। पत्रकारहरूलाई ट्रम्प पुरानै ‘एयर फोर्स वन’ मा रहेको लागेको थियो।

उडानका क्रममा पत्रकारहरूलाई विमानका झ्यालका पर्दा बन्द गर्न निर्देशन दिइएको थियो। यस्तो सावधानी सामान्यतया विमान जोखिमयुक्त क्षेत्रबाट गुज्रिँदा अपनाइने गरिन्छ।

पछि पत्रकारहरूले झ्यालका पर्दा बन्द गर्न लगाउनुको कारण सोध्दा ट्रम्पले आफू खतरनाक उडानमा रहेको हुनसक्ने बताएका थिए।

‘सायद हामी खतरनाक उडानमा थियौँ। उनीहरूको सूचीमा मेरो नाम सबैभन्दा माथि छ। यदि म मरेँ भने तपाईंहरू पनि मर्नुहुन्छ,’ ट्रम्पले भने।

ट्रम्प सवार विमान पहिले बेलायत पुग्यो

ट्रम्पलाई बोकेको सी-३२ए विमान राति करिब १० : २० बजे बेलायतको आरएफ मिल्डेनहल एयरबेस पुगेको थियो। त्यसको केही मिनेटपछि पत्रकारहरू सवार पुरानो ‘एयर फोर्स वन’ पनि त्यहाँ पुगेको थियो।

त्यसपछि ट्रम्पलाई गोप्य रूपमा पुरानो ‘एयर फोर्स वन’ मा लगिएको थियो। केही समयपछि उनी त्यही विमानबाट बाहिर निस्किएको देखिएपछि पत्रकारहरूले ट्रम्पले सम्पूर्ण यात्रा त्यही विमानबाट गरेको ठानेका थिए।

यद्यपि सी-३२ए बाट ओर्लिएपछि ट्रम्प पुरानो ‘एयर फोर्स वन’ सम्म कसरी पुगे भन्ने स्पष्ट भएको छैन। उनले पत्रकारहरूतर्फ हात हल्लाए पनि कुराकानी गरेनन्। त्यसपछि उनी आधिकारिक विमान ‘एयर फोर्स वन’ बाट अमेरिका फर्किएका थिए।

यो तरिका नयाँ होइन

राष्ट्रपतिलाई सम्भावित हमलाबाट जोगाउन वास्तविक यात्राको विवरण गोप्य राख्ने यस्तो उपाय यसअघि पनि अपनाइएको थियो।

सन् २००० मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टन पाकिस्तान भ्रमणमा जाँदा राष्ट्रपतिको विमानको पहिचान नखुल्ने सरकारी विमान प्रयोग गरिएको थियो। वास्तविक ‘एयर फोर्स वन’ भने अर्कै मार्गबाट पठाइएको थियो।

अमेरिकी अधिकारीहरूका अनुसार इरानबाट विश्वसनीय सुरक्षा खतरा आएको सूचना पाएपछि केही घण्टामै यस्तो सुरक्षा योजना तयार पारिएको थियो। संयुक्त चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केन, रक्षामन्त्री पीट हेगसेथसहित सीमित अधिकारीहरू यस योजनामा संलग्न थिए।

कतारले दिएको विमानको सुरक्षामा प्रश्न

ट्रम्प टर्किए पुग्न प्रयोग गरेको बोइङ ७४७ -८ विमान कतारको शाही परिवारले गत वर्ष अमेरिकालाई दिएको थियो। अमेरिकी रक्षा कम्पनी एल३ह्यारिस टेक्नोलोजिज्ले उक्त विमानलाई राष्ट्रपतिको यात्राका लागि तयार पारेको हो।

ट्रम्पले पहिलोपटक जुलाई १ मा नर्थ डकोटाको यात्राका क्रममा यो विमान प्रयोग गरेका थिए। त्यसको केही दिनपछि उनी यही विमानबाट आफ्नो पहिलो विदेश भ्रमणका क्रममा टर्किए पुगेका थिए।

तर उक्त विमानको सुरक्षा व्यवस्थामाथि यसअघि नै प्रश्न उठ्दै आएका थिए। अमेरिकी सञ्चारमाध्यमका अनुसार पुरानो ‘एयर फोर्स वन’ मा राष्ट्रपतिलाई सम्भावित हमलाबाट जोगाउन विशेष सुरक्षा प्रणालीहरू छन्, जुन कतारबाट प्राप्त विमानमा नभएको वा फरक क्षमताको रहेको बताइएको छ।

सुरक्षामा कमी छैन

कतारबाट प्राप्त विमानको सुरक्षामाथि उठेको प्रश्नबारे ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभ चेउङले विमानमा ट्रम्प र उनीसँग रहेका व्यक्तिहरूको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको बताएका छन्।

उनका अनुसार अमेरिकाका धेरै शत्रुहरू ट्रम्पलाई निशाना बनाउन चाहन्छन्। त्यसैले राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक सबै उपाय अपनाइनेछ।

ह्वाइट हाउसले भने नयाँ विमानको सुरक्षा कमजोर रहेको स्वीकार गरेको छैन। आवश्यकताअनुसार ट्रम्पको सुरक्षाका लागि फरक -फरक उपाय अपनाउन सकिने उसको भनाइ छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १ : ०८ बजे

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग

लुम्बिनीमा सरकार बनाउन ओली-प्रचण्ड दुई बुँदे सहमति, मोहनविक्रम पनि मिसिए

काठमाडौं- लुम्बिनी प्रदेशमा सरकार बनाउन नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसँगै