धनकुटा– जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत कार्यालयहरूले विभिन्न मिति र स्थानहरूबाट बरामद गरेका लागूऔषधहरुलाई धनकुटा नगरपालिका–९ मूलघाटमा रहेको तमोर नदी किनारमा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरुको रोहवरमा लागुऔषध नष्ट गरेको हो ।
नष्ट गरिएका लागूऔषधमा एक हजार ५२१ किलो गाँजा र ट्रामाडोल, डाइसाइकोमाइन टाब्लेट एक हजार ८९७ ट्याब्लेट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।
प्रहरीले धनकुटाका विभिन्न स्थानबाट बरामद गरिएका लागूपदार्थ गैरकानुनी रुपमा सञ्चालित क्रियाकलापमा प्रयोग हुने भएकाले कानुनी प्रक्रियाअनुसार नष्ट गरेको जनाएको छ ।
यस्तै धनकुटा प्रहरीले गत असार २६ गते एक हजार दुई किलोग्राम ३०५ ग्राम गाँजा र विभिन्न ट्याब्लेट नष्ट गरेको थियो । प्रहरीले पछिल्लो समय जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित त्यसमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रम बढाएको छ ।












प्रतिक्रिया