काठमाडौं– अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतको योजना अनुसार बागमती प्रदेशमा एमाले संसदीय दलका नेताबाट जगन्नाथ थपलियालाई हटाउन बुधबार अविश्वासको प्रस्ताव दर्ता गरिएको छ।
प्रदेश सभा सदस्यहरू कृष्ण सिलवाल र ज्ञानबहादुर तामाङसहितले थपलियालाई नेताबाट हटाउन प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्तावका लागि तयार पारिएको पत्र दर्ता गराएका हुन्।
थपलियालाई हटाउन अध्यक्ष ओलीले बहुमत अर्थात् १४ जना सांसदलाई यसअघि नै गुन्डु बोलाएर हस्ताक्षर जुटाइसकेका थिए । सचिव महेश बस्नेतको योजनामा भक्तपुरका प्रदेश सभा सदस्य किरण थापालाई मुख्यमन्त्री बनाउने गरी थपलियाविरुद्ध अभियान थालिएको थियो।
त्यही अभियानलाई मूर्त रुप दिँदै थपलिया बुधबार वीर अस्पतालबाट डिस्चार्ज भएर चितवनस्थित घरतिर लाग्नेबित्तिकै अविश्वासको पत्र दर्ता गरिएको हो।
सिलवाल र तामाङसहितका प्रदेश सभा सदस्यले संसदीय दलको कार्यालयमा लगेर प्रस्ताव दर्ता गराएका हुन्। उनीहरूले उक्त प्रस्ताव लिएर जाँदा कार्यालयमा अन्य कर्मचारी नभएपछि कार्यालय सहयोगीलाई बुझाएर फर्किएका छन् ।
‘अविश्वास प्रस्तावको पत्र आएको छ। कार्यालय सहयोगीलाई बुझाएको हस्ताक्षर लिएर उहाँहरू जानु भएछ’, प्रदेश सभा दलको कार्यालयका एक कर्मचारीले भने ।
बागमती प्रदेश सभामा हाल कायम सदस्य संख्या १०४ छ । सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । नेकपाका २५ र एमालेका २५ सांसद छन् । दुवै दल मिल्दा ५० सांसद पुग्छन्, जुन बहुमतभन्दा तीन कम छ।
प्रदेश सभामा कांग्रेसका ३६, राप्रपाका १२, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।
एमाले–नेकपा गठबन्धनले राप्रपा वा अन्य साना दलमध्ये कुनै एकको समर्थन पाए बहुमत पुर्याउन सक्ने अवस्था छ । तर, राप्रपाको पछिल्लो निर्णयले बागमतीको सत्तासमीकरण थप जटिल बनेको छ ।
यस्तो अवस्थामा पनि एमालेले अध्यक्ष ओलीको इच्छा पूरा गर्न थपलियालाई हटाएर थापालाई दलको नेता हुँदै मुख्यमन्त्री बनाउँदैछ । थापाले ओलीका लागि गुन्डुमा बन्न लागेको कुटीमा पनि सचिव बस्नेतमार्फत् लगानीको विश्वास दिलाएपछि एमालेमा नेता फेर्ने अभियान थालिएको हो ।
थपलिया रोक्ने खेल
बागमतीका प्रदेशमा थपलियाको पक्षमा एमालेका १४ जना र राप्रपाकासमेत ७ जना सांसद उभिने परिस्थति बनिसकेपछि अघिल्लो सोमबार राति ७ बजे ओलीले बागमतीका सबै सांसदलाई गुन्डुमा बोलाएका थिए ।
सबैलाई खबर गरिए पनि थापाको पक्षमा हस्ताक्षर गर्ने १४ जनालाई एकजना पनि नछुट्न विशेष सर्कुलर नै गुन्डुले जारी गरेको थियो । भक्तपुरे सांसद थापाले यदि आफूलाई दलको नेता बनाए राप्रपाका १२ मध्ये ७ सांसद उभ्याउने दाबी गरेपछि ओली पनि उनैलाई अघि सार्ने गरी तयार भएका थिए।
जगन्नाथका लागि बहुमत जुटाउन न गुन्डुले कुनै पहल गर्यो न बागमती इन्चार्ज महेश नै सक्रिय भए । उल्टै महेशले किरण थापाको पक्षमा राप्रपा सांसदहरू पनि उभिएको सन्देश ओलीकहाँ पुर्याए ।
त्यसपछि सचिव बस्नेतसहितले यसअघि थापाको पक्षमा हस्तक्षर गर्ने सबै १४ सांसदलाई उपस्थित हुन कडा निर्देशन दिए ।
अघिल्लो बुधबार एमाले सचिव बस्नेतको नेतृत्वमा बागमती प्रदेशका सांसदहरूको भेला आयोजना गरिएको थियो। उक्त भेलामा किरण थापालाई संसदीय दलको नेता बनाउने उद्देश्यसहित १४ जना सांसदको हस्ताक्षर संकलन गरिएको थियो।
गुन्डुमा ती सबै १४ सांसद पुगेका थिए । जगन्नाथ पनि अध्यक्ष ओलीले बोलाएपछि पुगेका थिए । त्यहीँ भएको विवादका क्रममा थपलियालाई ढलेर साउन १९ देखि वीर अस्पताल भर्ना भए । उनी बधबार डिस्चार्ज भएपछि अविश्वास प्रस्ताव लगिएको हो।












प्रतिक्रिया