एमालेले स्वीकार्‍यो : जनताको बदलिएको मनोविज्ञान बुझ्न असफल भयौँ « Khabarhub

एमालेले स्वीकार्‍यो : जनताको बदलिएको मनोविज्ञान बुझ्न असफल भयौँ


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले गत फागुन २१ गतेको पछिल्लो निर्वाचनमा आफ्नो पराजयको एउटा प्रमुख कारण जनताको बदलिएको मनोविज्ञान बुझ्न नसक्नु रहेको निष्कर्ष निकालेको छ।

उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेल सम्मिलित एमाले निर्वाचन परिचालन समितिको समीक्षा प्रतिवेदनमा यसपटकको निर्वाचनमा आफूले जनतासँगको घनिष्ठ सम्बन्ध र संगठनात्मक बललाई पर्याप्त रूपमा निर्वाचन एजेन्डामा रूपान्तरण गर्न नसकेको उल्लेख छ। 

प्रतिवेदनअनुसार एमालेले विगतमा जनतामाझ प्रभावकारी रूपमा उठाउँदै आएका देशभक्ति, भौतिक विकास र सामाजिक सुरक्षाका विषयले यसपटक मतदातालाई पर्याप्त आकर्षित गर्न सकेनन्। 

यसको विपरीत विपक्षी दलहरूले जनताको पछिल्लो समयको मनोविज्ञान बुझेर सुशासन, भ्रष्टाचार नियन्त्रण, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख एजेन्डा बनाए।

एमालेले लामो समयदेखि आफूलाई जनताको रोजाइको बलियो पार्टीका रूपमा स्थापित गरे पनि छोटो समयमै पार्टीप्रतिको जनसमर्थन कमजोर हुनु गम्भीर चिन्ताको विषय भएको प्रतिवेदनमा उल्लेख छ।

विशेषगरी सरकारमा रहँदा जनताका अपेक्षाअनुसार काम गर्न नसक्नु, पार्टी र सरकारबीचको कार्यसम्पादनमा अन्तर देखिनु तथा नेतृत्वको कार्यशैलीप्रति जनतामा नकारात्मक धारणा बन्नुले निर्वाचन परिणाम प्रभावित भएको प्रतिवेदनले औँल्याएको छ।

प्रतिवेदनले एमालेको आधारभूत वर्ग र समुदायसँगको सम्बन्धसमेत कमजोर हुँदै गएको निष्कर्ष निकालेको छ। विगतमा पार्टी निर्माणको आधार बनेका वर्ग र समुदाय क्रमशः पार्टीबाट टाढिँदै गएको भन्दै उनीहरूसँगको सम्बन्ध पुनःस्थापित गर्न योजनाबद्ध अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ।

एमालेले अब जनताका वास्तविक समस्या र प्राथमिकतालाई केन्द्रमा राखेर आफ्नो राजनीतिक एजेन्डा पुनःनिर्धारण गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ। त्यसका लागि ‘जनमुखी एजेन्डा र सेवा अभियान’ सञ्चालन गर्ने प्रस्तावसमेत अघि सारिएको छ।

प्रतिवेदनमा पार्टीले निर्वाचनमा व्यहोरेको पराजयलाई केवल अस्थायी राजनीतिक परिस्थितिको परिणामका रूपमा नलिएर जनता किन टाढिए भन्ने प्रश्नको गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिइएको छ।

यसअघि लगातार जनताको बलियो साथ पाएको दाबी गर्ने एमालेले यसपटक भने जनताको मनोविज्ञान बुझ्न नसकेको आफ्नै समीक्षा प्रतिवेदनमार्फत स्वीकार गरेको छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ७ : ५३ बजे

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको