काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।
शनिबार सार्वजनिक भएको जर्मन प्रसारक डोयचे भेलेसँगको अन्तर्वार्तामा जेलेन्स्कीले आगामी डिसेम्बरमा अमेरिकाको मियामीमा हुने जी–२० शिखर सम्मेलनमा पुटिनसँग भेटेर वार्ता गर्न तयार रहेको बताए ।
दुवै नेता जी–२० शिखर सम्मेलनमा सहभागी हुने अवस्था आए पुटिनसँग भेट्ने हो कि होइन भन्ने प्रश्नमा जेलेन्स्कीले भने, “हो, अवश्य ।”
“हामी आउनुपर्छ। हामी भेट्नुपर्छ, कुरा गर्नुपर्छ र निर्णय गर्नुपर्छ। यो शब्दको कुरा होइन। मैले उनलाई के भन्नेछु वा उनले मलाई के भन्न चाहन्छन्, त्यसको कुनै अर्थ छैन,” उनले भने ।
जेलेन्स्कीले वार्ताको मुख्य उद्देश्य परिणाम निकाल्नु रहेको बताए । तर क्रेमलिनले पुटिन जी–२० शिखर सम्मेलनमा सहभागी हुने वा नहुने विषयमा अहिलेसम्म निर्णय नभएको जनाएको छ । रुसी समाचार संस्था तासका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मियामी जाने वा नजाने विषयमा अहिलेसम्म टुंगो नलागेको बताए ।
पेस्कोभले जेलेन्स्कीले पुटिनसँग भेट्न चाहे मस्को आउनुपर्ने रुसी अडान दोहोर्याए । उनले पुटिनले यसअघि नै जेलेन्स्की मस्को आएमा भेट्न सकिने बताइसकेको उल्लेख गरे ।
संयुक्त राज्य अमेरिकाले रुस र युक्रेनबीच लामो समयदेखि रोकिएको प्रत्यक्ष वार्ता पुनः सुरु गराउन प्रयास गरिरहेको छ । अमेरिकी वार्ताकार स्टिभ विटकोफ र जारेड कुश्नरले हालै मस्को र किएभको भ्रमण गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनले पनि यसै साता युद्धका विषयमा टेलिफोन संवाद गरेका थिए ।
जेलेन्स्कीले अमेरिकी वार्ताकारहरूको मस्को र किएभ भ्रमणलाई सकारात्मक संकेतका रूपमा व्याख्या गरे। उनले संवाद सुरु हुनु नै महत्वपूर्ण भएको बताए ।
जेलेन्स्कीले सेप्टेम्बरको अन्त्यतिर ट्रम्पसँग भेट्ने योजना पनि सार्वजनिक गरे। वासिङ्टनले रुस र युक्रेनबीच नयाँ प्रत्यक्ष वार्ताका लागि दुवै पक्षमाथि दबाब बढाउँदै आएको छ ।
वार्ताका लागि आफू बलियो अवस्थामा रहेको जेलेन्स्कीको दाबी
सम्भावित वार्ताअघि युक्रेनको अवस्थाबारे सोधिएको प्रश्नमा जेलेन्स्कीले अहिले युक्रेन गत वर्षको तुलनामा युद्धमैदानमा बलियो अवस्थामा रहेको बताए । “हामीलाई लाग्छ कि हामीसँग अहिले वार्ताका लागि राम्रो स्थिति छ,” उनले भने।
किएभले यसै महिनाभित्र रुससँग वार्ता हुन सक्ने बताउँदै आएको छ। तर क्रेमलिनले वार्ताको स्थान र मितिबारे छलफल गर्न अझै चाँडो भएको जनाएको छ ।
रुस र युक्रेनबीच यसअघि भएका विभिन्न चरणका वार्ता निष्कर्षमा पुग्न सकेका छैनन्। दुवै पक्षबीच विश्वासको संकट कायम छ भने आफ्नो अडान परिवर्तन गर्ने संकेत पनि देखिएको छैन ।
यसैबीच रुस र युक्रेनले पछिल्ला महिनामा एकअर्काविरुद्ध लामो दूरीका हवाई आक्रमण बढाएका छन्। पछिल्ला आक्रमणमा ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको छ ।
शुक्रबार राति भएका रुसी आक्रमणमा युक्रेनमा चार जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। दक्षिणी जापोरिज्झियामा दुई जना र मध्य युक्रेनको क्रिभी रिहमा रहेको अर्सेलरमित्तल कारखानामा दुई जनाको मृत्यु भएको बताइएको छ।
दक्षिणी बन्दरगाह सहर ओडेसामा भएको रुसी मिसाइल तथा ड्रोन आक्रमणबाट आवासीय भवनमा ठूलो क्षति पुगेको छ। आक्रमणमा ३५ जना घाइते भएको क्षेत्रीय गभर्नरले बताएका छन्।
जेलेन्स्कीले युक्रेनका सहयोगी राष्ट्रसँग थप हवाई रक्षा प्रणाली र मिसाइल उपलब्ध गराउन पनि आग्रह गरे। विशेषगरी अमेरिकी प्याट्रियट हवाई रक्षा प्रणालीका लागि आवश्यक इन्टरसेप्टर मिसाइल तत्काल आवश्यक रहेको उनले बताए।
अमेरिकासँग पर्याप्त मिसाइल उत्पादन क्षमता नभएका कारण आपूर्ति चुनौतीपूर्ण बनेको उनको भनाइ छ। “उनीहरूसँग बेच्ने र सहयोग गर्ने राजनीतिक इच्छाशक्ति छ, तर उत्पादन त्यति धेरै छैन,” जेलेन्स्कीले भने।
उनले युरोपेली सहयोगी राष्ट्रबाट पनि थप सैन्य सहयोग आवश्यक रहेको बताए।












प्रतिक्रिया