म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या « Khabarhub

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ ।

पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्य पहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पुर्व–पश्चिम, जाजरकोटका पोखरा–काठमाडौँ जाने–आउने सवारीसाधनहरुले पनि बागलुङ–बेनी–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।

बेनी– २ खबराका कमल सुवेदीले सडक दवेको ठाउँमा हिलोमा गाडी फस्ने, उकालो उक्लने नसक्ने, सवारीसाधनको जाम हुने, साँघुरो भएकाले दुर्घटनाको पनि जोखिम भएको बताए ।

‘नदी कटान र पहिरोका कारण एक सय मिटर दूरीमा सडक साविकको भन्दा दुईदेखि तीन मिटर भासिएको र दबेको छ,’ उनले भने, ‘सवारीसाधनको चाप बढेको हुँदा घण्टौँ जाम हुने गरेको छ ।’

आर्थिक वर्ष २०८१–८२ मा सडक डिभिजन कार्यालय बागलुङले भसभसे पहिरोको भूमिगत पानी व्यवस्थापन र हिलोमा ढलान गरेको थियो । हाल ढलान गरेको सडक सबै भासिएको छ । जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले भसभसेमा यातायात व्यवस्थापनका लागि सडक डिभिजन कार्यालयले मर्मत र उपकरण परिचालन गरे पनि प्रतिकूल भूगोलका कारण समाधान हुन नसकेको बताए ।

‘सडक डिभिजनले ग्राभेल राखे पनि दबेर भोलिपल्ट पहिलेको जस्तो अवस्था हुन्छ,’ उनले भने, ‘सडक भासिने र दब्ने क्रम नरोकिएकाले फसेका गाडीलाई डोजरको सहयोगले तार्ने गरिएको छ ।’ भसभसे पहिरोका कारण खबरा गाउँ पनि जोखिममा परेको छ ।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पक्की पर्खाल गरेर तटबन्धका साथै पहिरोग्रस्त ठाउँमा ग्रेड मिलाउने र पक्की बनाउन सडक डिभिजन कार्यालयमार्फत पहल गरिएको कार्यवाहक जिसस प्रमुख खत्रीले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ७ : ०७ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास