कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक करोड चार लाख ८५ हजार ४९८ रुपैयाँ सहयोग जुटेको छ ।
गाउँपालिकाले विपदबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको थियो । पालिकाले सो कोषमा सहयोगका लागि सार्वजनिक आह्वान गरेकामा पर्यटन व्यवस्थापन समिति, स्थानीय सङ्घसंस्था, व्यवसायी, राजनीतिक दल तथा व्यक्तिहरुबाट नगद सहयोग रकम उक्त रकम जम्मा भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए ।
उनका अनुसार प्राप्त भएको रकम यसबाट तत्काल राहत वितरण र मर्मत कार्यमा सहयोग पुगेको छ । गण्डकी प्रदेश सरकारले पुनर्निर्माणका लागि दुई हजार ४७५ घनमिटर जाली उपलब्ध गराएको थियो भने विभिन्न जलविद्युत् आयोजना तथा नेपाली सेनाले श्रमदानलगायत अन्य प्राविधिक सहयोग गरेको पालिकाले जनाएको छ ।
यसैगरी, विपदबाट भएको क्षतिको पुनर्निर्माण तथा उद्धार र राहतका लागि ६६ लाख ६५ हजार ५४३ खर्च भएको छ । यस वर्ष मनसुनजन्य विपद् बाढीपहिरोले सडक, पुल, निजी घर, होटल, धार्मिक तथा पर्यटकीय संरचनामा क्षति पु¥याएपछि पुनर्निर्माणका काम अघि बढाइएको हो ।
मोदी र किम्रुङ खोलामा आएको विपद्का कारण ठूलो क्षति पुगेको बिरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण तथा संरक्षणका लागि इन्धन, ग्याबिन जाली निर्माण, ढुङ्गा तथा ब्याकफिलिङ सामग्री ढुवानी, उपकरण भाडा, सुरक्षा सामग्री र श्रमिक व्यवस्थापनमा धेरै खर्च भएको छ ।
सबैभन्दा बढी इन्धनमा १९ लाख ७९ हजार ६५०, ग्याबिन जाली निर्माणका लागि श्रमिक ठेक्कामा ११ लाख ६४ हजार ९०४, ढुङ्गा र ब्याकफिलिङ सामग्री ढुवानीका लागि ट्याक्टर, ब्याकलोडर तथा टिपर भाडामा १८ लाख ६९ हजार १८९ खर्च भएको गाउँपालिका अध्यक्ष केसीले बताए ।
त्यसैगरी, अन्य उपकरण तथा निर्माणसम्बन्धी काममा आठ लाख ४६ हजार ५३५, निर्माण सामग्री खरिदमा एक लाख ३० हजार १६८, जिओटेक्सटाइल खरिदमा ८२ हजार ४९० र ग्याबिन जालीमा ९९ हजार ७९० खर्च भएको छ । उद्धार तथा पुनर्निर्माणमा खटिएका सुरक्षाकर्मी र सहयोगीका लागि खाना तथा खाजासहित अन्य व्यवस्थापन खर्च पनि गरिएको छ ।
विपद्ले अन्नपूर्ण आधार शिविर जाने पर्यटकीय मार्गका विभिन्न संरचनामा पनि असर परेको छ । विशेषगरी मोदी खोलामा आएको बाढीले वडा नम्बर ८ को बिरेठाँटी बजार क्षेत्रमा करिब १०० मिटर कालोपत्रे सडक कटान गरी बगाएपछि बिरेठाँटी–घान्द्रुक सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । चिम्रुङ–स्याउलीबजार क्षेत्रमा पनि करिब १५० मिटर सडक क्षतिग्रस्त भएको थियो ।
सडक तथा पुलको क्षतिले गाउँपालिका–८, ९, १० र ११ का बासिन्दाको नयाँपुल, पोखरा तथा पर्वतातर्फको आवागमन प्रभावित भएको थियो । स्याउलीबजार–हल्लाली जोड्ने झोलुङ्गे पुल, घुर्जुङ क्षेत्रका पुल तथा माता अन्नपूर्ण मन्दिर क्षेत्रमा रहेका फलामे पुल पनि बाढीबाट क्षतिग्रस्त भएको पालिकाले जनाएको छ ।
अन्नपूर्ण गाउँपालिकाको अर्थतन्त्रमा पर्यटन महत्वपूर्ण आधार रहेकाले सडक र पदमार्ग अवरुद्ध हुँदा होटल, गाइड, भरिया तथा स्थानीय व्यापारीको आम्दानी घटेको पालिका अध्यक्ष केसीले बताए । ‘अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा अवरोध, पुल क्षति तथा तातोपानी कुण्ड नष्ट हुँदा आन्तरिक र बाह्य पर्यटकको आवागमन प्रभावित भएको थियो । हामीले सबैको सहयोगबाट पदमार्गहरु खुला गरेका छौँ । अहिले पुनः पर्यटक आगमन सुरु भएको छ,’ अध्यक्ष केसीले भने।
मनसुनजन्य विपद्मा अन्नपूर्ण गाउँपालिका क्षेत्रमा मानवीय मृत्यु नभए पनि भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको थियो । पूर्वसूचना प्रणाली, स्थानीय सचेतना र सुरक्षा निकायको समयमै परिचालनले मानवीय क्षति हुन नदिन महत्वपूर्ण भूमिका खेलेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताए ।
बिरेठाँटी–घान्द्रुक सडकको स्थायी मर्मत, क्षतिग्रस्त पुलको पुनर्निर्माण, प्रभावित परिवारलाई राहत तथा पुनःस्थापना सहयोग, जोखिम नक्साङ्कन र पूर्वसूचना प्रणालीलाई वडा तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता देखिएको र ठूला पुनर्निर्माण आयोजनाका लागि प्रदेश तथा सङ्घीय सरकारसँग थप बजेट र प्राविधिक सहयोगका लागि आग्रह गरिएको बरालले जानकारी दिए ।













प्रतिक्रिया