काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै  « Khabarhub

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको छ । जिल्लाको विकट डाँडापारि क्षेत्रमा रहेको महाभारत र खानीखोला गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले यो मार्ग निर्माण भइरहेको छ ।

बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिन्थलीबाट रजबास हुँदै डाँडापारिस्थित महाभारत गाउँपालिकाको चारकिल्ला–तीनखुट्टे–देवीटार–घर्तिछाप–गोकुले–छोटेसाहन र खानीखोलाको तालढुङ्गा भएर मकवानपुर जिल्लाको भोर्लेनी–झुरझुरे हुँदै मदनभण्डारी लोकमार्ग जोड्ने सडक खण्ड पर्छ ।

अहिले सो सडक खण्डअन्तर्गत रजबास–तीनखुट्टे खण्डअन्तर्गत महाभारत गाउँपालिकाको कोलटार आसपासमा पर्खाल, नाली निर्माण र सडक ढलानका लागि फलामे छड बिछ्याएर ढलान गर्ने क्रममा रहेको छ भने तीनखुट्टे–देवीटार खण्डको खोलाघारी र घ्याब्रिङ, देवीटार–घर्तिछाप लभडाँडा खण्डअन्तर्गत घर्तिछाप गाउँमा कालोपत्र गर्ने र त्यसका लागि बेस हाल्ने काम भइरहेको छ ।

त्यस्तै लभडाँडा–छोटेसाहन खण्डअन्तर्गत गोकुले, धाप र अन्य खण्डमा सडक नाली र पर्खाल निर्माण एवं कालोपत्रका लागि बेस हाल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । सुरुमा जिल्ला सदरमुकामलाई पालिका केन्द्रसँग जोड्ने सडकमार्गका रूपमा अगाडि बढाएको यो योजनालाई डाँडापारि क्षेत्रका महाभारत र खानीखोलाका नागरिकलाई जिल्ला सदरमुकाम आवतजावत गर्ने उद्देश्यले अगाडि बढाइएको थियो ।

पछि बागमती प्रदेश राजधानी हेटौँडा आवतजावत गर्नका लागि कठिन हुने गरेको अवस्थालाई मध्यनजर गरेर त्यहाँका नागरिकको जीवनयापन र जिल्ला तथा प्रदेश राजधानीसँग सडक सञ्जालले जोड्नका लागि सो सडकलाई थप अगाडि बढाइएको छ । अहिले सो सडकलाई प्रदेश सरकारले प्रादेशिक मार्गका रूपमा लिएर कामलाई तीव्रता दिएको छ ।

पहिलोपटक ठेक्का आह्वान गरी काम थालिएको तीनखुट्टे–खोलाघारी–देवीटार ८ दशमलव ७ किलोमिटर सडक निर्माणका लागि जिम्मा पाएको श्रेष्ठ/सक्षम जेभी सामाखुसीले २०७७ असारमा ठेक्का सम्झौता गरी २०७९ असारमा सम्पन्न गर्नेगरी काम थालिएको भए पनि निर्माण व्यवसायीले कामलाई निरन्तरता नदिँदा अलपत्र जस्तै अवस्थामा रहेको थियो । तर, अहिले पालिका र प्रदेश सरकारले निरन्तर दबाब दिएपछि पटकपटकको म्याद थप पश्चात् पछिल्लो समयमा कामलाई निरन्तर अगाडि बढाइरहेको छ ।

श्रेष्ठ/साक्षम जेभीका परियोजना प्रबन्धक रोहन खत्रीले अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष काम तीव्र गतिमा अगाडि बढिरहेको र आगामी वैशाखसम्ममा काम सम्पन्न गर्ने बताए । अहिले कालोपत्र गर्ने कामदार ३० र ड्रेन वाल लगाउने जनशक्ति ३५ जना निरन्तर खटाएर काम भइरहेको र समयमा नै सबै काम सम्पन्न गर्नेगरी खटिरहेको उनले बताए ।

पूर्वाधार विकास कार्यालय धुलिखेलका सुपरभाइजर निर्मल दर्जीले अघिल्लो वर्षहरूको तुलनामा अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको बताए । समयमा नै काम सम्पन्न गर्नेगरी काम भइरहेको र गुणस्तरलाई ध्यान दिँदै काममा जोड दिएको उनको भनाइ छ ।

त्यस्तै रजबास–चारकिल्ल–तीनखुट्टे खण्डअन्तर्गत कोलटार आसपासमा भइरहेको कामले गति लिइरहेको छ । निर्माण कम्पनीका सम्र्पक प्रबन्धक सुजन गिरीले करिब ९५ प्रतिशत स्ट्रक्चरको काम सम्पन्न भइसकेको बताए । १५ दशमलव ५ किलोमिटर सडकखण्डको काममा ११ किलोमिटर कालोपत्र र साढे चार किलोमिटर ढलानको काम भइरहेको छ । आगामी असारसम्ममा सम्पन्न गर्नुपर्ने कामका लागि करिब एक सय जना जनशक्ति खटाएर काम भइरहेको उनको भनाइ छ ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले काभ्रेपलाञ्चोकको पिन्थलीबाट रजबास हुँदै चारकिल्ला, तीनखुट्टे, खोलाघारी देवीटार, घर्तिछाप, गोकुले भएर खानीखोलाको तालढुङ्गा र मकवानपुर जिल्लाको भोर्लेनी झुरझुरे भएर मदन भण्डारी लोकमार्ग जोड्ने करिब ८० किलोमिटर सडकको काम तीव्र गतिमा भइरहेको बताए ।

विभिन्न चरणमा ठेक्का भई नौ खण्डमा निर्माण कम्पनीहरूले ठेक्का सम्झौता गरेर निर्माण कार्य भइरहेको कामको करिब १८ किलोमिटरबाहेक अहिले अन्य खण्डमा भने काम निरन्तर भइरहेको उनले बताए ।

बाँँकी खण्डहरू निरन्तर काम भइरहेको भए पनि काममा ढिलाइ भइरहेको तीनखुट्टे देवीटार खण्डको कामलाई निरन्तरका लागि दबाबबीच अहिले पछिल्लो समयमा छिटो गतिमा काम भइरहेको जनाएको छ । उनका अनुसार आगामी असारभित्रमा महाभारत गाउँपालिकाभित्रका ४४ किलोमिटर सडक निर्माण भइसक्ने विश्वास लिएको छ । त्यसका लागि पालिका र जिल्ला प्रशासन कार्यालयबाट समेत कामको अनुगमन भइरहेको तथा स्थानीय बासिन्दालाई पनि कामको गुणस्तर र निरन्तरता दिन सम्बन्धित पक्षलाई सहयोग गर्ने र घच्घच्याउने काममा लाग्न आग्रह गरेको उनको भनाइ छ ।

सो क्षेत्रका नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनामध्ये सडक सञ्जाल र केन्द्रीय विद्युतीकरणलाई प्रमुख मानिएको छ । जुन कार्य सम्पन्न भएपछि यहाँका नागरिकको जीवनस्तरमा परिवर्तन आउने अपेक्षा गरिएको छ । जसमध्ये केन्द्रीय विद्युतीकरण भने सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ९ : १६ बजे

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ