काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि जारी विषेश महाधिवेशन अन्तर्गत पहिलो दिन उद्घाटन सत्र भएको थियो भने आज बन्द सत्र गर्ने कार्यतालिका तय गरिएको छ ।
महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्दसत्र सुरु हुनेछ ।
आज बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्यविधि बनाउने तालिका रहेको छ । त्यसपछि नौ ओटा समूह निर्माण गरेर चार ओटा विषयमाथि नीति मन्थन हुनेछ।
चार विषयमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए ।
नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे वृहत छलफल हुनेछ । यदि नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने पोखरेलले बताए ।
नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकाले मतदान गर्नु नपर्ने पोखरेलको धारणा छ ।
यसैबीच महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ । क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधिहरू आज बिहान मात्रै आइपुगेकाले उनीहरूले बिहान ८ बजेदेखि सुरु भएको दर्तामा सहभागी भएका हुन् ।













प्रतिक्रिया