मुम्बई- गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। आइतबार दिउँसो मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनले अन्तिम सास लिइन्। उनलाई शनिबार साँझ त्यहाँ भर्ना गरिएको थियो।
त्यतिबेला उनलाई कार्डियाक अरेस्ट भएको र छातीमा पनि समस्या देखिएको खबर आएको थियो।
पछि उनकी नातिनी जनाई भोसलेले उनलाई केवल थकान र छातीमा समस्या मात्रै रहेको बताएकी थिइन् ।
१२,००० भन्दा बढी गीत
आशा भोसलेले आफ्नो करियरमा १२,००० भन्दा बढी गीत गाएकी छिन्। उनका ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’ र ‘चुरा लिया है तुमने’ जस्ता गीतहरू आज पनि सदाबहार छन्।
आशा भोसलेका लागि संगीतको यात्रा त्यति सहज भने थिएन। आशा भोसलेले १४ भन्दा बढी भाषामा गीत गाएकी छन्।
आशा भोसले चर्चित रंगमञ्च कलाकार तथा शास्त्रीय गायक दीनानाथ मंगेशकरकी छोरी र महान गायिका लता मंगेशकरकी कान्छी बहिनी हुन्।
जब उनी केवल ९ वर्षकी थिइन्, त्यतिबेला उनका बुवाको निधन भयो। त्यसपछि उनले बहिनी लता मंगेशकरसँग मिलेर परिवारलाई सहयोग गर्न गायन सुरू गरिन्।
१६ वर्षको उमेरमा आशा भोसलेले आफ्नी दिदी लताको ३१ वर्षका सेक्रेटरी गणपतराव भोसलेसँग भागेर विवाह गरेकी थिइन्।
लताजी र उनको परिवार यो विवाहको कडा विरोधमा थिए। यस कारण लामो समयसम्म उनीहरूले आशासँग कुरा गर्न छाडेका थिए।
लता मंगेशकर र आशा भोसलेले सँगै ‘मैं चली मैं चली’ र ‘मन क्यों बहका रे बहका’ जस्ता ५० भन्दा बढी गीत गाएका छन्।
विवाहपछि आशा भोसलेले धेरै कठिनाइहरूको सामना गर्नुपर्यो र उनी घरेलु हिंसाको सिकारसमेत भइन्।
उनी जीवनबाट यति निराश भइन् कि आफूलाई समाप्त गर्न चाहन्थिन्। सन् १९६० मा उनी पहिलो पतिसँग अलग भइन्।
जब आशा भोसलेको पहिलो विवाह टुट्यो, उनी आफ्ना तीन सन्तान (हेमन्त, वर्षा र आनन्द) सँग परिवारमा फर्किइन्, तब बिस्तारै दूरी कम हुन थाल्यो।
आरडी बर्मनकी आमाले भनेकी थिइन्, ‘विवाह मेरो लाशमाथि मात्र हुनेछ।’
आशा भोसलेले दोस्रो विवाह संगीतकार आरडी बर्मनसँग गरिन्। दुवैको पहिलो भेट १९५६ मा भएको थियो। उनीहरूको गहिरो मित्रता र संगीत यात्रा फिल्म ‘तीसरी मञ्जिल’ (१९६६) को समयमा सुरु भयो। लगातार काम गर्दै जाँदा उनीहरूको मित्रता बिस्तारै प्रेममा बदलिन थाल्यो।
आशा भोसले र आरडी बर्मन (पञ्चम दा) को आफ्नै सन्तान थिएनन्। आरडी बर्मनले एक दिन मौका पाएर आशासमक्ष विवाहको प्रस्ताव राखे।
आशाले तुरुन्तै स्वीकार गरिन्, तर बर्मनकी आमाले विवाह अस्वीकार गरिन्। उनले बर्मनलाई भनिन्, यदि यो विवाह भयो भने मेरो लाशमाथि मात्र हुनेछ। बर्मनकी आमाले अस्वीकार गर्नुको कारण आशा उनीभन्दा ६ वर्ष जेठी थिइन् र तीन सन्तानकी आमा थिइन्।
त्यसपछि बर्मनले चुपचाप आमाको कुरा माने। तर जब बर्मनका पिता एसडी बर्मनको निधन भयो, आमाको मानसिक अवस्था बिग्रियो। आमाको अवस्था सुधारका लागि बर्मनले १९८० मा आशा भोसलेसँग विवाह गरे।
साउन्ड रेकर्डिस्टले आवाज खराब भनेका थिए
आशा भोसलेले ५० देखि ९० को दशकसम्म ओपी नैयर, आरडी बर्मन, खय्याम र बप्पी लहरीजस्ता धेरै संगीतकारसँग काम गरिन्। धेरै सदाबहार गीत गाइन्। तर एक समय यस्तो पनि आयो जब यही आवाजलाई खराब भन्दै उनलाई रेकर्डिङ स्टुडियोबाट फर्काइएको थियो।
आरजे अनमोलसँगको कुराकानीमा आशा भोसलेले खराब आवाज भन्दै उनलाई र किशोर कुमारलाई रेकर्डिङ स्टुडियोबाट बाहिर जान भनिएको बताएकी थिइन् ।
उनले सन् १९४७ मा उनी किशोर कुमारसँग जे.बी. रूंगटा को प्रसिद्ध स्टुडियोमा राज कपूर र नरगिस अभिनीत फिल्म ‘जान पहचान’ का लागि गीत रेकर्ड गर्न गएकी बताएकी थिइन्। यस फिल्मका संगीत निर्देशक खेमचन्द प्रकाश थिए।’













प्रतिक्रिया