अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए « Khabarhub

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज नगरपालिका–३ बस्दै आएका २७ वर्षीय मुस्तकिम मियाँ छन्। उनी बहालवाला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा चालकको नियुक्ति पाएका युवा हुन् ।

उनलाई सोमबार राजविराज नगरपालिका–८ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मुस्तकिम मियाँसहितको समूहले एक युवकलाई अपहरण गरी सुनसान स्थानमा लगेर शरीर बन्धक बनाएको, कुटपिट गरेको तथा कपडा खोली नग्न बनाई भिडियोसमेत बनाएको आरोप छ।

घटनापछि फरार रहेका प्रतिवादीको खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई जिल्ला सरकारी वकिल कार्यालय सप्तरीमार्फत सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

उनीसहित चारजनाले एक युवकलाई अपहरण गरी नग्न बनाएर कुटपिट, मानसिक तथा शारीरिक यातना दिएको आरोपमा प्रहरीले पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालतसँग यही वैशाख २४ गते अनुमति मागेको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको अपराध अनुसन्धान शाखाले राजुकुमार चौधरीको जाहेरीका आधारमा मुस्तकिम मियाँसहितलाई प्रतिवादी बनाएर अपहरण तथा शरीर बन्धक र अमानवीय व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीका अनुसार मिति २०८२ फागुन १४ गते बिहान करिब ८ बजे राजविराज नगरपालिका–३ हनुमानचोकबाट जाहेरवालालाई मोटरसाइकलमा आएका समूहले बन्दुक देखाएर अपहरण गरेका थिए।

त्यसपछि उनलाई राजविराज–८ स्थित हिमालय राइस मिल पछाडिको सुनसान क्षेत्रमा लगेर कुटपिट गर्नुका साथै शरीरका सम्पूर्ण कपडा खोलेर नग्न बनाइएको आरोप छ।

जाहेरी अनुसार आरोपितहरूले पीडितलाई भुइँमा थुक चाट्न लगाउनुका साथै भोजपुरी गीतमा नचाएर भिडियोसमेत बनाएका थिए।

उनीहरूले पीडितसँग रहेको करिब २२ हजार रुपैयाँ मूल्यको मोबाइल, दुई तोला सुनको सिक्री र नगद १ लाख ३० हजार रुपैयाँ समेत लुटेको आरोप छ।

प्रहरीका अनुसार करिब तीन घण्टासम्म बन्धक बनाएर यातना दिँदै घटना सार्वजनिक गरे भिडियो भाइरल बनाइदिने, ज्यान मार्ने तथा शारीरिक अंग काटिदिने धम्कीसमेत दिइएको जाहेरीमा उल्लेख छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सप्तरीका मुस्तकिम मियाँ, मो. जुनेद मियाँ, मो. एकवाल मियाँ र आदित्य कुमार यादवविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी गराएर कारबाही थालेको थियो ।

मुस्तकिमलाई मन्त्री यादवले गत चैत २७ गते स्वकीय सचिवालयको हलुका सवारी चालक पदमा कामकाज गर्न नियुक्ति दिएका थिए ।

उनले त्यसबेला तोकिएको जिम्मेवारी इमान्दारी र कर्तव्यनिष्ठापूर्वक सम्पन्न गर्न पनि मुस्तकिमलाई भनेका थिए । मुस्तकिमलाई दिएको नियुक्तिको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पनि दिइएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १२ : ३६ बजे

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको