रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन « Khabarhub

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका करिब ३५ हजार बढी वनजन्य, नगदे तथा बहुवर्षीय बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ ।

२०७९ सालदेखि सञ्चालनमा ल्याइएको नर्सरीमा उत्पादन गरिएका बिरुवाको माग बर्सेनि बढ्दै गएको कार्यालयले जनाएको छ । सबडिभिजन वन कार्यालय रामधुनीका वन सहायक काजी आचार्यका अनुसार नर्सरीमा खयर, ज्याकाराण्डा, बेल, सिसौ, अमला, अर्जुन, कागती, तेजपत्ता र अम्बकलगायत विभिन्न प्रजातिका बिरुवा उपलब्ध छन् । केही बिरुवा यस वर्ष उत्पादन गरिएका हुन् भने केही बहुवर्षीय बिरुवा अघिल्ला वर्षदेखि संरक्षण गर्दै आइएको उनले बताए ।

रामधुनी मन्दिर नजिकै कार्यालय रहेकाले दर्शनका लागि आउने भक्तजनले समेत यहाँबाट बिरुवा लैजाने गरेका छन् । भारतबाट आउने धार्मिक पर्यटकले पनि बिरुवा लैजाने गरेकाले रामधुनीमा उत्पादन भएका बिरुवा देशका विभिन्न जिल्ला तथा सीमापारसम्म पुग्ने गरेको वन सहायक आचार्यले जानकारी दिए ।

उनका अनुसार असार, साउन र भदौ महिनामा बिरुवाको माग बढी हुने गरेको छ । उत्पादित बिरुवा सर्वसाधारण, सामुदायिक वन तथा विभिन्न संस्थालाई आवश्यकताअनुसार वितरण गरिन्छ । वन क्षेत्रमा रोप्न उपयुक्त प्रजातिका बिरुवामात्र उत्पादन गर्ने अनुमति भएकाले कृषि प्रयोजनका बिरुवा उत्पादन नगरिएको उनको भनाइ छ ।

दुई–चारवटासम्म बिरुवा लैजान कुनै कागजात आवश्यक नपर्ने, संस्थागत रूपमा बिरुवा लिन चाहनेले भने सम्बन्धित वडाको सिफारिस अनिवार्य हुने तथा ५० वटाभन्दा बढी बिरुवा माग गर्नेले निवेदन, नागरिकताको प्रतिलिपि र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि पेस गर्नुपर्ने व्यवस्था रहेको वन सहायक आचार्यले जानकारी दिए । उनले भने, ‘नर्सरीको काम फागुनबाट सुरु गरिन्छ फागुनमा बीउ राखेपछि असारदेखि बिरुवा वितरण सुरु हुन्छ ।

नर्सरी व्यवस्थापनका लागि छुट्टै कर्मचारी खटाइएको छ । बिरुवाको संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिइएको छ । उहाँले भन्नुभयो, बिरुवा नष्ट भए सम्बन्धित कर्मचारीले आर्थिक उत्तरदायित्वसमेत व्यहोर्नुपर्ने व्यवस्था रहेकाले नर्सरी व्यवस्थापनलाई संवेदनशील रूपमा लिइएको छ ।

बिरुवा उत्पादन र वितरणसँगै कार्यालयले सामुदायिक वनलाई प्राविधिक सहयोग, छपान तथा कटान कार्यमा सहजीकरण गर्दै आएको छ । राष्ट्रिय वन क्षेत्रमा नियमित गस्ती तथा वन उपभोक्ता समूहका गतिविधिमा सहभागिता जनाउँदै आएको छ । केही दिनअघि सिंहवाहिनी सामुदायिक वनमा वृक्षरोपण कार्यक्रमसमेत सम्पन्न गरिएको वन सहायक आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ९ : ३८ बजे

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल