ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा « Khabarhub

ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत जोडिएपछि दुई जिल्लाबीचको आवतजावत सहज भएको छ । 

गत फागुन १६ गते बागलुङको निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको मनिमर्फेस क्षेत्रमा सडकको ‘ट्रयाक’ जोडिएसँगै ढोरपाटन–तकसेरा सडक सञ्चालनमा आएको हो । 

नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा लामो समयदेखि रोकिएको सडक निर्माण कार्य ढोरपाटन सिकार आरक्ष कार्यालयबाट अनुमति प्राप्त भएपछि सम्पन्न भएको हो । 

सडक सञ्चालनमा आएपछि बागलुङको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका तथा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका स्थानीयलाई आवतजावत र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ ।

ढोरपाटनका स्थानीय खुमबहादुर विश्वकर्माले सडक सञ्चालनसँगै वर्षौँदेखिको यात्राको कठिनाइ अन्त्य भएको बताए । उनका अनुसार यसअघि ढोरपाटनबाट तकसेरा पुग्न दिनभर पैदल हिँड्नुपर्थ्यो भने अहिले सवारीसाधनमार्फत छोटो समयमै यात्रा गर्न सकिने भएको छ ।

उनले भने, ‘पुथा उत्तरगङ्गा र ढोरपाटनवासीबीच रोटीबेटीको सम्बन्ध छ । यो सडकले दुई जिल्लाका स्थानीयबीचको सम्बन्धलाई अझ बलियो बनाएको छ । व्यापारदेखि दैनिक आवतजावतसम्म सबै क्षेत्रमा सहजता आएको छ ।’

सडक सञ्चालनसँगै पश्चिम बागलुङ र पूर्वी रुकुमबीचको यात्रा दूरीसमेत छोटिएको छ । यसअघि बुर्तिवाङ बजारदेखि निसेलढोरसम्म सडक पुगे पनि त्यसभन्दा माथिको खण्ड निर्माण हुन नसक्दा सिधा सडक सम्पर्क स्थापित हुन सकेको थिएन । बुर्तिवाङदेखि ढोरपाटनसम्म ३१ किलोमिटर र ढोरपाटनदेखि तकसेरासम्म ३७ किलोमिटर दूरी रहेको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिका–१ का थमबहादुर पुनका अनुसार यसअघि तकसेराका बासिन्दाले मध्यपहाडी लोकमार्ग हुँदै रुकुमको काँक्री भएर लामो दूरी पार गर्नुपर्ने बाध्यता थियो । अहिले ढोरपाटन–तकसेरा सडक सञ्चालनमा आएपछि तकसेरासहित आसपासका गाउँ सिधैँ बुर्तिवाङ बजारसँग जोडिएका छन् ।

ढोरपाटनदेखि सडकको ‘ट्रयाक’ खोल्न चालु आर्थिक वर्षमा ढोरपाटन नगरपालिकाले रु १२ लाख ५० हजार विनियोजन गरेको थियो । सोही बजेटबाट सडक निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ । 

सडक सञ्चालनसँगै तकसेराका स्थानीयलाई बागलुङ हुँदै पोखरा र काठमाडौँ पुग्न दूरी छोटिएको छ भने स्थानीय कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ६ : २८ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र