जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ? « Khabarhub

जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

विश्लेषक भन्छन्– ‘निम्न वर्गमाथिको पूर्वाग्रह महँगो पर्नसक्छ’



काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले भनेका थिए– ‘बालेनले देश बनाउँछ आमा ।’ देशभर धेरै आमाहरूले उनको यही भनाइलाई विश्वास गरेर रास्वपालाई मत खन्याए । त्यसपछि झण्डै दुईतिहाइको सरकार बन्यो । चुनावी आँधीबाट अन्य दललाई बढारेपछि चितवनमा भएको रास्वपाको पहिलो महाधिवेशनमा रवि–बालेनले कुम जोडे । त्यसयता संसद, सरकार र सदनबाट यी दुई पात्र गायब छन् । उनीहरू दुवैलाई जनताले देख्न पाएका छैनन् ।

चुनावअघि लामिछानेको अर्को भनाइले नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्राथमिकता पायो । लामिछानेले सुकुम्वासी बस्तीमा पुगेर भूमिहीन सुकुम्वासीहरूका लागि आफूले सधैँ छाती थाप्ने बताए । उनले भने, ‘सुकुम्वासी बस्ती हटाउने विषयमा सरकारले निर्णय गरे म आफैँ छाती थाप्न जान्छु, तपाईंहरू ढुक्क हुनुस् ।’

उनले सुकुम्वासीहरूलाई अधिकार नदिलाएसम्म र विकल्प नदिएसम्म विस्थापन नगर्ने धारणा राखेका थिए । यी र यस्तै कुराले तल्लो तहका वर्गबाट पनि रवि र वालेन्द्रले विश्वास जिते । वालेन्द्रले अहिले सरकार सञ्चालन गरिरहेका छन् । छाती थाप्ने भनेका उनै लामिछानेले सुकुम्वासीको उठिबास र सरकारले कन्तबिजोग बनाउँदा पनि बोल्न सक्दैनन् । युवाहरूले सडकमा ज्यान गुमाइरहँदा पार्टी उनी मौनता साँधेर बसेका छन् ।

सरकार गठनको एक महिनामै काठमाडौंका नदी किनारमा बस्ने सुकुम्वासी हटाएर होल्डिङ सेन्टरमा राखियो । तर त्यहाँ पनि उनीहरूको विचल्ली हुँदा रवि चुपचाप छन् । बरू सरकारले भिजिलान्ते शैलीमा केही आसेपासे खटाएर थर्काउने काम गरिरहेको सुकुम्वासी नागरिक सबिना लकान्द्री बताउँछिन् । अहिले सुकुम्वासीको बिचल्ली हुँदा न पार्टी सभापति पुग्या छन् न अरू नेता नै, बरु आसेपासे खटाएर थर्काउने काम गरिरहेका छन् ।

‘हामी पुरै अभिभावकविहीन छौं । हामीले आफ्ना कुरा पनि राख्न पाएका छैनौँ। सरकारको तर्फबाट आधिकारिक व्यक्ति आउनुहुन्न। जेम्स कार्की, अनिल बानियाँ, ओजस्वी थापा आएर आश्वासन दिइरहनु भएको छ। पार्टीका कुनै सांसद र मन्त्री आउनुभएको छैन। हामीले रञ्जु दर्शनालाई मत दिएका हौँ। उहाँ त आउनु नै भएन’, लकान्द्रीले भनिन्, ‘बालबच्चाको बिजोक भयो। स्कुल पनि टाढा छ, हामी कहाँ जाने हाम्रो त राज्य छैन । सुकुम्वासीका लागि छाती थाप्न तयार सभापति अहिले कता हुनुहुन्छ ? केही सूचना छैन ।’

लकान्द्री एक बैंकमा कार्यालय सहयोगी थिइन् । तर बच्चाको बिचल्ली हुने डर छ। होल्डिङ सेन्टरमा असुरक्षित हुने डरले जागिरमा जान पाएकी छैनन् । सुकुम्वासीको बिचल्लीले प्रश्न उठेपनि सरकारले व्यवस्थापन गर्न सकेको छैन। रविले सरकार बनेपछि पनि सुकुम्वासीका लागि जतिबेला पनि शिर थाप्न तयार रहेको बताएका थिए।

यति मात्रै होइन, प्रधानन्यायाधीश नियुक्तिमा मनोज कुमार शर्मा च्यापेर सपना प्रधान मल्ललाई ‘आफ्नो गर्दन अदालतमै रहेकाले चलाइदिन’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए । तर सबै अदालतबाट सहकारी ठगी प्रकरणको मुद्दा फिर्ता भएपछि रवि अझ बलियो बने पनि चुपचाप छन्। रास्वपाको चितवनमा चलेको महाधिवेशनमा पनि सुकुम्वासीको विषयमा प्रश्न उठ्दा रविले आफ्नो छाती थापेको कुरालाई कायमै राखेका थिए । तर बर्खा लाग्न सुरू भएपछि सुकुम्वासीको बिचल्ली हुँदा रवि कुन दुलामा छन् कसैले पत्तो पाएको छैन ।

जिम्मेवारीको प्रश्न उठ्दा पूर्वाग्रही : विश्लेषक

बाढीका कारण सुकुम्वासीको बिचल्ली भएर बिहीबार रातिबाटै विभिन्न ठाउँबाट स्थान्तरण गर्नुपर्ने अवस्थामा पनि रवि गुमनाम छन् । जनता सडकमा निस्कँदा रवि चुप हुनुले धेरैले उनीमाथि प्रश्न उठिरहेको देखिन्छ । निम्न वर्गको भोटले दुईतिहाइ पाएको नेता जनताको पीडामा चुप बस्नुले धेरैमा आशंका उब्जाएको राजनीतिक विश्लेषक इन्द्र अधिकारी बताउँछिन् ।

अधिकारीका अनुसार सभापति रवि लामिछाने र प्रधानमन्त्री निम्न वर्गमाथि अति नै पूर्वाग्रही छन् । उनीहरू मध्यम वर्गको भन्दा माथिको मात्रै प्रतिनिधि जस्तो देखिएको दाबी उनी गर्छिन् ।

स्वतन्त्र विश्लेषक अधिकारी निम्न वर्गमाथि उनीहरूको प्रहारले उकुसमुकुस भइरहेकाले जनताले थप भार थेग्न नसक्ने बताउँछिन् । ‘सभापतिज्यू छाती थाप्न र गर्दन थाप्ने कुरा गर्नुहुन्थ्यो । सुकुम्वासीको बिचल्ली हुँदा नागरिक सडक निस्किँदा उहाँ कहाँ हुनुहुन्छ ? सदनमा पनि देखिनुहुन्न, राज्य त अहिले अभिभावकविहीन भएको छ। न प्रधानमन्त्री हुनुहुन्छ न सभापति’, उनी अगाडि भन्छिन, ‘निम्न वर्गमाथि रवि लामिछाने अत्यन्त धेरै पूर्वाग्रही हुनुहुन्छ भन्ने संकेत देखियो। बालेनको त कुरै नगरौँ। भर्खरै जन्मेको बच्चादेखि वृद्धसम्म सडकमा निस्कँदा सभापति कहाँ हुनुहुन्छ ? राज्यले थप सङ्कट थेग्न सक्दैन। त्यसकारण उनीहरूको उचित व्यवस्थापन नभएसम्म थपकदम नचालोस् ।’

अधिकारी सुकुम्वासी जहिले सुकुम्वासी हुनुपर्छ भन्ने भनाइ आफ्नो नरहेको बताउँछिन् । तर उनीहरूको व्यवस्थापनपछि मात्र स्थान्तरण हुनुपर्ने उनको धारणा छ । अर्का विश्लेषक श्याम श्रेष्ठ पनि पार्टीको शीर्ष नेता भएकाले रविमाथि नैतिक र जिम्मेवारीको प्रश्न उठेको बताउँछन्। रविले परिस्थिति नियालिरहेको भए अब बाहिर निस्कन अनुरोध गर्दै उनले राज्यले थप क्षतिको भार थेग्न नसक्ने उल्लेख गरे ।

‘आजसम्म राज्यलाई संकट पर्दा बालबालिकादेखि वृद्धसम्म सडकमा ओर्लिने अवस्था थिएन । हेर्नुहोस् त सुकुम्वासीको बिचल्ली हुँदा बच्चादेखि वृद्धसम्म सडकमा छन्। तिनीहरूलाई शारीरिक मानसिक र सबै हिसाबको पीडा देखिन्छ। राज्य यस्तो हुन्छ र?’, उनले भने, ‘सुकुम्वासीलाई जहिले त्यस्तै हुन दिनुपर्छ भन्ने होइन। तर उचित व्यवस्थापन गरेर बासस्थान ढाल्नुपर्ने थियो । मलाई त सभापति र प्रधानमन्त्रीको को-अर्डिनेसन नमिलेको लागिरहेको छ। आउनुहोस् तपाईंले लुकेर बस्न मिल्दैन रविजी जनतालाई न्याय दिनुहोस्। अहिले निम्न वर्गहरू अत्यन्तै धेरै पीडामा छन्। त्यसैले राज्यले पहिला व्यवस्थापन गरेर मात्रै ती नागरिकलाई आफ्नो स्थानबाट हटाउनुपर्छ । जे हुनु भइगयो अब थप समस्या निम्तन नदिन यसो गरिदियोस् ।’

जनताको मुद्दा सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री अति नै धेरै असंवेदनशील भएकाले उनको काममाथि निम्न वर्गका व्यक्ति सन्तुष्ट नरहेको विश्लेषण श्रेष्ठ गर्छन् । भूमि अधिकारकर्मी जगत देउजा पनि सभापति रवि लामिछानेलाई राज्य र नेपाली जनताले खोजिरहेको विश्लेषण गर्छन् । बोल्नु न व्यवहारिकता अपनाउने विषय अत्यन्तै धेरै फरक रहेकाले पार्टी सभापतिले राज्यको अभिभावक भएको महसुस दिलाउन नागरिकलाई सक्नुपर्ने बताउँछन्।

‘सरकार र प्रधानमन्त्रीमाथि प्रश्न उठिरहँदा पार्टी रविले लिड गर्न लागेको जस्तो देखिएन। त्यसकारण सभापतिको भनाइबारे आमनागरिकले चासो राख्नु स्वभाविक हो। सभापतिज्यू जहाँ भए पनि पार्टीको स्टेटमेन्ट निकाल्न सक्नुपर्छ’, उनले भने, ‘सुकुम्वासी र निम्न वर्ग यति धेरै दमन भयो कि यसलाई राज्य आतंक नै भन्न मिल्ने भइसक्यो । पार्टीले यसबारे बोल्नैपर्छ तर सभापति कहाँ हुनुहुन्छ भन्ने नै आएन। उहाँले निम्न वर्गको मन जितेर दुईतिहाइ प्राप्त गर्नुभएको हो । उहाँले टेलिभिजन प्रस्तोता भएकै कारण निम्न वर्गको मन जित्नुभएको थियो। तर ठाउँमा पुगेपछि मौनता साँध्नु राम्रो हुँदैन।’

कहाँ छन् रवि ?

चर्को कर बढाएको विषय अहिले उठिरहेको छ। आमनागरिकले आत्मदाह गरेको र सुकुम्वासीबारे शुक्रबार रवि र बालेनबीच संवाद भएको थियो । त्यसपछि उनीहरूबीच आइतबार संवाद भयो । संवादका क्रममा रविले बालेनलाई प्रश्न उठिरहेकाले संयमता अपनाएर काम गर्न आग्रह गरेका थिए। उनले प्रधानमन्त्रीको हैसियतले नागरिक व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी रहेकाले केही बोल्न पनि सुझाए ।

स्रोतका अनुसार रवि तत्कालै बालेनको विकल्पमा जाने परिस्थितिमा बनेको छैन । उनले सबै परिस्थिति नियालिरहेको बताइन्छ। रास्वपाको विधानमा पनि सभापतिले संसदीय दलको नेता फेरबदल गर्न सक्ने प्रावधान छ । रविले चाहेमा प्रधानमन्त्री जुनसुकै बेला बदल्न सक्ने भनिएको छ। तर अहिले उनी त्यो परिस्थितिमा पुगेका छैनन् भन्ने विश्लेषण गरिन्छ । सम्पूर्ण अधिकार पार्टी सभापतिमा रहे पनि उनले परिस्थिति नियालिरहेको आँकलन नेताहरूको छ ।

गत असार १२ गते नै महाधिवेशन सकेको रास्वपाले अहिलेसम्म ५१ केन्द्रीय कमिटी सदस्य १० जना पदाधिकारी र केही सचिवालय सदस्य विस्तार गर्न सकेको छैन। पार्टी सभापतिले यही महिनाभित्रमा विस्तार गर्ने भने पनि सुकुम्वासी समस्या लगायत कुरा तिखो रुपमा उठ्न थालेपछि अहिलेसम्म उनी निर्णयमा पुग्न सकेका छैनन् ।

रवि अहिले पनि बूढानीलकण्ठस्थित निवासमै छन् । उनी परिस्थिति नियाल्दैछन् । जनतामा ठूलो आक्रोश देखिन्छ, त्यसकारण कुनै न कुनै हिसाबले समस्या समाधान गर्ने रणनीति बुनिरहेका छन् ।

सुकुम्वासी अभियन्ता शरेस्मा थापा भने रवि र वालेन्द्रको चरित्रका कारण आमनागरिकले अझै भयावह अवस्था झेल्नुपर्ने बताउँछिन्। सुकुम्वासीको अधिकारका विषयमा बोल्ने क्रममा पक्राउ परेकी थापाले यो सरकार निम्न वर्गप्रति शत्रु भएको टिप्पणी गरिन् ।

‘गरी खाने वर्गका लागि सरकारले केही गर्न सक्दैन। गरिखाने वर्गलाई मार्नै लागेको छ । केही साथीहरूले अकालमा मृत्युवरण गर्नुभयो । यदि सरकार अभिभावक हुन चाहन्थ्यो भने यस्तो धेरै समस्या हुँदा हामी साथमा छौँ भनेर बोल्न सक्देन थियो र ?’, उनले प्रश्न गर्दै भनिन्, ‘प्रहरीले हामीमाथि ज्यादती गरेको छ, पक्राउ गर्‍यो । नागरिकको अधिकारबारे बोल्दा यस्तो गर्छ भने आमनागरिकको हालत कस्तो भएको छ ? कुन दुलोमा लुकेर बस्नुभएको छ प्रधानमन्त्री र पार्टी सभापतिज्यू । प्रधानमन्त्री त असफल भइसक्नुभयो। पार्टी सभापतिले यसबारे केही सोच्नु पर्दैन ? उहाँहरूलाई नेपाली जनताले धिकार्ने छन् धिक्कारिरहेका छन् ।’

चुपचाप

रवि विगतमा सार्वजनिक प्रश्न उठ्दा सामाजिक सञ्जालमा प्रतिक्रिया दिन्थे । बालेनको पनि त्यस्तै आदत छ । तर सरकारको विषयमा यति धेरै प्रश्न उठ्दा अहिलेसम्म रविले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छैनन् । न उनी सदन गएका छन् न सडकै निस्किएका छन् । कहीँ कतै पनि नदेखिएका रवि निवासमै चुपचाप देखिन्छन्। विगतको सरकारले गल्ती गर्दा तत्काल भण्डाफोर गर्ने रवि आफ्नो पार्टी सरकारमा हुँदा यति धेरै मौनता किन भन्ने प्रश्न उठिरहेको छ ।

नागरिकले आत्मदाह गर्दा पनि साँधेको मौनताले उनले छविमा प्रश्न उठेको देखिन्छ । अहिलेसम्म न पार्टी न सरकार र न व्यक्तिगत कुनै पनि रूपमा केही पनि प्रतिक्रिया नजनाउनुले तल्लो तहका वर्गलाई सरकार र पार्टीले उपेक्षा गरेको आँकलन गर्न सकिन्छ । नेपाली जनताले रवि र बालेनलाई विश्वास गरेर दुईतिहाइ बहुमत दिइरहँदा निम्न वर्गको घाउमा मल्हम बन्न नसक्दा भोलिको सम्भावित दुर्घटनाले पिरोलेको छ।

यो प्रश्न हामीले संसदीय दलका नेता र पार्टीका शीर्ष नेतृत्वलाई गरेका थियौँ । उनीहरू अहिले केही नबोल्ने र आज या भोलिभित्रमै थप केही स्पष्टीकरण आउने बताउँछन् । सुकुम्वा सी र निम्न वर्गमाथि सरकार र पार्टी जिम्मेवार रहेको प्रष्टीकरण दिँदै ती नेताहरुले भने, ‘केही गल्ती भए स्वीकारेका छौँ। तर हामी र नागरिकबीचमा मुठभेटको अवस्था ननिम्त्याउन संयमित हुनुपर्नेछ,’ एक नेताले भने, ‘यो विषयमा सभापति र प्रधानमन्त्रीबीच गहिरो कुराकानी भएको होला। प्रधानमन्त्रीसँग त हाम्रो कुरा भएको छैन तर सभापतिले भनेअनुसार उहाँहरूबीच कुरा भएको छ। व्यवस्थापन गर्न नचुक्ने कुरा गर्नुभएको छ । तर केही गडबडीाबारे हामीले माफी माग्नुपर्छ।’

सभापतिको मौनतामाथि पनि आफ्नै पक्षका सांसदहरूले दबाब दिइरहेको सूचना आएको छ। तर रविले यसबारे कसैलाई पनि विकल्प खोज्ने विषयमा भने केही छाटकाट दिएका छैनन् ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ८ : २६ बजे

ओलीको अपमान खेपेका थपलियालाई पूर्वराष्ट्रपतिले अस्पतालमै पुगेर ढाडस दिइन्

काठमाडौं- तीन दिनअघि वीर अस्पतालमा भर्ना भएका नेकपा एमाले बागमती

प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक प्रस्तुत भएका छन् ।

रास्वपाबाटै सुरू भयो बालेन सरकारविरुद्ध घेराबन्दी

काठमाडौं– २०८२ चैत १३ गते बनेको वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको

गणेशको परिवारलाई मधेश सरकारले घर बनाइदिने (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको