‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’
यो एउटा सामान्य वाक्य जस्तो लाग्न सक्छ । तर कहिलेकाहीँ यस्तै साधारण शब्दले कसैको जीवनको दिशा नै बदलिदिन्छ । दीपिका पौडेलको जीवनमा पनि यस्तै भयो ।
विद्यालयमा पढ्दाका दिनहरूमा रामु गौतम सरले उनलाई भनेका यी शब्दलाई उनले त्यतिबेला खासै गम्भीरतापूर्वक लिइनन् । बरु उनलाई लाग्यो, सरले जिस्क्याउनु भएको हो । त्यसैले उनले वास्ता गरिनन् । तर समय बित्दै गयो । दिनहरू परिवर्तन हुँदै गए । उनलाई थाहै नपाई गीत–संगीत र नृत्यप्रति गहिरो मोह बसिसकेको रहेछ ।
गाउँघरमा हुने रत्यौली, भजन, पञ्चेबाजा, लवाईँ, तीजका कार्यक्रम तथा विभिन्न सांस्कृतिक प्रतियोगितामा साथीहरू, दिदीबहिनी र आमाहरूले उनलाई साथमा लैजान थाले । गाउँका साना कार्यक्रममा रमाउँदै गएकी दीपिका विस्तारै जिल्लास्तरीय कार्यक्रममा पनि एक्लै सहभागी हुन थालिन् । त्यहीँबाट उनको आत्मविश्वास बढ्दै गयो र मनभित्र एउटा ठूलो सपना जन्मियो- काठमाडौँ पुगेर गीत–संगीतमै केही गर्ने ।
सपनाको त्यो जोसले उनलाई २०७५ सालमा एक्लै काठमाडौँ ल्यायो । अपरिचित शहर, नयाँ वातावरण र अनगिन्ती चुनौतीबीच उनले पहिलो गीत रेकर्ड गरिन् । त्यसपछि त संगीत नै उनको जीवन बन्यो । काठमाडौँमै बस्ने, संघर्ष गर्ने र आफ्नो परिचय बनाउने अठोट लिएर उनी अघि बढिन् । जीविकोपार्जनका लागि एउटा सामान्य काम पनि पाइन् । त्यसपछि भने उनी संगीत यात्रामा निरन्तर लागिरहिन् । २०७५ सालदेखि आजसम्म उनी यही यात्रामा दृढताका साथ अघि बढिरहेकी छिन् ।
आज फर्केर हेर्दा दीपिकालाई महसुस हुन्छ— आफूभित्र लुकेको कलाकार सबैभन्दा पहिले चिन्ने व्यक्ति त रामु गौतम सर नै हुनुहुँदो रहेछ। त्यसैले उनी श्रद्धापूर्वक भन्न रुचाउँछिन्, ‘सर, तपाईंलाई यहीँबाट हार्दिक नमस्कार ।’
पञ्चासेको काखबाट उदाएकी स्वरकी धनी
पर्वत जिल्लाको मोदी गाउँपालिका– ७, राम्जा मल्काहा । अलिकति तल बगिरहेको मोदीखोला, माथितिर रतिखोला, अझ माथि ऐतिहासिक राम्जा चित्रे गाउँ र त्योभन्दा माथि तीन जिल्लाको संगमस्थल पवित्र पञ्चासे लेक । यही सुन्दर प्राकृतिक काखमा जन्मिइन् र हुर्किइन् गायिका दीपिका पौडेल ।
संगीतप्रतिको उनको लगावले छोटो समयमै राम्रो उचाइ लिन थालेको छ । २०७५ सालदेखि औपचारिक रूपमा संगीत क्षेत्रमा प्रवेश गरेकी दीपिकाले हालसम्म चार वटा एल्बम सार्वजनिक गरिसकेकी छिन्। उनका ‘सलल कालीगंगा’, ‘लैनो भैँसी’, ‘बैँशालु फूल’ लगायतका गीतले दर्शक–श्रोताको मन जितेका छन् ।
विशेषगरी ‘बैँशालु फूल फुल्यो छपक्कै’ ले उनलाई थप परिचित बनायो । उक्त गीतमा बहुप्रतिभाशाली कलाकार कृष्ण समीप सुवेदीको शब्द, संगीत र गायन रहेको थियो भने दीपिकाले पनि उनको साथमा आफ्नो स्वर दिएकी थिइन्। गीतले दर्शकबाट राम्रो माया पायो ।
नयाँ आशा बोकेको ‘पातली डन’
यसपटक दीपिका आफ्नो नयाँ गीत ‘पातली डन’ लिएर श्रोता–दर्शकमाझ आएकी छिन् । यो गीतप्रति उनी निकै आशावादी छिन् ।
उनी भन्छिन्, ‘अडियो र भिडियो दुवै निकै राम्रो बनेका छन् । हामीले धेरै मेहनत गरेका छौँ । त्यसैले दर्शक–श्रोताले पनि मन पराउनुहुनेछ भन्ने विश्वास छ।’
‘पातली डन’ को शब्द तथा संगीत कृष्ण समीप सुवेदीले तयार गरेका हुन् । आफ्ना आदर्श व्यक्तित्वका रूपमा दीपिकाले उनलाई विशेष सम्मान व्यक्त गर्छिन् ।
उनी भन्छिन्, ‘म कृष्ण समीप सुवेदीलाई आफ्नो आदर्श मान्छु । उहाँ उत्कृष्ट स्रष्टा र गायक मात्र होइन, नयाँ कलाकारप्रति अत्यन्त सहयोगी, आत्मीय र व्यावसायिक इमानदारी भएका व्यक्ति हुनुहुन्छ। उहाँबाट मैले धेरै कुरा सिक्ने अवसर पाएकी छु । उहाँप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु ।’
गीतमा विश्वास नेपालको संगीत संयोजन, स्यामश्वेत रसाइलीको मिक्सिङ तथा प्रिज्म डिजिटलमा रेकर्डिङ गरिएको छ। भिडियो निर्देशन मुकेश नेपालीले गरेका छन् भने लोकप्रिय मोडल जुना विश्वकर्मा र सुरेश कोलीको आकर्षक अभिनय देख्न सकिन्छ । बुद्ध थापाको छायांकन र अमृत चापागाईंको सम्पादनले भिडियोलाई अझ आकर्षक बनाएको छ ।
यसपटक दीपिकाले आफ्नै नयाँ युट्युब च्यानलमार्फत ‘पातली डन’ सार्वजनिक गरेकी छिन्। त्यसैले यो गीत उनको लागि अझ विशेष बनेको छ।
उनी मुस्कुराउँदै भन्छिन्, ‘म कसैसँग प्रतिस्पर्धामा छैन । सबै कलाकारको आफ्नै स्थान हुन्छ, गीतको आफ्नै भाग्य हुन्छ । हाम्रो काम भनेको इमानदारीपूर्वक राम्रो सिर्जना गर्नु हो । बाँकी निर्णय दर्शक तथा श्रोताको हातमा हुन्छ ।’
आज संघर्षको यात्रामा अघि बढिरहेकी दीपिका पौडेल भविष्यप्रति आशावादी छिन् । गाउँको सानो मञ्चदेखि संघीय राजधानी काठमाडौँको सांगीतिक यात्रासम्म आइपुग्दा उनले एउटा कुरा प्रमाणित गरिसकेकी छिन्- सपना देख्ने आँट र निरन्तर मेहनत गर्ने साहस भए कुनै पनि यात्रा असम्भव हुँदैन ।












प्रतिक्रिया