काठमाडौं– गत फागुन १३ गते गोप्य रूपमा उपचारका लागि सिंगापुरतिर गएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार तामझामसहित स्वदेश फर्किएका छन् ।
गत वर्षको भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा एउटा समूहले कुटपिट गर्दा नराम्रोसँग घाइते भएका देउवा साढे ५ महिनादेखि विदेशमा थिए । उनी उपचारको सिलसिलामा सुरूमा सिंगापुर पुगे। त्यहाँबाट चैत ७ गते हङकङमा रहँदै आएका थिए । बिहीबार देउवा हङकङबाट थाइल्यान्ड हुँदै नेपाल आइपुगे । तर पत्नी आरजु र छोरा जयवीर उतै बसे ।
शक्तिहीन देउवालाई राहत
गत वर्षको भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित घरमै बसिरहेका देउवा आन्दोलनकारीहरूको कठोर निशानामा परेका थिए । आन्दोलनकारीको एक समूहले देउवा दम्पत्तिमाथि आक्रमण मात्रै गरेन, लछार पछार गर्यो, घर पनि खरानी हुने गरी जलाइदियो ।
जेन-जी आन्दोलनले राष्ट्रिय राजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदल ल्यायो । सबै पुराना राजनीतिक दल आन्दोलनबाट सिर्जित शक्तिबाट किनारा लाग्दा देउवाले तत्कालीन सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्व गरिरहेका थिए ।
आन्दोलनबाट घाइते हुँदै सिर्जित नयाँ शक्ति र सरकारको निशानामा परेका देउवालाई कांग्रेसभित्रकै गगन थापा पक्षले पुसको अन्तिम दोस्रो विशेष महाधिवेशन गरेर पार्टीको मूलधारबाट किनारा लगाइदियो ।
त्यसपछि फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकै आइरहेका बेला फागुन १३ गते उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर प्रस्थान गरेका थिए ।
थापा नेतृत्वको कांग्रेसले उनलाई टिकटबाट वञ्चित गरेर साढे तीनदशकदेखि डडेलधुराबाट अविच्छिन्न निर्वाचित हुँदै आएको कीर्तिमानमा पूर्णविराम लगाइदियो । यसबाट देउवाको राजनीति थप जोखिममा परेको थियो ।
फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनले फेरि कांग्रेस सहित सबै पुराना पार्टीलाई औपचारिक रूपमै जनमतबाट किनारा लगायो । निर्वाचनबाट कांग्रेस प्रतिपक्षी शक्ति त बन्यो तर, नाम मात्रको । जतिबेला देउवा सिंगापुरमा थिए ।
निर्वाचनपश्चात् बनेको वालेन्द्र शाह नेतृत्वको सरकारले गौरीबहादुर कार्की नेतृत्वले तयार गरेको जेन-जी आन्दोलनको अनुसन्धान प्रतिवेदन कार्यान्वयनको नाममा चैत १४ गते नै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गर्यो । त्यसअगाडि नै चैत ७ गते देउवा दम्पती सिंगापुरबाट हङकङ गइसकेका थिए ।
यससँगै सरकारले सम्पत्ति शुद्धीकरणको नाममा पनि धरपकडलाई अगाडि बढायो । जसको पहिलो निशानामा कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्का परे ।
सरकारले देउवा दम्पतीमाथि पनि सम्पत्ति शुद्धीकरण मुद्दामा चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गर्यो । त्यसपछि देउवा दम्पती नेपाल फर्किएनन् ।
नेपाल प्रहरीले देउवा दम्पत्तिलाई पक्राउ गर्न इन्टरपोलमार्फत प्रक्रिया पनि अगाडि बढाउने प्रयास गर्यो । तर, उक्त प्रक्रिया सफल हुन सकेन । इन्टरपोलले सरकारबाट दुई पटकसम्म गरिएको आग्रहलाई बेवास्ता गरिदियो । त्यहीबीचमा देउवाले सरकारलाई पत्र लेख्दै आफूहरू उपचारको सिलसिलामा विदेश रहेकाले काम सकेपछि स्वदेश फर्किएर अनुसन्धानमा सहयोग पुर्याउने भनेर पत्र पठाएका थिए ।
तर, जेठ ११ गते काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीविरुद्ध दर्ता भएको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र महेश शर्मा पौडेलको इजलासले पक्राउ नगर्न अन्तरिम आदेश दियो । त्यसपछि बिहीबार आफूले भनेकै समयमा देउवा स्वदेश फर्किएका छन् । देउवालाई स्वागत गर्न नेपाली कांग्रेसको ठूलो समूह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।
देउवालाई त्यहाँ बाजागाजासहित स्वागत गरियो । कार्यकर्ता र नेताहरूले खादा र मालाले छोपिदिए । विमानस्थलबाट निस्किएपछि उनलाई सनरुफवाला गाडीमा राखेर चुनदेवीतिर लियो। कांग्रेसले देउवालाई पूर्वराजाकै शैलीमा कारको रुफटपमा राखेर विशेष स्वागतसहित चुनदेवीमा भित्र्याएको छ। जहाँ देउवाको नेम प्लेटमा सभापतिकै हैसियत दिइएको छ। अर्थात्, देउवाले सभापतिकै हैसियतमा सक्रिया देखाए पार्टी औपचारिक रुपमा दुई चिरा हुनेछ । देउवालाई पनि दुई पटक कांग्रेस फुटाएको कलंकको टीका लाग्नेछ ।

देउवाको आगमन, इतर समूहलाई राहत
गगन थापा नेतृत्वको समूहले गत पुस अन्तिम साता विशेष महाधिवेशनबाट कांग्रेस कब्जा गरेपछि किनारा लागेको इतर समूह अब फेरि शक्ति फर्काउन सकिने आशामा उभिएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वले गरेको विशेष महाधिवेशनलाई मान्यता दिएको थियो । त्यही अनुसार सभापति थापाले टिकट वितरण गरे। तर फागुन २१ को चुनावमा कांग्रेस नराम्रोसँग पराजित भयो ।
निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कांग्रेसको इतर समूह समस्यामा परेको थियो । तर फेरि देउवाको पुनरावलोकनको मागलाई अहिले सर्वोच्चले सदर गरेको छ । सर्वोच्चले कांग्रेसको विशेष महाधिवेशन विवादलाई सुरुदेखि नै पुनरावलोकनको आदेश दिएको छ । अब पूर्ण इजलासले कांग्रेसको भविष्य तय गर्नेछ ।
सर्वोच्चको उक्त निर्णयलाई लिएर कांग्रेसको इतर समूह अर्थात् देउवा समूहमा उत्साह देखिएको छ । उनीहरूले सर्वोच्चको भावी निर्णय आफूहरूको पक्षमा आउने दाबी गरेका छन् । त्यही सन्दर्भमा बहस चलिरहँदा स्वदेश फर्किएका देउवाले नयाँ राष्ट्रिय शक्ति सन्तुलन निर्माणमा पनि भूमिका खेल्ने बहस अहिले कांग्रेसको इतर समूहमा चलिरहेको छ ।
देउवाले स्वदेश फर्किएपछि जारी गरेको सन्देशमा आफू उपचार गरेर देशको साझा दायित्वप्रति गहिरो सम्मान व्यक्त गर्दै फर्किएको बताएका छन् । यसका साथै, उनले शक्ति प्राप्त गर्न नभएर राष्ट्रिय एकता सुदृढ गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गरेका छन् ।












प्रतिक्रिया