काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि बढाएका छन् । भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनमा नराम्रोसँग घाइते भएका देउवा उपचारका लागि भन्दै १४ फागुनमा विदेश पलायन भएका थिए ।
स्वदेश फर्केर उनले नेपाली कांग्रेसलाई विभाजनबाट रोक्ने र एकताको सन्देश दिन उपस्थित भएको वक्तव्य जारी गरे । वक्तव्यमा सामान्य नागरिक भएर नेपाल बस्न चाहेको र शक्ति प्रदर्शन गर्न नभई पार्टी र लोकतन्त्र बलियो बनाउन आएको दाबी गरेका देउवाले चुनदेवीको पार्टी कार्यालयमा सभापतित्व ग्रहण गरे । यससँगै देउवा पक्षले गगन थापालाई सभापति नस्वीकारेको छर्लङ्ग देखिन्छ ।
चुनदेवीमा देउवालाई नयाँ कार्यालय खोलेर स्वागत गर्न उनी पक्षका नेता पूर्णबहादुर खड्का, डाक्टर शशांक कोइराला, मीन विश्वकर्मा, प्रकाश शरण महत, कान्छाराम तामाङ, विमलेन्द्र निधि, एनपी साउद, कृष्ण सिटौलालगायतका नेता उपस्थित थिए । देउवालाई सभापतिको हैसियतमा स्वागत गरिएकोबारे नेता सिटौला भन्छन्, ‘१५औं महाधिवेशन नहुन्जेलसम्म हाम्रो सभापति शेरबहादुर देउवा दाइ नै हो । अदालतमा हाम्रो मुद्दा पुनरालोकन हुँदैछ, अरु कुरा विस्तारै हुँदै जान्छ, कसले कस्तो महाधिवेशन गरेर आफूलाई सभापति बनायो त्यो फरक पाटो हो । हाम्रो सभापति शेरबहादुर दाइ नै हो । पन्ध्रौँ महाधिवेशनपछि नयाँ निर्वाचित आउनुहोला ।’
गगन थापालाई सभापति अझै नस्वीकार्ने भन्ने प्रश्नमा उनी भन्छन्, ‘जसले शीर्ष नेताको सम्मान गर्दैन, आफ्नो नेता दुःख परेको बेला जो ताली पिट्दै हिँड्छ, उसलाई कसरी नेता भन्ने ? पार्टी विधि र नीतिमा सबै चल्नुपर्छ, त्यो हामीलाई थाहा छ । तर तरिका पनि सही थिएन । अरु कुरा विस्तारै हुँदै जान्छ ।’
समानान्तर गतिविधिले पार्टी विभाजनतर्फ जाला भन्ने प्रश्नमा अर्का नेता प्रकाशरण महत चाहिँ अदालतको फैसलापछि थप कुरा अघि बढ्ने संकेत गर्छन् । ‘अहिलेलाई हाम्रो सभापति नेपाल आउनुभयो, त्यो नै खुसीको कुरा हो । बाँकी कुरा भोलिको सम्बोधनपछि अगाडि बढ्ला । अदालतको मुद्दा पनि छ, त्यसलाई पनि कुरौँ । हामीलाई अदालतले न्याय गर्छ भन्नेमा विश्वस्त छौँ ।’
महतले अहिले राष्ट्रिय भेलामा उपस्थित नभएका नेताहरू पनि भविष्यमा विस्तारै जोडिने बताउँछन् । पार्टी विभाजन नै हुने हो ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘अदालतको फैसला पर्खिदिनुहोस् न !’
कांग्रेसको सक्कली सभापति गगन थापा
राजनीतिक विश्लेषक सञ्जीव हुमागाईँ कांग्रेसको अहिले आधिकारिक सभापति गगन थापा नै भएको बताउँछन् । उनी शेरबहादुर देउवा पूर्वसभापति रहेको स्मरण गराउँदै भन्छन्, ‘गत माघबाट कांग्रेसका आधिकारिक सभापति गगन थापा हो । शेरबहादुर देउवा पूर्वसभापति हो । अरु विषय त मलाई जानकारी भएन ।’
२०८२ पुसको अन्तिम साता नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेर गगन थापालाई सभापति बनाएको हो । ५४ प्रतिशत देशभरका महाधिवेशन प्रतिनिधिको उपस्थितिमा थापा पार्टी सभापति बनेका हुन् । सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत थापालाई पार्टी सभापतिको आधिकारिकता दिएका छन् । तर, शेरबहादुर देउवा पक्षधरका शीर्ष नेताले अझै पनि गगन थापालाई सभापति स्वीकारेको देखिन्न ।
थापालाई सभापति स्वीकारेर १५औं महाधिवेशनमा जानुको सट्टा उल्टै देउवालाई सभापतिको हैसियत दिँदा पार्टी विभाजनको डिलमा पुगेको विश्लेषकहरु बताउँछन् । विधि र विधानबाट चुनिएको नेतृत्वलाई स्वीकार गरेर महाधिवेशन केन्द्रित गतिविधिमा जानुपर्ने कांग्रेस रोइलो देखाएर बसिरहेको राजनीतिक विश्लेषक इन्द्र अधिकारीको टिप्पणी छ ।
‘कांग्रेसले विधि र प्रक्रियाबाट बनेको नेतृत्वलाई स्वीकारेर महाधिवेशनमा जानुको विकल्प छैन । अदालतको फैसला र आयोगले प्रमाणपत्र नै दिइसकेपछि त सभापति पनि स्वीकार्नु पर्यो नि ।’ अधिकारीले भनिन्, ‘पुनरावलोकनका लागि अदालतमा मुद्दा पुगेको बेला दुई पक्षले नै समानान्तर गतिविधि गर्नुलाई चाहिँ सामान्य कलह मान्न सकिन्न ।’
गगन थापा पक्षका नेता तथा पार्टी महामन्त्री गुरु घिमिरेले पार्टीमा आबद्ध सदस्यहरूले राष्ट्रिय भेला गर्न पाउने, तर त्यो राष्ट्रिय भेलाले पार्टीको आधिकारिकतालाई असर पुर्याउन नहुने टिप्पणी गर्छन् । उनले कांग्रेसमा विभिन्न विचारधाराका व्यक्तिहरू रहेकाले यसअगाडि पनि विभिन्न गुटहरु देखिएको स्वीकार गर्दै गुटका कारण मूल पार्टीलाई असर पर्नु नहुने बताए ।
‘उहाँले भेला गर्न पाउनुहुन्छ, भेलाबाट कांग्रेस पन्ध्रौं महाधिवेशनको गतिविधिमा अगाडि बढ्ने र एकताबद्ध हुने विषयमा उहाँले चर्चा गर्न पाउनुभयो । तर पार्टीलाई घाटा लाग्ने कुनै पनि गतिविधि हामी स्वीकार्दैनौँ ।’ घिमिरेले भन्छन्, ‘हामी कांग्रेस विभाजनको पक्षमा छैनौँ । उहाँहरू पनि विभाजनको पक्षमा छैनौँ भन्नुहुन्छ, तर एकताका लागि तयार हुनुहुँदैन ।’
देउवा पनि सभापतिकै हैसियतमा नेमप्लेट टाँसेर बस्नुभएको छ नि भन्ने प्रश्नमा घिमिरे भन्छन्, ‘नेमप्लेट टाँस्दैमा सभापति हुन्छ र ?, पार्टीलाई ह्रास आउने गतिविधि भएमा त्यसको पनि उचित निकास खोज्छौँ ।’
नेपाल फर्केलगत्तै जारी गरेको विज्ञप्तिमा सामान्य नागरिक भएर बस्न र लोकतन्त्र सुदृढ बनाउन आएको उल्लेख गरेका देउवाले पार्टी विभाजनको विषयमा भने केही बोलेका छैनन् । गगन थापामाथि पनि उनले अहिलेसम्म केही आक्षेप लगाएका छैनन् ।
सरकारप्रति कडा
हजारौँको सङ्ख्यामा समर्थक र पार्टी नेताहरूको भिडबाट चुनदेवी कार्यालय पुगेका देउवा पार्टी कार्यालयको बार्दलीमा निस्केर निकै कडा रुपमा प्रस्तुत भए । फागुन २१ को निर्वाचनमा १८२ सिट प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधानमन्त्री बालेन्द्र शाहप्रति उनी निकै कडा देखिएका थिए ।
शेरबहादुर वर्तमान सरकारले सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान गरिरहेको बताइन्छ । त्यसैकारण उनी पक्राउ पर्ने हल्ला पनि छ । यसैबीच देउवा कडा रूपमा सरकारप्रति प्रस्तुत भएका हुन् । अदालतप्रति सम्मान र सरकारप्रति आलोचित हुँदै देउवाले ज्ञानेन्द्रको पालामा पनि आफूलाई केही गर्न नसकेको बताउँदै यही सरकारले पनि केही गर्न नसक्ने उल्लेख गरे ।
‘यिनीहरूले एकदम बदमासी काम गरेका छन्, तर मलाई बदलाको भावना लिनु छैन । यो देशमा जनता छ । यो देशमा अदालत छ । सबैले जानेको, बुझेको छ । यिनीहरुलाई भोलि हामी देखाएर छाड्छौँ” देउवाले भने, ‘भोलि फेरि हामी लड्छौँ सत्यको जित हुन्छ ।’
देउवाले भने, ‘राजा ज्ञानेन्द्रले त सकेन, अरुले सक्छ ? नेपाली जनता सबैभन्दा ठूलो मालिक हो । मालिकले जे भन्यो त्यही हुन्छ ।’ उनले भने, ‘सम्पत्ती शुद्धीकरण आयोग एकचोटि आयो, केही छैन भन्यो । दोस्रोचोटि आयो केही छैन भन्यो ।’












प्रतिक्रिया