नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट « Khabarhub

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँमा नदी नियन्त्रण तथा सिँचाइका विभिन्न कार्यक्रमका लागि १५ करोड रुपैयाँ बजेटको कार्यक्रम सञ्चालन गरेको छ । नदी कटान तथा डुबान नियन्त्रण, पहिरो नियन्त्रण र सिँचाइ सुविधा विस्तारलाई प्राथमिकता दिँदै आयोजना अघि बढाइएको हो ।

आयोजना प्रमुख सुपिन्द्र खत्रीले चालु आवमा सिँचाइ, पहिरो र नदी नियन्त्रणतर्फ विभिन्न योजनामा बजेट विनियोजन गरिएको जानकारी दिए ।

उनका अनुसार मर्स्याङ्दी नदी नियन्त्रणका लागि रु आठ करोड, मादी नदी नियन्त्रणका लागि तीन करोड रुपैयाँ र सेती नदी नियन्त्रणका लागि तीन करोड रुपैयाँ छुट्याइएको छ ।

‘नदी कटान र डुबानबाट जोखिममा रहेका क्षेत्रलाई सुरक्षित बनाउन नदी नियन्त्रणका कार्यक्रम अघि बढाएका छौँ । मर्स्याङ्दी, मादी र सेती नदी नियन्त्रणका लागि छुट्टाछुट्टै बजेट विनियोजन भएको छ’, आयोजना प्रमुख खत्रीले भने ।

पहिरो नियन्त्रणतर्फ गलेश्वरधाम–देवघाटधाम क्षेत्रका लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको देवघाट क्षेत्रको भौगोलिक जोखिम न्यूनीकरण गर्न उक्त कार्यक्रम सञ्चालन गरिने उनले बताए । 

आयोजनाले नदी नियन्त्रणसँगै सतह सिँचाइ, लिफ्ट सिँचाइ तथा जलाशययुक्त सिँचाइका कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ ।

आयोजना प्रमुख खत्रीका अनुसार दरौदी तथा मर्स्याङ्दी नदी बेसिनमा सिँचाइसम्बन्धी कार्यक्रम सञ्चालन गर्न तीन करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, मर्स्याङ्दी, मादी, सेती, दरौदी, कालीगण्डकी–आँधीखोला, बूढीगण्डकी र त्रिशूली नदी बेसिन समेटिएको एकीकृत सिँचाइ विकास योजनाका लागि पाँच करोड रुपैयाँ बजेट छुट्याइएको छ । 

‘सतह सिँचाइ, लिफ्ट सिँचाइ र जलाशययुक्त सिँचाइका संरचना निर्माण तथा सुधारमार्फत कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्य छ । विभिन्न नदी बेसिनलाई समेटेर एकीकृत रूपमा सिँचाइ विकासका कार्यक्रम सञ्चालन हुँदैछन्’, उनले भने ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले तनहुँसहित लमजुङ, मनाङ र गोरखामा विभिन्न सिँचाइ तथा नदी नियन्त्रणसम्बन्धी संरचना निर्माण गर्दै आएको छ । 

आयोजना प्रमुख खत्रीका अनुसार दरौदी, दोर्दी तथा मर्स्याङ्दी नदी क्षेत्रमा डुबान तथा कटानबाट प्रभावित र जोखिमयुक्त स्थान पहिचान गरी तटबन्धन, स्पर तथा रिभेटमेन्ट निर्माणका काम अघि बढाइन्छ । 

नदीले कटान गरेका स्थानमा जग्गा उकास गर्ने तथा नदीको बहावलाई व्यवस्थित गर्न आवश्यक संरचना निर्माणसमेत आयोजनाका कार्यक्रमभित्र रहेका छन् ।

नदी कटान तथा डुबानका कारण खेतीयोग्य जमिन, बस्ती तथा सार्वजनिक पूर्वाधार जोखिममा पर्ने भएकाले जोखिमयुक्त स्थानमा नदी नियन्त्रणका संरचना निर्माणलाई प्राथमिकता दिइएको आयोजनाले जनाएको छ । 

त्यस्तै सिँचाइ संरचनाको निर्माण तथा सुधारबाट कृषि उत्पादनमा वृद्धि, खेतीयोग्य जमिनको उपयोग र किसानलाई वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । 

नदी नियन्त्रण र सिँचाइ विकासलाई सँगसँगै अघि बढाउँदा एकातर्फ बाढी तथा कटानको जोखिम घटाउने र अर्कातर्फ नदीको पानीलाई कृषि उत्पादनमा उपयोग गर्ने आधार तयार हुने आयोजना प्रमुख खत्री बताउँछन् ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ११ : ३१ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको