एजेन्सी– संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा एक ट्रकले नियन्त्रण गुमाएर अन्य सवारीसाधनलाई ठक्कर दिँदा १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।
यूएईको गृह मन्त्रालयका अनुसार दुर्घटनामा पाँच ट्रकसहित २८ वटा सवारीसाधन संलग्न थिए । मध्यरात हुनुभन्दा केही समयअघि फुजैराहको प्रवेशद्वारमा उक्त दुर्घटना भएको हो । त्यसबेला सडकमा सवारीसाधनको गति सुस्त थियो ।
ट्रकले अन्य सवारीसाधनलाई ठक्कर दिएपछि आगलागी भएको र आगो आसपासका अन्य गाडीमा समेत फैलिएको मन्त्रालयले जनाएको छ । आगलागीका कारण ठूलो मानवीय क्षति भएको बताइएको छ।
दुर्घटनामा घाइते भएका ३७ जनालाई उपचारका लागि अस्पताल लगिएको फुजैराह प्रहरीले जनाएको छ । मृत्यु भएकाहरूको पहिचानका लागि डीएनए परीक्षण भइरहेको छ ।
प्रहरीका अनुसार मृतकमा यूएईका नागरिकसमेत रहेका छन् । यूएईस्थित भारतीय वाणिज्य दूतावासले दुर्घटनामा भारतीय नागरिकको पनि मृत्यु भएको पुष्टि गरेको छ ।
दूतावासले मृतकका परिवारसँग सम्पर्कमा रहेर स्थानीय अधिकारीहरूसँगको समन्वयमा आवश्यक सहयोग उपलब्ध गराउने प्रयास भइरहेको जनाएको छ ।














प्रतिक्रिया