काठमाडौँ – प्रथम काठमाडौँ २८ वडाध्यक्ष कप अल नेपाल फिडे र्यापिड रेटिङ चेस प्रतियोगिताको पहिलो दिन शुक्रबार क्याटोगोरी ‘ए’ मा कमल श्रेष्ठ, ‘बी’ मा राधिका पौडेल र ‘सी’ मा राजकुमार राईले अग्रता लिएका छन्।
स्विस लिग प्रणालीमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न चार चरणको खेलमा क्याटोगोरी ‘ए’ का कमलले साढे ३ अंक बटुल्दै शीर्ष स्थान बनाएका हुन्। सुशील चौधरी ३ अंकसहित दोस्रो र नवीन तण्डुकार साढे २ अंकसहित तेस्रो स्थानमा छन्।
क्याटोगोरी ‘बी’ मा राधिका शतप्रतिशत जित निकाल्दै ४ अंकसहित शीर्ष स्थानमा छिन्। समान ३ अंक जोडेका प्रज्ञा पन्त र सिन्दिरा जोशी दोस्रो स्थानमा रहेका छन्। त्यस्तै, क्याटोगोरी ‘सी’ मा राजकुमार ४ अंकका साथ शीर्ष स्थानमा रहँदा पूर्णराज खड्का, पूर्वा लामा, महेन्द्रकुमार साम्बाहाम्फे र सुनील घिमिरे समान साढे ३ अंकसहित पछ्याइरहेका छन्।
क्याटोगोरी ‘डी’ मा भने अनमोल चन्द, दीपेन्द्र काफ्ले, पदमकृष्ण श्रेष्ठ र राजन शाह समान ४ अंकसहित संयुक्त शीर्ष स्थानमा छन्।
काठमाडौँ महानगरपालिका–२८ वडा कार्यालय र थापाथली चेस पार्कको संयुक्त आयोजनामा सुरु प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता छ। प्रतियोगिताको उद्घाटन काठमाडौँ–२८ का वडाध्यक्ष भाइराम खड्गीले गरे। सो अवसरमा थापाथली चेस पार्कका अध्यक्ष सानुराज बज्राचार्य र प्रतियोगिता निर्देशक इन्द्र बस्नेतलगायतको उपस्थिति थियो। प्रतियोगिताले नेपाली चेसको विकासमा थप टेवा पुर्याउने विश्वास निर्देशक बस्नेतले व्यक्त गरे।














प्रतिक्रिया