नारायणगढ– देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे (एनएच–७७) आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गरिन्।
स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि बढाइएको ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ निर्माणकार्य सात वर्षअघि सुरु गरिएको थियो । विभिन्न चरणमा सम्पन्न हुँदै आएको उक्त सडकको अधिकांश खण्डमा काम सम्पन्न भइसकेको छ । केही स्थानमा कालोपत्र तथा अलाइनमेन्ट मिलाउने काम बाँकी रहे पनि अन्य खण्डमा सडक निर्माण पूरा भएको जनाइएको छ ।
उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले स्थानीय तह आएपछि भरतपुरमा उल्लेखनीय विकास कार्य भएको बताइन्।
उनले भनिन्, ‘महानगरपालिकाको गौरवको प्राथमिकता प्राप्त योजनाका रूपमा हामीले यसलाई अघि बढाएका हौँ, देशकै सबैभन्दा लामो महानगरस्तरीय ‘रिङरोड’ अहिले राष्ट्रिय राजमार्ग (एनएच)का रूपमा विकास भएको छ ।’
केन्द्रीय सडकका रूपमा सूचीकृत भएसँगै अब यस सडकलाई केन्द्र सरकारले समेत प्राथमिकतामा राखेर हेर्ने उनले बताइन्।
अरबौँ रुपैयाँको लगानीमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा यो सडक निर्माण गरिएको उनले जानकारी दिइन् । सडक पूर्ण रूपमा पक्की भइसकेको उल्लेख गर्दै उहाँले कतिपय स्थानमा व्यवस्थापनका काम बाँकी रहेको बताए।
“जहाँ जसरी सम्भव हुन्छ, त्यसैअनुसार निर्माण गरिएको छ, जनतालाई मर्का पर्नेगरी बाटो विस्तार गरिएको छैन”, उनले स्पष्ट पारिन्।
सडकको मापदण्ड ३० मिटर कायम गर्ने महानगरपालिकाको निर्णय रहेको र वडाबाट आएका सुझावका आधारमा छलफल गरी व्यावहारिक ढङ्गले काम अघि बढाइएको उनले बताइन्।
आगामी दिनमा यस सडकलाई स्तरोन्नति गरी दुई लेनमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख दाहालले भरतपुरमा भौतिक विकासले फड्को मारेको उल्लेख गिरन्। उनले हजारौँ किलोमिटर सडक कालोपत्र भइसकेको जनाउँदै अब सामाजिक विकास र रोजगारी सिर्जनालाई महानगरले प्राथमिकतामा राख्ने बताइन्।
कार्यक्रममा नगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरको समग्र विकासमा चक्रपथले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले भौतिक र सामाजिक विकासलाई सँगसँगै अघि बढाउन महानगरपालिका निरन्तर लागिपरेको जानकारी दिए ।
सङ्घीय, प्रदेश र स्थानीय तहको लगानीमा निर्माण भएको रिङरोडको शिलान्यास २०७५ असार २९ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणगढको पुलचोकमा गरेका थिए । महानगरपालिकाका इन्जिनियर साकार लामाका अनुसार चक्रपथ सुरु भएको सात वर्षमा अधिकांश स्थानमा कालोपत्र सम्पन्न भएको छभने केही खण्डमा ‘अलाइनमेन्ट’ स्पष्ट नभएकाले काम बाँकी रहेको छ ।
चक्रपथका केही भाग राष्ट्रिय राजमार्गसँग समेत जोडिने उनले बताए। महानगरले तयार पारेको चक्रपथ नारायणगढको पुलचोकबाट नारायणी नदीतर्फ गोलाघाटसम्म पुग्छ भने आज उद्घाटन भएको गोन्द्राङबाट जङ्गलको किनारैकिनार पटिहानी–जगतपुर हुँदै पुनः गोलाघाटमै जोडिन्छ ।
यसैबीच, आजै भरतपुर महानगरको केन्द्र भाग हुँदै विभिन्न वडा भएर बग्ने ३० दशमलव दुई किलोमिटर लामो केरुङ्गा खोलाको सौन्दर्यीकरण कार्यअन्तर्गत भरतपुर–९ र १२ मा सम्पन्न भएका कामको पनि उद्घाटन गरिएको छ । महानगर प्रमुख दाहाल र उपप्रमुख अधिकारीले उक्त कार्यको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
सो अवसरमा प्रमुख दाहालले महानगर क्षेत्रभित्र बग्ने खोलालाई चरणबद्ध रूपमा सौन्दर्यीकरण गर्ने काम थालिएको बताए । उनले केरुङ्गा खोला महानगरको गौरवको आयोजनाका रूपमा अघि बढाइएको उल्लेख गर्दै भौतिक विकाससँगै सौन्दर्यीकरण र वातावरणीय सुधारका कामलाई पनि प्राथमिकता दिइएको बताए ।
पुङ्गी खोला र केरुङ्गा खोलालाई सौन्दर्यीकरण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने काम सुरु भइसकेको उनले जानकारी दिए । सुरु गरिएको काम सम्पन्न गर्ने जिम्मेवारी महानगरकै भएको भन्दै उनले सम्पूर्ण आयोजनालाई प्राथमिकताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
उपप्रमुख अधिकारीले महानगरको भित्री भागमा बग्ने खोलालाई व्यवस्थित गर्नु महानगरको दायित्व भएको बताए। खोलालाई व्यवस्थित गर्दै करिडोरका रूपमा विकास गर्दा वातावरणीय सन्तुलनमा समेत सकारात्मक प्रभाव पर्ने उनले उल्लेख गरे।
सो अवसरमा भरतपुर–९ का वडाध्यक्ष यमलाल कँडेल, भरतपुर–१२ का वडाध्यक्ष लेखराज पन्त, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, उपसचिव शेषकान्त पौडेल, सहरी पूर्वाधार विकास महाशाखा प्रमुख सन्तोष आचार्यलगायतको सहभागिता थियो ।













प्रतिक्रिया