काठमाडौं – दक्षिण भारतीय सुपरस्टार तथा तमिलगा वेत्रि कझगम (टीभीके) का अध्यक्ष विजय (जोसेफ विजय चन्द्रशेखर) करुर भागदौड प्रकरणको छानबिनका क्रममा सोमबार दिल्लीस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) को मुख्यालयमा उपस्थित भएका छन्।
सन् २०२५ सेप्टेम्बर २७ मा करुरमा आयोजित पार्टी घोषणा कार्यक्रममा भागदौड मच्चिँदा ४१ जनाको मृत्यु भएको थियो भने ६० भन्दा बढी घाइते भएका थिए। उक्त घटनालाई गम्भीर मान्दै सर्वोच्च अदालतको आदेशअनुसार सीबीआईले अनुसन्धान गरिरहेको छ।
सीबीआईसमक्ष बयान दिँदै विजयले घटनामा आफ्नो वा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको दाबी गरेका छन्। उनले कार्यक्रमस्थलमा अत्यधिक भीड देखिएपछि अवस्था नियन्त्रण बाहिर जान सक्ने आशंका गर्दै त्यहाँबाट बाहिरिएको स्पष्ट पारेका छन्।
विजय कार्यक्रमस्थलमा ढिलो पुगेका कारण भीड असन्तुलित भई भागदौड मच्चिएको आरोप लाग्दै आएको छ। तर टीभीकेका पदाधिकारीहरूले भने विजयको भनाइलाई समर्थन गर्दै पार्टीको कुनै गल्ती नरहेको अडान दोहोर्याएका छन्।
यसबीच, प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले विजयको ढिलाइले भीड व्यवस्थापनमा समस्या आएको निष्कर्ष उच्च अधिकारीहरूलाई बुझाइसकेको भारतीय मिडियाले जनाएका छन्। सीबीआईले अहिले प्रहरीको विवरण र विजय तथा पार्टी पदाधिकारीहरूको बयानबीचको अन्तरबारे विस्तृत विश्लेषण गरिरहेको छ।
सर्वोच्च अदालतको निर्देशनअनुसार पूर्वन्यायाधीश अजय रस्तोगीको निगरानीमा छानबिन भइरहेको छ। विजयसँगै टीभीकेका नेता आधव अर्जुन र निर्मल कुमार पनि सीबीआई मुख्यालय पुगेका छन्।
यस प्रकरणमा पूर्व अतिरिक्त प्रहरी महानिर्देशक एस. डेविडसन देवासिरवाथमलाई समेत चाँडै सोधपुछका लागि बोलाउने तयारी भइरहेको छ।













प्रतिक्रिया