काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न धेरै खर्च नगरी सानै पहलमा पनि सुरुआत गर्न सकिने बताएका छन्।
उनले जेन-जीको मुख्यमाग भनेकै सुशासन र भ्रष्टाचारविरुद्ध रहेको बताउँदै सबैले हरेक तहबाट राम्रो कामका थालनी गर्नुपर्ने बताए। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज निरीक्षणका क्रममा मन्त्री खरेलले जिल्ला प्रशासनले पछिल्लो समय गरेको प्रविधिमैत्री व्यवस्थाको प्रशंसा गरे ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले हाल सेवाग्राहीलाई पब्लिक अनाउन्समेन्ट सिस्टम (पीएसस) लागू गरेको छ । यो प्रणाली लागू भएपछि सेवाग्राहीलाई सेवा लिन सहज भएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सुशासन र नागरिक सरकारको भावनाअनुरूप पीएसस प्रणाली प्रभावकारी रहेको जानकारी दिए ।
उनले दुई वर्षअघि दुई घण्टा लगाएर आफ्नो छोरीको नागरिकता लिनुपरेको अनुभव सुनाउँदै अहिले प्रशासनबाट यो प्रणाली लागू भएपछि आधा घण्टामा सेवाग्राहीलाई नागरिकता प्रदान गर्न सकिएको बताए। उनले यो प्रणाली देशभरिकै जिल्ला प्रशासनमा लागू गर्न सके नागरिकले सुशासनको अनुभूति गर्न सक्ने धारणा राखे ।
सञ्चारमन्त्री खरेलले पीएसएस प्रणालीलाई देशव्यापी बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव राख्ने बताए । उनले जेन-जी आन्दोलनमा जलेको जिल्ला प्रशासनको भवन निरीक्षण गरेका थिए ।













प्रतिक्रिया