तराईका ग्रामीण भेगमा देखिन छाडे गोरुगाडा « Khabarhub

तराईका ग्रामीण भेगमा देखिन छाडे गोरुगाडा


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

राँझा– तराईका ग्रामीण भेगमा देखिने गोरु गाडा अहिले देख्नै मुस्किल हुन थालेको छ । कृषिमा भित्रिएको आधुनिकीकरण र यातायातका साधनको सहज पहुँचले गर्दा यो परम्परागत साधन विस्थापित हुँदै गएको हो । 

एक दशक अघिसम्म खेतबाट उखु, धान र पराल बोक्न तथा हाटबजारमा अन्न पुर्‍याउन गोरुगाडाकै प्रयोग हुन्थ्यो । तर, अहिले त्यसको ठाउँ ट्रर्‍याक्टर, टेलर र हाते ट्र्याक्टर (पावर टिलर) ले लिएका छन् । ट्र्याक्टरले धेरै सामान छिटो र छरितो पुर्‍याउने भएपछि किसानहरूको आकर्षण गोरुगाडाबाट हट्दै गएको छ ।

‘पहिले बिहेबारीमा जन्ती जान र टाढाका आफन्त भेट्नसमेत गोरुगाडाकै लस्कर लाग्ने गर्दथ्यो तर, अहिले ग्रामीण सडक कालोपत्र हुनु र मोटरसाइकल तथा अटो रिक्साको सङ्ख्या बढ्नुले गोरुगाडालाई ओझेलमा पारेको छ’, नेपालगञ्ज–१९ सुईयागाउँ निवासी ललवा माहुतले भने, ‘अहिले त घर घरमा ट्याक्टर र गाडी राख्न थालेपछि गोरु गाडा लोप भएर गए ।’

उनका अनुसार, गोरु गाडा हराउनुको अर्को मुख्य कारण गोरु पाल्ने किसानको सङ्ख्या घट्नु पनि हो । खेत जोत्नका लागि ट्याक्टरको प्रयोग बढ्न थालेपछि किसानले गोरु पाल्न छाडेका छन् । गोरु नै नभएपछि गाडा थन्किएका छन् भने कतिपय ठाउँमा गाडा बनाउने डकर्मी र सिकर्मीलेसमेत आफ्नो पेसा परिवर्तन गरिसकेका छन् ।

जतिबेला तराईमा मोटर गाडीको चलन आइसकेको थिएन, त्यो बेला सामान ढुवानीका लागि गोरु गाडा वा राँगागाडाको विकल्प थिएन । हरेक किसान र व्यापारीसँग घर घरमा गाडा हुन्थे । किसान खेतमा गोबर मल लैजान, पाकेको बाली भित्र्याउन यिनै गाडाको प्रयोग गर्ने गरेको राप्तीसोनारी गाउँपालिका–३ का स्थानीय अगुवा तुलसी थारुले बताइन् ।

‘यात्रा गर्दासमेत गोरु गाडा र राँगागाडाको प्रयोग हुन्थ्यो । पहिला–पहिला बिहेमा जन्ती लैजान र बेहुलाबेहुली बोक्नसमेत गोरुगाडाको प्रयोग गर्ने चलन थियो’,उनले भनिन्, ‘अहिले गाउँमा कहीँ कतै गोरु गाडा देखिने गरेपनि गाडा बनाउने कालीगढ पाइँदैन ।’

विशेष गरी गाउँमा काठे गोरुगाडाको प्रयोग हुने गरेको थियो । गोरुगाडालाई तान्न गोरु, राँगोसमेतलाई अप्ठ्यारो हुनुका साथै ढुवानी गर्दा कम सामग्री अट्ने, काठको अभाव लगायतका कारणले यसको प्रयोग घट्दै गएको उनको भनाइ छ । 

आधुनिकतासँगै मानिस सुविधाभोगी बन्दै व्यावसायिक हुन थालेपछि गोरु गाडा हराउँदै गएको राप्तीसोनारी–३ का वडाध्यक्ष मीनकुमार थारुले बताए । 

विगतमा लामो तथा छोटो दुरीका यात्रामा गोरु गाडा कुदाएको स्मरण गर्दै उनले भने, ‘जमाना धेरै अगाडि बढिसक्यो, अहिले घर घरमा मोटरसाइकल, ट्याक्टर र अन्य आधुनिक गाडी आइसके । अहिले प्रविधिको विकासले चलन फेरिएको छ । गोरु गाडा वा राँगागाडा अब इतिहास भइसकेको छ । गोरुगाडा बनाउने काठसमेत सहजै उपलब्ध हुँदैन । जसका कारण दिनानुदिन इतिहास सम्झाउने पुरानो सवारीसाधन गोरुगाडा लोपहुँदै गएको छ, तर लोपोन्मुख अवस्थामा रहेको गोरुगाडाको अहिले संरक्षण हुन नसक्दा गाउँ घरमा त्यसै फालिएका छन् ।’ अहिलेका केटाकेटीले त गोरुगाडा देख्नै पाउँदैनन् । 

‘हामीले यही गाडा चढेर कति मेला–बजार गयौँ, तर अब यो सबै सम्झनामा मात्र सीमित हुने भयो’, नेपालगञ्ज–१९ वसुदेवपुरका ७८ वर्षीय स्थानीय किसान हनिफ खानले दुःख व्यक्त गरे । गोरु गाडा इन्धनमुक्त र वातावरणमैत्री साधन हराउँदै जानु दुखद पक्ष हो । थारु समुदाय र मधेसी संस्कृतिसँग नजिकबाट जोडिएको यो साधन लोप हुँदा एउटा जीवन्त इतिहास र पहिचान पनि मेटिँदै गएकोमा वातावरण संरक्षणमा क्रियाशील नेपालगञ्जका तेजविक्रम शाह चिन्ता व्यक्त गर्छन् ।

उनका अनुसार, अहिले केही पर्यटकीय क्षेत्र र होटलहरूले पर्यटकलाई मनोरञ्जन दिनका लागि मात्र साङ्केतिक रूपमा गोरु गाडा राख्ने गरेका छन् । तर, वास्तविक रूपमा सामान ओसार्ने यो पुरानो इञ्जिन अब गाउँका सडकबाट पूर्ण रूपमा बिदा हुने तरखरमा छ ।  रासस

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  २ : १० बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु