काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जेन-जी आन्दोलनपछिको विषम पूर्ण राजनीतिक परिस्थिति र छोटो समयका बाबजुद पनि १९औँ अधिवेशनले महत्त्वपूर्ण काम गर्न सफल भएको बताएका छन् ।
आज बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले यो अधिवेशन समयका हिसाबले निकै छोटो तर कामका हिसाबले महत्त्वपूर्ण र भविष्यमा पनि गर्व गर्न लायक रहेको बताए ।
राष्ट्रियसभाको १९औँ अधिवेशनको पहिलो बैठक गत माघ ४ गते बसेको थियो । जम्मा २७ दिन चालु रहेको यो अधिवेशनमा नौवटा बैठक बसी १७ घण्टा २५ मिनेट समय सभाका काममा व्यतीत गरेको अध्यक्ष दाहालले बताए ।
यो अधिवेशनमा सात वटा बैठकका शून्य समयमा २९ जना सदस्यले ४८ मिनेट र तीन वटा बैठकका विशेष समयमा १५ जना सदस्यले तीन घण्टा ३९ मिनेट समय उपयोग गरेको उनले बताए । यो अधिवेशनमा एउटा बैठकमा प्रादेशिक सरोकार समय रहेको थियो ।
अध्यक्ष दाहालका अनुसार यो अवधिवेशनमा ‘अभौतिक प्राकृतिक सम्पदा संरक्षण विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ भने पर्यटन विधेयक २०८१, चलचित्र विधेयक २०८१ र राष्ट्रिय विधिविज्ञान प्रयोगशाला स्थापना, सञ्चालन विधेयक २०८१ लाई पारित गरी प्रतिनिधिसभामा पठाइएको छ । यसबीचमा सरकारले सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता लिएको छ ।
त्यस्तै, मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश २०८२ र नेपाल विशेष सभा ऐन दोस्रो संशोधन अध्यादेश सभामा पेस भई सर्वसम्मत स्वीकृत भइसकेको छ ।
सरकारलाई संसद्प्रति जबाफदेही बनाउन कानुन, न्याय तथा संसदीय मामिला, सङ्घीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको उनले जानकारी दिए ।
यसबीचमा गण्डकी प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरू नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने र राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले लिखित राजीनामा गरेको तथा सुदूरपश्चिमबाट निर्वाचित बलदेव बोहराको निधन भएको जानकारी पनि अध्यक्ष दाहालले बताए।
समयका हिसाबले छोटो समय चले पनि ऐतिहासिक रूपमा काम गर्न सकेको बताए । राजनीतिक अन्योलताका बीच महत्त्वपूर्ण काम गर्न सकिएको उनले उल्लेख गरे ।
आजको बैठकमा दलीय आधारमा बोल्ने क्रममा सांसदहरूले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष हुनुपर्ने धारणा राखेका थिए । सुरक्षा संयन्त्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्न पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
दलीय रूपमा आफ्नो धारणा राख्नेक्रममा डा वेदुराम भुसालले राष्ट्रियसभाको चालु अधिवेशनमा तीन विधेयक पारित, तीन अध्यादेश स्वीकृत र एउटा विधेयक छलफलका लागि समितिमा पठाइएको बताए ।
चार वटा अध्ययन प्रतिवेदन प्रस्तुत भएको र तीमध्ये तीन वटामा राष्ट्रियसभामा छलफल भएको जानकारी दिए । यही फागुन २१ गतेका लागि तय भएको चुनाव कस्तो वातावरणमा हुँदैछ भन्ने प्रश्न उठिरहेको बताए । निष्पक्ष र भयमुक्त वातावरणमा चुनाव हुन्छ वा हुँदैन ? भनेर प्रश्न उठिरहेको बताए । सरकार यसमा गम्भीर हुन पनि उहाँले सदनमार्फत ध्यानाकर्षण गराए ।
सांसद कृष्णबहादुर रोकायले राष्ट्रियसभाको चालु अधिवेशनमा नौ वटा बैठक बसेको र महत्त्वपूर्ण काम गर्न सकिएको बताए । राष्ट्रियसभा अन्तर्गतका समितिबाट पनि उल्लेख्य काम भएको उनको भनाइ छ ।
समितिबाट महत्त्वपूर्ण अध्ययन भई प्रतिवेदन तयार पारिएको र विधेयक माथि पर्याप्त छलफल भएको पनि सांसद रोकायले दाबी गरे ।
फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण रूपमा तोकिएको समयमै सम्पन्न हुन्छ वा हुँदैन ? र निर्वाचनको परिणामले मुलुकका विद्यमान समस्याबाट निकास दिन्छ वा दिँदैन भन्नेजस्ता अझै बाँकी रहेको उनले उल्लेख गरे ।
सांसद गोपाल भट्टराईले पनि निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिए । जेन-जी प्रदर्शन पछि सुरक्षा निकायको मनोबल कमजोर भएको उल्लेख गर्दै उनले आन्दोलनका क्रममा लुटिएका हातहतियार र कारागारबाट भागेका कैदीहरू नियन्त्रणमा आउन नसकेका कारण पनि सुरक्षा चुनौती रहेको बताए । निर्वाचन आचारसंहिता विपरीत समाज कल्याण परिषद्का कर्मचारी हटाइएको विषय पनि उनले सदनमा उठाए ।
सांसद तुलप्रसाद विश्वकर्माले राष्ट्रियसभाको १९औँ अधिवेशनमा छोटो समयमा महत्त्वपूर्ण काम गर्न सकिएको बताए । देशको परिस्थिति अन्योलपूर्ण अवस्थामा चुनावमा जानुपर्ने बाध्यता अहिले रहेको पनि उनले बताए ।
शान्तिसुरक्षा कायम गर्न सरकार दत्तचित्त भएर लाग्नुपर्ने पनि सांसद विश्वकर्माको धारणा थियो । जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्नलाई कारबाही हुन नसकेको विषय पनि उनले उठाए ।
आजको बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर सुनाएका थिए । राष्ट्रियसभाको १९औँ अधिवेशन शुक्रबार राति १२ः०० बजेदेखि अन्त्य हुँदैछ । रासस













प्रतिक्रिया