एजेन्सी– अफगानिस्तानको तालिवान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा सर्वसाधारणका घरहरूलाई लक्षित गरेको आरोप लगाउँदै कम्तीमा चार जना नागरिक मारिएको जनाएको छ।
दुई छिमेकी मुलुकबीच जारी सैन्य तनाव तेस्रो हप्तामा प्रवेश गरेका बेला यस्तो आरोप सार्वजनिक भएको हो। सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत पाकिस्तानका विमानहरूले कान्दाहार विमानस्थल नजिक रहेको निजी एयरलाइन्स ‘काम एयर’ सँग सम्बन्धित इन्धन डिपोमा पनि प्रहार गरेको जानकारी दिए । उनका अनुसार उक्त डिपोबाट नागरिक विमानका साथै संयुक्त राष्ट्रसङ्घका उडानहरूलाई समेत इन्धन आपूर्ति हुँदै आएको थियो ।
यस घटनाबारे पाकिस्तान सरकार वा सेनाले तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । पछिल्ला हप्ताहरूमा पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र बनेको छ । फेब्रुअरीको अन्त्यदेखि दुवै पक्षले एकअर्काका सैन्य प्रतिष्ठानलाई लक्षित गरी आक्रमण गर्दै आएका छन् । काबुलले सीमाक्षेत्रमा भएको पाकिस्तानी आक्रमणको जवाफस्वरूप आफ्ना बलहरूले पाकिस्तानी चौकीहरूमा प्रहार गरेको बताउँदै आएको छ ।
यता पाकिस्तानले भने आफ्ना कारबाहीहरू पाकिस्तानी तालिवान र सीमावर्ती क्षेत्रमा सक्रिय उनीहरूको समर्थन सञ्जाललाई लक्षित गरी गरिएको दाबी गर्दै आएको छ । अफगानिस्तानले भने त्यस्तो समूहलाई औपचारिक रूपमा मान्यता दिएको छैन।
दुवै पक्षले पछिल्ला वर्षहरूकै सबैभन्दा घातक भिडन्त भएको दाबी गर्दै आएका छन् । इस्लामाबादले त हालको अवस्थालाई अफगानिस्तानसँगको ‘खुला युद्ध’ जस्तै परिस्थिति भएको रूपमा व्याख्या गरेको छ ।
मुजाहिदले आफ्नो वक्तव्यमा पाकिस्तानी आक्रमणहरूले पक्तिया, पक्तिका लगायत विभिन्न प्रान्तका नागरिक क्षेत्र र निर्जन स्थानहरूलाई समेत निशाना बनाएको उल्लेख गर्दै ती आक्रमणहरूको ‘जवाफ नदिइकन नजाने’ चेतावनी दिए ।
काबुल प्रहरीका प्रवक्ता खालिद जादरानका अनुसार राजधानीमा भएका आक्रमणका कारण बालबालिकासहित कम्तीमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । देशका अन्य भागहरूमा कति क्षति भयो भन्नेबारे स्पष्ट विवरण भने सार्वजनिक भएको छैन ।
यसैबीच, चीनका विशेष दूत युए सियाओओङ काबुल भ्रमणपछि इस्लामबाद पुगेको समयमा पनि क्षेत्रीय सुरक्षा र आतंकवादी समूहको खतरा मुख्य छलफलको विषय बनेको थियो ।
अफगानिस्तानका लागि पाकिस्तानका विशेष दूत मोहम्मद सादिकले एक्समा लेख्दै उनले चिनियाँ दूतसँग भेटेर तहरीक–ए–तालिबान पाकिस्तान ९टिटिपी० र पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन ९इटिआइएम० जस्ता समूहहरूले निम्त्याएको सुरक्षा चुनौतीबारे छलफल गरेको बताए । दुवैले स्थायी शान्ति र स्थिरताका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा सहमति जनाएको पनि उनले उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय समुदायबाट संयम अपनाउन गरिएको बारम्बारको आग्रहले भने अहिलेसम्म खास प्रभाव पार्न सकेको देखिँदैन । पाकिस्तानले यसअघि आफ्ना आक्रमणहरू केवल ‘खवारीज’ नामले सम्बोधन गर्ने प्रतिबन्धित पाकिस्तानी तालिवान लडाकूहरूलाई लक्षित गरिएको दाबी गर्दै आएको छ । इस्लामाबादले अफगानिस्तानको तालिवान सरकारमाथि उक्त समूहलाई शरण दिएको आरोप लगाउने गरेको छ, तर काबुलले त्यसलाई अस्वीकार गर्दै आएको छ ।
सन् २०२१ मा अफगान तालिवान पुनः सत्तामा फर्किएपछि टिटिपीले पाकिस्तानभित्र र सीमावर्ती क्षेत्रमा आक्रमण बढाएको पाकिस्तानको दाबी छ । इस्लामाबादले अफगान भूभागबाट सञ्चालित टिटिपी र अन्य आतंकवादी समूहलाई नियन्त्रण गर्न प्रभावकारी कदम नचालिएसम्म आफ्नो सैन्य कारबाही जारी रहने चेतावनी दिएको छ ।
हालको सैन्य टकरावले गत अक्टोबरमा कतार र टर्कीको मध्यस्थतामा भएको युद्धविरामसमेत अन्त्य गरिदिएको छ । कतारमा हस्ताक्षर भएको उक्त युद्धविरामपछि इस्तानबुलमा छ दिनसम्म वार्ता भएको थियो, जसले युद्धविराम विस्तार गर्ने र नोभेम्बरमा तेस्रो चरणको वार्ता गर्ने सहमति गराएको थियो । तर पछिल्ला झडपहरूले फेरि दुई छिमेकी मुलुकलाई युद्धको नजिक पुर्याएको संकेत दिएका छन् ।













प्रतिक्रिया