काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालको राजनीतिक समीकरणमा उथलपुथल ल्याएको छ। २०७९ को सानो दल राष्ट्रिय स्वतन्त्र पार्टी भीमकाय पहाडका रुपमा खडा हुँदा ठूला भनिएकाहरू सानो हैसियतमा पुगेका छन् ।
यसपटकको निर्वाचन परिणामले संसद्मा लगातार देखिइरहेका परम्परागत राजनीतिक अनुहारलाई करिब ९५ प्रतिशत बिदा गरिदिएको छ। तर अर्कातिर विभिन्न पेशा र व्यवसायबाट आएका युवा र व्यवसायीहरूले प्रवेश पाएका छन् । यो चुनावले पर्यटन, जलविद्युत्, यातायात, व्यापार, चिकित्सा, कानुन क्षेत्रका दर्जनौँ व्यक्तिहरूलाई जनप्रतिनिधिका रुपमा संसद्मा प्रवेश गराएको छ।
नेपालको राजनीतिमा उद्योगी–व्यवसायीहरूको सक्रियता नयाँ होइन। परम्परागत दलमा लागेका व्यवसायीलाई पाखा लगाउँदै यस पटक रास्वपामा जोडिएकाहरूले संसद्को ढोका खोलेका छन् । विगतका निर्वाचनहरूमा पनि व्यवसायिक पृष्ठभूमिकाले पुराना दलमार्फत् संसद् यात्रा गर्थे ।
अघिल्ला चुनावमा त्यसरी संसद् जान व्यापारीहरूले समानुपातिक सूचीलाई उपयोग गर्थे । तर यसपटक फरक सन्देश गएको छ। ठूला ‘कर्पोरेट’ घरानाका चर्चित व्यवसायीभन्दा सामान्य व्यवसायी र नयाँ अनुहारहरूले मतदाताको विश्वास जितेका छन् ।
यसपटकको निर्वाचनमा चर्चित उद्योगपति तथा नेपालका एकमात्रै डलर अर्बपति विनोद चौधरी पराजित भए । उनलाई नेपाली कांग्रेसबाट निष्कासित गरिएका विक्रम खनालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेर हराइ दिए ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट कांग्रेस उम्मेदवार बनेका चौधरी रास्वपाका उम्मेदवार खनालसँग ठूलो मतान्तरले पराजित भए। अघिल्लो निर्वाचनमा त्यही क्षेत्रबाट विजयी चौधरीले यसपटक मतदाताको समर्थन जोगाउन सकेनन्।
कांग्रेसले कारबाही गरेपछि रास्वपातिर लागेका खनालले ४५ हजार २४१ मत प्राप्त गर्दा चौधरीले ९ हजार ५०२ मात्रै पाए। यस परिणामले मतदाताको मनोविज्ञानमा आएको परिवर्तनलाई पनि संकेत गरेको विश्लेषण गरिएको छ।
जसले जिते
यद्यपि, व्यवसायिक पृष्ठभूमिका केही नयाँ अनुहार नतिजा आफ्नो पक्षमा पार्दै संसद् पुगेका छन्। बर्दिया क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार तथा पर्यटन व्यवसायी श्रीधर पोख्रेल पहिलो प्रयासमै विजयी भए।
उनले २९ हजार ६७८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार किशोरसिंह राठौर पराजित हुन पुगे। २५ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय पोख्रेल बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रकृति पथप्रदर्श पनि हुन्। ठाकुरद्वारामा रिसोर्ट चलाउँदै आएका उनले पर्यटन क्षेत्रको नीतिगत सुधार र अधुरा योजना पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यस्तै उदयपुर–२ बाट पर्यटन व्यवसायी सूर्यबहादुर तामाङ पनि रास्वपाबाटै संसद् प्रवेश गर्न सफल भए । कटारी नगरपालिका–७ मर्जेतपुरका ४१ वर्षीय तामाङले १४ हजार ८०२ मत प्राप्त गरे । उनले एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीलाई दोब्बर मतले हराए । पुराना दलहरूले जनअपेक्षाअनुसार विकास गर्न नसकेको, सुशासन दिन र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको कुरालाई एजेन्डा बनाउँदै उनी चुनावी मैदानमा होमिएका थिए।
सिन्धुपाल्चोक–१ बाट जलविद्युत् व्यवसायी भरतप्रसाद पराजुलीले पनि रास्वपाबाटै फराकिलो जित हासिल गरेका छन्। उनी ४५ मेगावाट क्षमताको निर्माणाधीन ब्रहृमायणी जलविद्युत् आयोजनाका अध्यक्षसमेत हुन्। पराजुलीले २४ हजार ४१२ मत प्राप्त गर्दै संसद्को टिकट काटेका छन्।

स्याङ्जा–२ बाट पनि व्यवसायमा सक्रिय झविलाल डुम्रे रास्वपाबाटै विजयी भएका छन्। उनले २५ हजार ३५४ मत प्राप्त गरे । उनले कांग्रेसका भागवतप्रकाश मल्ल ४ हजार ५२४ मतान्तरले पराजित गरे।
तनहुँ क्षेत्र नम्बर-१ बाट रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले दोस्रो पटक विजयी भए । उनले ३८,०४० मतसहित संसद् यात्रा तय गरे। वाग्लेले दोस्रो पटक पनि कांग्रेसका डा. गोविन्द भट्टराईलाई हराए ।
उनले २१,८०९ मतान्तरसहित नेपाली कांग्रेसका भट्टराईलाई पराजित गरे। वाग्ले कांग्रेसबाटै राजनीति थालेका चर्चिच अर्थशास्त्री हुन्। उनी राजनीतिमा आउनुअघि न्यूयोर्कस्थित यूएनडीपी क्षेत्रीय एसिया तथा प्रशान्त क्षेत्रीय ब्यूरोमा प्रमुख आर्थिक सल्लाहकार थिए।
नेकपा(एमाले) का युवा नेता सुहाङ नेम्बाङ पनि प्रतिनिधि सभा सदस्यमा विजयी भए । उनी पेशाले वकिल हुन् । इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनी वकालतसँगै फुटबल क्बलका सञ्चालक र समाजसेवी पनि हुन् । उनले २२ हजार ४२६ मतसहित दोस्रो पटक जित निकाले ।

राजनीतिमा प्रवेश गर्नुअघि नेम्बाङले आफूलाई कानुन व्यवसायीका रुपमा स्थापित गरे। उनले काठमाडौंको थापागाउँमा कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च चलाइरहेका छन् । जहाँ उनले व्यावसायिक र संवैधानिक मामिलामा केन्द्रित कानुनी अभ्यास गरे। उनले एमालेभित्र कानून विभाग सदस्यको भूमिका निर्वाह गरिसकेका छन् । अहिले सुहाङ एमाले केन्द्रीय सदस्य पनि छन् ।
यसपटकको निर्वाचनमा सुर्खेतबाट आएको एउटा रोचक संयोग पनि चर्चामा छ । सुर्खेत–१ बाट यातायात व्यवसायी विष्णुबहादुर खड्का कांग्रेसबाट २६ हजार ८९७ मतसहित विजयी भए। उता सुर्खेत–२ बाट अर्का यातायात व्यवसायी रमेशकुमार सापकोटा रास्वपाबाट ३० हजार ८४२ मतसहित विजयी भए।
रोचक त छ भने यी दुवै उम्मेदवार वीरेन्द्रनगर नगरपालिका–७ इत्रामका बासिन्दा हुन् । उनीहरूको घरबीचको दूरी करिब दुई सय मिटरमात्रै छ। डेढ वर्षअघिसम्म एउटै पार्टीमा रहेका यी दुई व्यवसायी यसपटक फरक–फरक दलबाट चुनाव लडेर संसद् पुगेका छन्।
हिमाली जिल्ला डोल्पाको निर्वाचन पनि यसपटक रोचक बन्यो। त्यहाँ निर्माण व्यवसायी दाजुभाइबीच प्रतिस्पर्धा भयो। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले आफ्नै सहोदर भाइलाई पराजित गरे । भाइ कर्णबहादुर कांग्रेस उम्मेदवार थिए । यो प्रतिस्पर्धामा धनबहादुर विजयी भए। उनले ६ हजार ८०२ मत प्राप्त गरे ।
यसैगरी पर्सा–४ बाट व्यवसायी टेकबहादुर शाक्य रास्वपाबाट २८ हजारभन्दा बढी मतसहित विजयी भए। उनी नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक उपमहासचिव हुन्। उता काभ्रेपलान्चोक–२ बाट व्यवसायी बदन भण्डारी रास्वपाका पनि रास्वपाबाट संसद् प्रवेश गर्न सफल भएका छन्। उनी नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक उपमहासचिव पनि हुन् ।
यसैगरी, व्यवसायिक पृष्ठभूमिका अन्य नयाँ अनुहार पनि संसद्मा प्रवेश गरेका छन्। दोहोरिएका हरि ढकाल र गणेश पराजुली पनि व्यवसायी हुन् । उता खल्ती डिजिटल वालेटका सहसंस्थापक तथा निर्देशक अरविन्द साह पनि संसद् पुगेका छन् । बाजेको सेकुवाकी सञ्चालक नितिमा भण्डारी, मेडिकल व्यवसायी रहबर अन्सारीजस्ता उद्यमीहरू पनि संसद्मा देखिने छन् ।
यसपटकको निर्वाचनले नयाँ पुस्तालाई राजनीतिक शक्तिका रुपमा उदय गराइदिएको छ। गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा अग्रपंक्तिमा देखिएका २६ वर्षीय मनिष खनाल पनि नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ बाट विजयी भए । रास्वपाबाट टिकट लिएका उनले एमाले उम्मेदवार तिलकबहादुर महतलाई २५ हजार ५९२ मतान्तरले हराए ।

कानुन विषयका विद्यार्थी तथा अधिवक्ता खनाल जेन–जी आन्दोलनपछि पनि नागरिक अभियान र राजनीतिक संवादमा सक्रिय थिए। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग जेन–जी समूहबाट भएका विभिन्न संवादमा पनि उनी सहभागी भए ।
गत मंसिर २४ गते सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता बनाउन उनको भूमिका थियो । खनालले संसद्मा युवापुस्ताको आवाज उठाउने अपेक्षा छ । उनले भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गर्ने, पारदर्शिता र सुशासनका पक्षमा सक्रिय हुने प्रतिबद्धता जनाएका छन् ।
फागुन २१ को निर्वाचनले नेपाली संसद्मा व्यवसायीसिहत पेशागत विविधता र नयाँ पुस्ताको प्रतिनिधित्वलाई बलियो बनाइदिएको छ। मतदाताले परम्परागत राजनीतिक अनुहारभन्दा नयाँ सोच, अनुभव र पृष्ठभूमिका उम्मेदवारलाई अवसर दिएका छन् ।
राजनीतिक विश्लेषकहरू मतदाताको यो निर्णयले आगामी दिनमा नेपालको राजनीतिमा व्यापक सुधार आउने आशा गरेका छन् । उनीहरू अब नेपालको राजनीति नयाँ पुस्ताबीच प्रतिस्पर्धात्मक र बहुआयामिक बन्ने विश्वास व्यक्त गरिरहेका छन् ।













प्रतिक्रिया