विपन्नका लागि छुट्याइएका हजारौँ बेड खाली, किन पुग्दैनन् बिरामी ? « Khabarhub

विपन्नका लागि छुट्याइएका हजारौँ बेड खाली, किन पुग्दैनन् बिरामी ?


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने अधिकार सुनिश्चित गरे पनि व्यवहारमा भने विपन्न नागरिकहरू अझै उपचारको पहुँचबाट टाढा छन् । सरकारले सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई कुल शय्याको १० प्रतिशत बेड विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क छुट्याउन अनिवार्य गरे पनि हजारौँ बेड खाली हुँदा लक्षित वर्गका नागरिक भने उपचार नपाएर अलपत्र पर्ने अवस्था देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनलाइन प्रणाली अनुसार देशभरका अस्पतालमा रहेका २३ हजार २ सय शय्यामध्ये २ हजार ६ सय ७१ बेड निःशुल्क उपचारका लागि छुट्याइएका छन् । तर तीमध्ये हाल जम्मा ३ सय ४१ बेड मात्रै प्रयोगमा छन् भने २ हजार ३ सय ३० बेड खाली छन् । दैनिक हजारौँ बिरामीको भिडभाड हुने वीर, टिचिङ, गंगालाल लगायत केन्द्रका ठूला अस्पतालहरुमा पनि जम्मा ४ बेड ५ बेड प्रयोगमा रहेका तथ्यांकले देखाएको छ ।

एकातर्फ उपचार खर्च जुटाउन नसकेर बिरामीहरू अस्पतालको दैलोमा छटपटाइरहेका बेला उनीहरूकै लागि छुट्याइएका हजारौँ बेड प्रयोगविहीन रहेका छन् ।

कुन अस्पतालमा कति बेड खाली ?

स्वास्थ्य मन्त्रालयको निःशुल्क स्वास्थ्य पोर्टलले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल मेडिकल कलेजमा निःशुल्क उपचारका लागि छुट्याइएका ८४ बेडमध्ये एउटा पनि प्रयोगमा छैनन् । यस्तै, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा छुट्याइएका ५०/५० बेडमध्ये कुनै पनि बेड प्रयोग भएको देखिँदैन ।

काठमाडौंको मनमोहन मेमोरियल मेडिकल कलेज, ललितपुरको किस्ट मेडिकल कलेज, बीएण्डबी अस्पताल तथा नेपाल मेडिसिटी अस्पतालमा छुट्याइएका ३०-३० बेडमध्ये पनि कुनै बिरामी भर्ना नभएको तथ्यांकमा उल्लेख छ ।

सरकारी अस्पतालहरूको अवस्था पनि सन्तोषजनक देखिँदैन । देशको सबैभन्दा ठूलो सरकारी अस्पतालमध्ये वीर अस्पतालमा ६५ निःशुल्क बेडमध्ये जम्मा ५ वटा मात्र प्रयोगमा छन् भने ६० बेड खाली छन् । परोपकार प्रसूति तथा महिला अस्पतालमा ४१ बेडमध्ये ८ वटा मात्र प्रयोगमा छन् भने ३३ बेड खाली रहेका छन् ।

त्यस्तै देशभरीका अन्य अस्पतालहरुमा पनि अवस्था त्यस्तै रहेको तथ्यांकले देखाएको छ ।

अस्पतालको तर्क : ‘खाली देखिए पनि प्रयोगयोग्य हुँदैन’

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्यारा अनलाइन प्रणालीमा देखिने तथ्यांकले वास्तविक अवस्था नदेखाउने दाबी गर्छन् । उनका अनुसार निःशुल्क बेडहरू विभागगत रूपमा छुट्याइएकाले एउटा विभागमा बिरामी नभएर बेड खाली देखिए पनि अर्को विभागका बिरामीलाई त्यहाँ सार्न मिल्दैन ।

‘युरोलोजीको बेड खाली भए पनि अर्थोपेडिक बिरामीलाई त्यहाँ राख्न मिल्दैन । त्यसैले प्रणालीमा खाली देखिए पनि व्यवहारमा फ्री बेड प्रायः प्रयोगमै हुन्छन्,’ उनले भने । तर, वीर अस्पतालसहित अन्य ठूला सरकारी अस्पतालमा समेत फ्री बेडको न्यून प्रयोग देखिनुले अस्पतालहरूको दाबीमाथि प्रश्न उठाएको छ ।

करोडौँ रुपैयाँ शोधभर्ना, सेवा उपयोग न्यून

स्वास्थ्य बीमा बोर्डले विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत हालै २७ करोड ३७ लाख ७८ हजार रुपैयाँभन्दा बढी रकम विभिन्न अस्पताललाई शोधभर्ना स्वरूप उपलब्ध गराएको छ । सबैभन्दा बढी रकम शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले २ करोड ५९ लाख रुपैयाँभन्दा बढी प्राप्त गरेको छ ।

त्यसपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ करोड ७८ लाख रुपैयाँ, गौतम बुद्ध कम्युनिटी हार्ट अस्पतालले १ करोड ५९ लाख रुपैयाँ तथा पाटन अस्पतालले १ करोड ८ लाख रुपैयाँभन्दा बढी प्राप्त गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालले ६९ लाख ७२ हजार, वीर अस्पतालले ४३ लाख ९२ हजार तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ७२ लाख २४ हजार रुपैयाँ सोधभर्ना प्राप्त गरेका छन् ।

किन प्रभावकारी भएन कार्यक्रम ?

स्वास्थ्य क्षेत्रका विज्ञहरुका अनुसार अनुसार विपन्न उपचार कार्यक्रम प्रभावकारी हुन नसक्नुका मुख्य कारणहरूमा सूचनाको अभाव, जटिल प्रशासनिक प्रक्रिया, अस्पतालहरूको उदासीनता र कमजोर अनुगमन प्रमुख छन् ।

धेरै नागरिकलाई अस्पतालमा निःशुल्क बेडको व्यवस्था रहेको जानकारी नै हुँदैन । सेवा लिन स्थानीय तहको सिफारिस, विपन्न परिचयपत्र वा अन्य कागजात आवश्यक पर्ने भएकाले पनि सेवाग्राही झन्झटमा पर्ने गरेका छन् ।

त्यस्तै, केही अस्पतालमा निःशुल्क बेडमा भर्ना भएका बिरामीप्रति विभेदपूर्ण व्यवहार हुने गुनासोसमेत आउने गरेको छ ।

नयाँ कार्यविधिबाट सुधारको अपेक्षा

यस्ता समस्या समाधान गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ स्वीकृत गरेकी छन् ।

कार्यविधिले निःशुल्क उपचार पाउने बिरामीलाई अन्य बिरामीसरह शय्या सुविधा, चिकित्सक परामर्श, शल्यक्रिया, प्रयोगशाला परीक्षण तथा औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था स्पष्ट गरेको छ ।

साथै सेवा व्यवस्थापनलाई पारदर्शी बनाउन ‘निःशुल्क उपचार पोर्टल’ सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य अधिकारका क्षेत्रमा काम गर्ने सरोकारवालाहरूले भने सरकारले अस्पतालहरूलाई उपलब्ध गराउने शोधभर्ना रकमलाई सेवा उपलब्धिसँग जोडेर कडा अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

अन्यथा कागजमा हजारौँ फ्री बेड देखिए पनि गरिब नागरिक उपचार नपाएर दुःख पाइरहने अवस्था अन्त्य नहुने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ७ : ०२ बजे

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने