काबुल- छिमेकी मुलुकहरूमा कागजातविहीन विदेशी नागरिकमाथि कडाइ बढ्दै गएसँगै अफगान शरणार्थीहरूको स्वदेश फिर्ती तीव्र बनेको छ। आइतबार मात्रै चार हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएका छन्।
सरकारी समाचार संस्था बख्तर न्युज एजेन्सीका अनुसार आइतबार ७९० अफगान परिवारका कुल ४ हजार १०० जना अफगानिस्तान फर्किएका हुन्।
फर्किएका परिवारमध्ये ७७२ परिवारलाई सीमा नाकामै आवश्यक सहयोग उपलब्ध गराएर सम्बन्धित गृह प्रान्तमा पठाइएको छ भने बाँकी १८ परिवारलाई पनि छिट्टै उनीहरूको गृह प्रान्तमा पठाइने तयारी भइरहेको जनाइएको छ।
स्वदेश फर्किने अधिकांश शरणार्थी पाकिस्तानबाट आएका हुन्। दशकौँदेखि लाखौँ अफगान शरणार्थीलाई आश्रय दिँदै आएका पाकिस्तान र इरानले पछिल्लो समय कागजातविहीन विदेशी नागरिकलाई आफ्नो देश छाड्न दबाब बढाएका छन्।
यसअघि अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले गत महिना मात्रै ७६ हजार १८१ अफगान शरणार्थी स्वदेश फर्किएको जानकारी दिएका थिए। उनका अनुसार स्वदेश फिर्तीको प्रक्रिया निरन्तर जारी छ।
अफगान अधिकारीहरूका अनुसार सन् २०२१ को अगस्टमा वर्तमान सरकार सत्तामा आएयता ८० लाखभन्दा बढी अफगान शरणार्थी विभिन्न देशबाट स्वदेश फर्किसकेका छन्।












प्रतिक्रिया