गगनमाथि पूर्णबहादुरको प्रहार : अवैध विशेष महाधिवेशनबाट सभापति बने, चुनावमा आफू र पार्टीलाई खाल्डामा पारे « Khabarhub

गगनमाथि पूर्णबहादुरको प्रहार : अवैध विशेष महाधिवेशनबाट सभापति बने, चुनावमा आफू र पार्टीलाई खाल्डामा पारे


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि कडा आक्रोश पोखेका छन्।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको नेपाली कांग्रेस संस्थापन इतर समूहअन्तर्गत शेरबहादुर देउवा पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले गगनको नेतृत्व र विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाएका हुन्।

खड्काले थापा विशेष महाधिवेशनबाट सभापति बने पनि फागुन २१ गतेको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ छाडेर सर्लाही क्षेत्र नम्बर ४ पुगेपछि पराजित भएको र त्यसको असर पार्टीमा समेत परेको दाबी गरे।

‘गगन थापा अवैधानिक रूपमा विशेष महाधिवेशनबाट सभापति त भए। तर फागुन २१ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्लाही क्षेत्र नम्बर ४ मा गएर खाल्डामा परे,’ खड्काले भने, ‘फागुन २१ को चुनावबाट पार्टी पनि खाल्डामा पर्‍यो। पार्टीले पनि गगनको नेतृत्वमा नराम्रोसँग धोका पायो।’

उनले निर्वाचनमा कांग्रेसले कमजोर परिणाम व्यहोरेपछि आफूहरूले पुनः केन्द्रीय कार्यसमितिको बैठक बोलाएको बताए।

खड्काका अनुसार सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय सदर गर्दै गगन थापालाई सभापतिका रूपमा मान्यता दिए पनि देउवा पक्षले त्यसलाई न्यायको दृष्टिले उचित नठानेको थियो।

‘सर्वोच्च अदालतको डिभिजन बेन्चले हामीलाई हराएर अवैधानिक विशेष महाधिवेशनलाई मान्यता दिलायो। हामीले अदालतको निर्णयलाई न्यायको नजरमा बेठिक छ भन्यौँ,’ उनले भने, ‘त्यसमा हाम्रो असहमति भए पनि पार्टी मिलाउन लाग्यौँ।’

‘गगन आफैं मेरो घरमा आएर पार्टी मिलाऊँ भने’

खड्काले गगन थापा आफैं आफ्नो निवासमा आएर पार्टी एकता गर्न प्रस्ताव गरेको दाबी गरे। उनका अनुसार वैशाख ६ गते थापा आफ्नो निवासमा आएर पार्टी मिलाउन प्रस्ताव गरेका थिए।

‘वैशाख ६ गते गगन थापा मलाई भेट्न मेरो निवासमा आए। उनी आएर दाइ, अब पार्टी मिलाऊँ, तपाईंको प्रस्ताव ठीक छ भने,’ खड्काले भने।

क्रियाशील सदस्यता र भ्रातृसंस्थासहितका विषय मिलाउने सहमति गर्दै तीन दिनभित्र पुनः भेट्ने बताए पनि थापा वैशाख २२ गते मात्र आफ्नो निवासमा फर्किएको खड्काले बताए।

त्यसक्रममा आफूले राखेको प्रस्तावमा थापाले समेत सहमति जनाएको तर त्यसपछि छलफलका लागि आउने भनिएको दिन उनी नआएको खड्काको दाबी छ।

त्यसपछि जेठ २३ गते कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा आफ्नो निवासमा आएको र करिब डेढ घण्टा छलफल भएको उनले बताए। शर्माले दिएको सातबुँदे प्रस्तावमा आफू र शेखर कोइरालाले छलफल गरी ‘बटमलाइन’ तय गरेको खड्काको भनाइ छ।

‘कुनै पद मागेका छैनौँ’

खड्काले कांग्रेसभित्रको विवाद पदका लागि नभएको दाबी गरे। नियमित महाधिवेशनबाट बनेको नेतृत्व र विशेष महाधिवेशनबाट बनेको कमिटीलाई एक ठाउँमा नल्याएसम्म विवाद समाधान नहुने उनको भनाइ छ।

‘विवाद भनेको गगन थापाहरूबाट अवैधानिक विशेष महाधिवेशन गरियो। शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिलाई खारेज गरेर अवैधानिक विशेष महाधिवेशनको कमिटीलाई मान्यता दिइयो,’ उनले भने।

निर्वाचन आयोगले समेत देउवाको हस्ताक्षर हटाएर गगन थापाको हस्ताक्षरलाई मान्यता दिएको विषय नै विवादको मुख्य कारण भएको खड्काले बताए।

‘हामीले गगन थापासँग कुनै पद मागेका छैनौँ। जबसम्म नियमित महाधिवेशन र विशेष महाधिवेशनको कमिटीलाई एक ठाउँमा ल्याएर मिलाइँदैन, तबसम्म समस्या हल हुँदैन,’ उनले भने।

गगन थापा पार्टी एकताका लागि आफूहरूलाई भेट्न आएको भए पनि सहमति कार्यान्वयनतर्फ अघि नबढेको खड्काले आरोप लगाए।

‘हामी मिलाऊँ भन्दै जाने, गगन थापाहरू उल्टो बाटोमा हिँडिरहनुभएको छ,’ उनले भने।

‘सानेपामा नाटक मञ्चन भइरहेको छ’

खड्काले कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा अहिले पनि ‘नाटक मञ्चन’ भइरहेको टिप्पणी गरे। देश र संविधान संकटमा रहेको तथा सरकार अवैधानिक तरिकाले अघि बढिरहेको उनको आरोप थियो।

विशेष महाधिवेशनबाट बनेका महामन्त्री र उपसभापतिहरूले १५औँ महाधिवेशनको समयसीमाबारे दिएको अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाए।

वैशाख १५ गतेभित्र १५औँ महाधिवेशन नगरे कांग्रेस पार्टी अवैधानिक हुने भनाइ गलत भएको उनको दाबी छ।

‘आज बिहान सुनेँ, विशेषबाट बनेका महामन्त्री र उपसभापतिहरूको कुरा। वैशाख १५ भित्र १५औँ महाधिवेशन नगरे कांग्रेस पार्टी अवैधानिक हुन्छ रे! नेपाली कांग्रेसको विधानले चार वर्षमा महाधिवेशन भन्छ। एक वर्ष केन्द्रीय कार्यसमितिले कार्यकाल थप्न सक्छ,’ खड्काले भने।

उनले आफूहरूविरुद्ध गलत प्रचार भइरहेको दाबी गर्दै भने, ‘उहाँहरू सफेद झूट बोलिरहनुभएको छ। उहाँहरू क्रियाशील अध्यावधिक नभए पद जान्छ भन्नुहुन्छ। हामी पद जाँदैन भनिरहेका छौँ।’

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ७ : ३३ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त