चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक « Khabarhub

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका रामप्रबोध पण्डितको हात रोकिएको थिएन । चाकामा राखिएको माटो घुमाउँदै उनले केही बेरमै सुन्दर माटाको भाँडो तयार पारे । छेउमै तयार भएका भाँडाको थुप्रो बढ्दै थियो ।

“अरू बेला त फुर्सद नै हुन्छ । चौरचन लगायतका चाडपर्व आएपछि भने माटोले पनि बोलाउन थाल्छ”, उनले मुस्कुराउँदै भने, “जति बनाए पनि माग पूरा गर्न गाह्रो भइरहेको छ ।” पर्व नजिकिएसँगै धनुषाका कुम्हाले परिवारलाई यति बेला भ्याइनभ्याइ छ ।

वर्षभरि माटाका भाँडा बनाएर जीविका चलाउन कठिन हुँदै गए पनि चौरचनजस्ता पर्वले उनीहरूको पुरानो पेसालाई केही दिनका लागि भए पनि फेरि चलायमान बनाइदिएको छ । चौरचनका लागि माटाका भाँडाको विशेष महत्त्व छ । प्लास्टिक, स्टिल र अन्य आधुनिक सामग्रीको प्रयोग बढे पनि धार्मिक विधिमा प्रयोग हुने माटाका भाँडा भने अझै विस्थापित भएका छैनन् ।

त्यसैले पर्व नजिकिँदा कुम्हालेको चक्रले गति लिन्छ । “हामीले बनाएका भाँडा घरघरमा पुग्छन् । यही नै हाम्रो पेसा र पहिचान हो”, पण्डितले भन्नुभयो, “तर युवाहरू यो काम गर्न चाहँदैनन् । आम्दानी राम्रो नहुँदा अर्को पेसातिर जान्छन् ।” कुम्हालेको चक्र घुमिरहँदा उता बजारमा भने चौरचन र हरितालिकाको तयारीले चहलपहल बढाएको छ ।

फलफूल, मिठाई, पूजा सामग्री, नयाँ कपडा तथा घरायसी सामग्री किनमेल गर्नेको सङ्ख्या बढ्न थालेको छ । क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयाकी अनिता यादवलाई यस वर्षको पर्वको तयारी केही फरक लागेको छ । चौरचन र हरितालिका तीज एकै दिन परेकाले उनको घरमा तयारी दोब्बर भएको छ ।

“तीजको व्रत बस्नुपर्ने, पूजा गर्नुपर्ने र चौरचनका लागि पनि प्रसाद तथा सामग्री तयार गर्नुपर्ने भएकाले काम धेरै छ”, उनले भनिन्, “तर पर्व भनेको दुःख होइन, परिवार र आफन्तसँग खुसी बाँड्ने अवसर हो ।” अनिता जस्तै गाउँ–सहरका धेरै महिला अहिले तीजको तयारीमा छन् ।

हरितालिका तीजमा महिलाले व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्ने परम्परा छ । पछिल्लो समय तीज धार्मिक अनुष्ठानसँगै महिला भेटघाट, गीत–संगीत र सामाजिक सम्बन्ध विस्तारको अवसरसमेत बनेको छ । मिथिला समाजमा भने चौरचनको आफ्नै विशिष्ट सांस्कृतिक महत्व छ ।

चौठचन्द्रका नामले समेत चिनिने यस पर्वमा चन्द्रमाको पूजा गरिन्छ । व्रत बसेका महिला साँझ चन्द्रमालाई विभिन्न फलफूल, परिकार तथा प्रसाद अर्पण गर्छन् । परिवारको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै पर्व मनाउने परम्परा पुस्तौँदेखि चलिआएको छ चौरचनको तयारी केवल घरभित्र मात्र सीमित छैन ।

फलफूल बेच्ने व्यापारी, मिठाई पसले, पूजा सामग्री विक्रेता र कुम्हालेसम्म यसको प्रत्यक्ष प्रभाव परेको छ । महेन्द्रनगर धनुषाका स्थानीय बजारका एक व्यापारी दिनेश गुप्ताका अनुसार पर्व नजिकिँदै गएपछि फलफूल र पूजाका सामग्रीको माग बढेको छ । “पर्वको दुई–तीन दिन बजारमा निकै चहलपहल हुन्छ । ग्राहकको भीड बढेपछि व्यापार पनि बढ्छ”, उनले भने ।

दुई पर्व एकै दिन परेकाले मधेस प्रदेशका राजधानी जनकपुरधाम उपमहानगरपालिकासहित विभिन्न जिल्लाका केही स्थानीय तहले समेत स्थानीय बिदा दिने निर्णय गरेका छन् । पालिकाहरुले भदौ २९ गते सोमबार अत्यावश्यक सेवाबाहेक कार्यालय तथा मातहतका निकायमा स्थानीय बिदा दिने निर्णय गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहका अनुसार धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका पर्वमा सर्वसाधारणलाई सहज रूपमा सहभागी हुन वातावरण बनाउने उद्देश्यले बिदा दिने निर्णय गरिएको हो । चौरचनका लागि बनाइएका माटाका भाँडा घाममा सुकिरहेका छन् । बजारमा फलफूल र पूजा सामग्रीको थुप्रो लाग्न थालेको छ ।

घरका आँगनमा तीज र चौरचनका लागि आवश्यक सामग्री जुटाइँदैछ । आधुनिकताको तीव्र विस्तारबीच पनि यस्ता पर्वले मिथिलाको पुरानो सांस्कृतिक अभ्यासलाई जीवित राखेको छ । चौरचनले कुम्हालेको चक्र घुमाएको छ, तीजले महिलाको सांस्कृतिक सम्बन्धलाई जोडेको छ र बजारले त्यसको आर्थिक गतिविधिलाई साथ दिएको छ ।

रामप्रबोधको चक्र फेरि घुमिरहेको छ । उनका हातमा माटोले आकार लिइरहेको छ । “यो भाँडो बेचेर केही पैसा आउँछ”, उनले चक्र रोक्दै भने, “तर त्योभन्दा ठूलो कुरा हाम्रो परम्परा पनि त यही भाँडासँगै बाँचेको छ ।” मिथिलाको पर्वमा यही माटो, यही आस्था र यही परम्पराले हरेक वर्ष नयाँ रौनक थप्दै आएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ५ : १२ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता