आजका आर्थिक समाचार : एटीएमबाट एक सय निकाल्न मिल्नेगरी तयारी हुँदै, भारतले नेपाललाई १८ घण्टा बिजुली पठाउने र असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान « Khabarhub

आजका आर्थिक समाचार : एटीएमबाट एक सय निकाल्न मिल्नेगरी तयारी हुँदै, भारतले नेपाललाई १८ घण्टा बिजुली पठाउने र असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै उनले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरुले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताए ।

उनले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरुसँगको आजको छलफलमा उनीहरुको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गरे । छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुबाटै विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताए ।

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ (सेप्टेम्बर २३) को साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ । त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरासहित फ्लाई दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ । त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि उड्नेछ ।

फ्लाइ दुबईको एयर बस ३१९/३२० ले पोखरा–दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए । एयर बस ३१९ मा १४० देखि १५० सम्म र एयर बस ३२० मा १६० देखि १८० सम्म यात्रु क्षमता रहेको उनको भनाइ छ । “फ्लाइ दुबईले आवश्यकताअनुसार पोखराका लागि एयर बस ३१९ र ३२० आलोपालो गरी उडाउँछ”, सूचना अधिकारी रावतले भने, “पहिलो उडानमा पोखरा आउने यात्रुको सङ्ख्या उल्लेख्य छ, पोखरादेखि दुबई फर्कदा जहाजले यात्रुसहित कार्गो लिएर जानेछ ।”

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने नीति अघि सारेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूका लागि एकीकृत ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ जारी गर्दै जोखिम व्यवस्थापन लागि अपनाउनुपर्ने निर्देशन जारी गरेको हो ।

वित्तीय क्षेत्रमा बढ्दो डिजिटल प्रविधि, जलवायु परिवर्तन तथा नयाँ चुनौतीहरूलाई सम्बोधन गर्दै बैंकिङ प्रणालीको सुदृढता, लचकता र वित्तीय स्थायित्व अभिवृद्धि गर्ने उद्देश्यले सो मार्गदर्शन जारी गरिएको जनाएको छ । मार्गदर्शनले बैंक तथा वित्तीय संस्थाभित्र संस्थागत जोखिम संस्कृतिको विकास गर्न र न्यूनतम मापदण्ड पालना गराउन विशेष जोड दिएको छ ।

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट १ सय दरका नोटहरू पनि वितरण गर्ने व्यवस्था मिलाउन नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै अनुरोध गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना एटीएम मेसिनहरूबाट १ हजार र ५ सय रुपैयाँ दरका नोटहरू मात्र वितरण गर्दै आएका छन् ।

तर, सर्वसाधारणले १ सय दरका नोटहरू पनि एटीएम मेसिनबाटै उपलब्ध गराउनुपर्ने माग बेलाबेलामा आउने गरेको भन्दै राष्ट्र बैंकले सो अनुरोध गरेको हो । नजिकिँदै गरेको चाड बडादशैँको उपलक्ष्यमा १ सय दरका नोटहरू एटीएमबाटै वितरण गर्न सकिएमा बैंकहरूमा साना दरका नोट साट्ने ग्राहकहरूको भीड उल्लेख्य रूपमा कम हुने राष्ट्र बैंकको आंकलन रहेको छ ।

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ । भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई आगामी १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो ।

भारतीय प्रेस सूचना ब्यूरो (पीआईबी) का अनुसार नेपाललाई मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म गरी दैनिक १८ घण्टा विद्युत् उपलब्ध गराइनेछ । यस अनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाटसम्म विद्युत् निर्यात गरिनेछ ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ७ : ०४ बजे

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी