पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह « Khabarhub

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापाको हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालयले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको छ । 

बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएकाले प्रशासनले समयमा बाली भित्र्याउन आग्रह गरेको हो ।

शुक्रबार बिहान हात्तीको आक्रमणबाट बुद्धशान्तिमा एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहितको टोली हात्ती प्रवेशको मुख्य बिन्दु बाहुनडाँगी पुगेको थियो ।

भारतबाट जङ्गली हात्ती नेपाल प्रवेश गर्ने मुख्य नाका मेचीनगर नगरपालिका-४ बाहुनडाँगी पुग्दा किसानहरू पाकेर पहेँलपुर भएको धान काट्न र ढुवानी गर्न व्यस्त थिए । स्थानीय जनप्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, डिभिजन वन कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीको समन्वयमा किसानहरू बाली भित्र्याउन जुटेका थिए ।

स्थलगत अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले किसानको पाकेको बाली जोगाउनु अहिलेको प्राथमिकता भएको बताए।

‘किसानले दुस्ख गरेर लगाएको बाली हात्तीबाट जोगाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउँछौँ । बाली भित्र्याउने समयसम्म हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्छौं’, उनले भने, ‘किसानले पनि पाकेको बाली सकेसम्म ढिला नगरी समयमै घर भित्र्याउनुहोला ।’

स्थानीय किसानले कम्तीमा पाँच दिनसम्म हात्तीको प्रवेश नियन्त्रण गर्न सके पाकेको धानबाली सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै प्रशासनसँग आग्रह गरेका थिए । किसानको माग सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लाबाट थप सुरक्षा जनशक्ति परिचालन गरी स्थानीय समुदायसँगको समन्वयमा हात्तीको प्रवेश नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए । 

स्थलगत अवलोकनपछि मेचीनगर-४ का वडाध्यक्ष अर्जुन कार्कीको पहलमा किसान, सङ्घसंस्थाका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखबीच अन्तरक्रियासमेत भएको थियो । हात्ती नियन्त्रणका लागि खटिएको सुरक्षा टोलीलाई प्रमुख जिल्ला अधिकारी पोखरेलले टर्चलाइट र हाते माइक हस्तान्तरण गरेका थिए । ती सामग्री वडाध्यक्ष कार्कीको पहलमा उपलब्ध भएका हुन् ।

हाल उक्त क्षेत्रमा सशस्त्र प्रहरीका १० जना, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी तथा स्थानीय युवासहितको टोली परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार तत्काल थप जनशक्ति खटाइने जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्का र सशस्त्र प्रहरी बल नेपाल, नं २ गणका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले बताए । 

प्रशासनले सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय गरेर हात्तीको आवागमन नियन्त्रण गर्ने तथा किसानलाई सुरक्षित रूपमा बाली भित्र्याउने वातावरण बनाउने जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  २ : २७ बजे

पाटनमा ३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच सुरु

ललितपुर– ललितपुरको पाटनमा ३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच शुक्रबार

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

जनकपुरधाम – बहुमत जुटाउन नसक्ने भएपछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

भद्रपुर– झापाको हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमन बढेपछि

अछाममा भीरबाट लडेर एक जनाको मृत्यु, एक घाइते

अछाम- अछामको ढकारी गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ भने