काठमाडौं भारत र म्यानमारका रक्षा बलहरूबीच आयोजित पहिलो द्विपक्षीय त्रि-सेवा मानवीय सहायता तथा विपद् प्रतिकार्य (एचएडीआर) अभ्यास ‘राहत मित्र’ नोभेम्बर ५ र ६ तारिखमा भारतको चेन्नईमा सम्पन्न भएको छ ।
विपद् प्रतिकार्य अपरेसनमा समन्वय सुदृढ गर्न, परिचालन अन्तरसञ्चालन क्षमता अभिवृद्धि गर्न तथा असल अभ्यासहरूको आदानप्रदान गर्ने उद्देश्यले आयोजित यस अभ्यासमा भारतीय जलसेना, स्थलसेना र वायुसेनाका साथै म्यानमार रक्षा बलको प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।
अभ्यासको सुरुवात संयुक्त योजना निर्माण र विपद् प्रतिकार्य क्षमतासम्बन्धी जानकारी आदानप्रदानबाट गरिएको थियो । भीषण चक्रवातको परिकल्पनामा आधारित ‘टेबल-टप’ अभ्यासमार्फत संयुक्त विपद् व्यवस्थापन कार्यविधिबारे विस्तृत छलफल गरिएको थियो । अभ्यासका क्रममा भारतीय स्थलसेनाले अवरोध हटाउने र पुल निर्माण गर्ने क्षमताको प्रदर्शन गरेको थियो भने सहभागी टोलीले आईएनएस सुकन्याको भ्रमण गरी जलसेनाको जहाजमा आधारित उद्धार क्षमताको अवलोकन गरेको थियो ।
यसैगरी, चेन्नईस्थित आईएनएस अड्यार र सञ्चार नेटवर्क केन्द्रले आपतकालीन अवस्थामा कमाण्ड तथा नियन्त्रणका लागि तटीय उद्धार र सञ्चार पूर्वाधारको प्रदर्शन गरेका थिए । चेन्नईस्थित सैनिक अस्पतालले फिल्ड मेडिकल ट्राइएज र राहत शिविर व्यवस्थापनको अभ्यास प्रस्तुत गरेको थियो ।
यस्तै, भारतीय जलसेनाको बाढी उद्धार टोलीले विशेष उपकरणहरूको प्रदर्शनी गरेको थियो भने चेतक हेलिकप्टर र आईएनएस बित्रामार्फत समुद्री खोज तथा उद्धार अभ्यास गरिएको थियो । भारतीय वायुसेनाको एडभान्स्ड लाइट हेलिकप्टरमा म्यानमारका कमोडोर आङ नियाङ विनसहितका अधिकारीहरूको सहभागितामा घाइतेको हवाई उद्धार प्रदर्शनसमेत गरिएको थियो ।
प्रथम पटक आयोजित यस अभ्यासको सफल समापनले दुवै देशबीचको द्विपक्षीय रक्षा सहकार्यलाई थप मजबुत बनाउनुका साथै क्षेत्रीय स्थायित्व, समुद्री सहकार्य र प्रभावकारी विपद् व्यवस्थापनप्रतिको साझा प्रतिबद्धतालाई उजागर गरेको छ ।














प्रतिक्रिया