काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद शीर्ष तहका नेताहरू बसेर टुङ्ग्याउने निर्णय भएको सह-महामन्त्री बद्रीप्रसाद पाण्डेले बताएका छन्।
बुधबार महाराजञ्जमा भएको डेढ घण्टा लामो छलफलमा कुरा नमिलेपछि अझै बसेर सहमति खोजिने पाण्डेले बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बसेर टुङ्ग्याउने छलफल भइरहेको पाण्डेले बताएका छन् ।
‘बाहिर जे आएका छन्, ती केबल कुरामात्रै हुन्, सहमतिको बिन्दुमा पुगिसकेको अवस्था छैन’, उनले भने, ‘शीर्ष तहका नेता र महामन्त्री बसेर टुंग्याउने कुरा भएको छ । उहाँहरूले सहमतिको बिन्दु भेट्टाउने कुरामा ढुक्क छौँ।’
कांग्रेस सभापति देउवाले आफूले पदबाट राजीनामा दिन मानेका छैनन् । उनले पूरा जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समेत दिन इन्कार गरेका छन् ।
त्यसैगरी पार्टीले विशेष महाधिवेशनको अपनत्व ग्रहण गर्ने विषयमा पनि कुरा मिलेको छैन । उता आगामी फागुन २१ गतेको प्रतिनधिसभा निर्वाचनमा नेकपा एमालेसहितका दलसँग गठबन्धन नगर्ने लगायतका कुरामा पनि दुवै पक्ष टुङ्गोमा पुगेका छैनन् ।
त्यसैगरी मध्यमार्गी मोडलमासमेत सभापति देउवा सकारात्मक नभएको महामन्त्रीद्वयले बताएका छन् । मूल कुरा देउवाले नेतृत्वबाट बिदा हुन आनाकानी गर्दा कांग्रेसमा हलो अड्किएको छ।













प्रतिक्रिया